नेपालमा अर्को साता 'आईडा' सम्मेलन, विपन्न राष्ट्रहरूका लागि किन महत्त्वपूर्ण

पराल बोक्दै भक्तपुरकी एक किसान

तस्बिर स्रोत, Getty Images

नेपालले पहिलो पटक आयोजना गर्न लागेको विश्व ब्याङ्क समूहको अन्तर्राष्ट्रिय विकास संस्था (आईडा)को एउटा महत्त्वपूर्ण बैठकमा विश्वका ७० देशका २०० भन्दा धेरै प्रतिनिधिहरूले भाग लिन लागेको अर्थ मन्त्रालयले बताएको छ।

सन् १९६९ मा नेपालले विश्व ब्याङ्कसँग पहिलो पटक दूरसञ्चार क्षेत्रको विकासका लागि झन्डै एक करोड ७० लाख डलर बराबरको सहुलियतपूर्ण ऋण सहयोग लिएको थियो।

त्यसको करिब ५५ वर्षपछि पहिलो पटक नेपालले ब्याङ्कको एउटा बृहत् र महत्त्वपूर्ण भेला आयोजना गर्न लागेको बताइएको छ।

के हो आईडा?

'आईडा' इन्टर्न्याश्नल डिभेलप्मन्ट असोसिएशनको सङ्क्षिप्त रूप हो। विश्व ब्याङ्क समूहले आईडालाई दाता र विश्वका विपन्न राष्ट्रहरूबीचको विश्वव्यापी साझेदारी कोष भन्छ।

“विश्वका झन्डै ७५ गरिब देशहरूका लागि आईडा विकास सहायताको सबभन्दा ठूलो स्रोत हो,” विश्व ब्याङ्कका नेपालका निम्ति राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले भने।

उनका अनुसार आईडाले दिने सहयोगमध्ये झन्डै २० प्रतिशत अनुदान हुने गरेको छ भने बाँकी पनि ‘निकै सहुलियतपूर्ण’ र ‘लामो अवधिमा तिरे हुने’ प्रकृतिका छन्।

फारिस हदाद जर्भोस र मधुकुमार मरासिनी
तस्बिरको क्याप्शन, आईडा बैठक नेपालको निम्ति महत्त्वपूर्ण अवसर हुने बताइएको छ

सन् १९६० यता आईडाले १५५ वटा देशमा लगानीका लागि ५३३ अर्ब डलर बराबरको वित्तीय सहायता प्रदान गरेको उसले उल्लेख गरेको छ।

आईडाबाट रकम पाउन योग्य हुनका लागि राष्ट्रको वार्षिक प्रतिव्यक्ति आय जुलाई २०२३ सम्ममा ४१,३१५ डलरभन्दा कम भएको हुनुपर्ने उल्लेख छ।

आईडाले झन्डै ५५ उच्च तथा मध्यम आय भएका दातृराष्ट्रका सरकारहरू, पुँजी बजार तथा विश्व ब्याङ्क समूहबाट रकम प्राप्त गर्छ।

सन् २०२३-२४ मा आईडाबाट धेरै ऋण सहयोग पाउने देशहरूको सूचीमा दक्षिण एशियाका पाकिस्तान र बाङ्ग्लादेश अगाडि छन्।

वीरगन्ज बजार

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, नेपालले गरिबी निवारणका निम्ति विश्वब्याङ्क जस्ता बहुपक्षीय दातृ निकायसँग अर्बौँको सहयोग लिने गरेको छ

नेपालमा हुन लागेको बैठक किन महत्त्वपूर्ण?

आगामी असार ४ देखि ७ सम्म काठमाण्डूमा आईडाको २१औँ चरणको परिपूरण भनिने आगामी वर्षहरूका निम्ति दाताहरूबाट सहयोगको वाचा गराउने तेस्रो बैठक हुन लागेको हो।

“उक्त आईडा परिपूरण बैठकमा दाता तथा सहयोग लिने दुवै राष्ट्रहरूबाट गरी २०० भन्दा धेरै प्रतिनिधिहरूले भाग लिने छन्,” विश्व ब्याङ्कका नेपालका निम्ति राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले भने।

हरेक तीन वर्षमा आईडाले अर्को चक्रका निम्ति यसै गरी परिपूरण बैठक तथा प्रतिबद्धता बैठक गर्ने गर्छ।

“यस पटकको बैठक किन पनि महत्त्वपूर्ण छ भने कोभिड महामारी अनि युक्रेन युद्धजस्ता कारणले हामीजस्ता न्यून आय भएका देशहरूले जस्ता खालका समस्या भोग्दै आएका छौँ त्यस्तो चापलाई न्यून गर्दै आर्थिक पुनरुत्थान गर्ने बेला पनि हो यो,” अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले बताए।

जलविद्युत् आयोजना
तस्बिरको क्याप्शन, जलविद्युत्‌जस्ता ऊर्जा पूर्वाधार विकासमा पनि नेपालले अन्तर्राष्ट्रिय सहायता अपेक्षा गर्छ

प्रमुख विषयवस्तु गरिबीको अन्त्य भएको यो बैठकले आगामी दिनमा आईडाले नेपालजस्ता देशलाई कति सहुलियतपूर्ण सहयोग पुर्‍याउन सक्छ भन्ने निर्धारण गर्ने पनि सचिव मरासिनीले बताए।

“काठमाण्डूमा हुन लागेको बैठकमा नेपालले आईडामार्फत् हुने वित्तीय सहयोगको सहुलियतपूर्ण प्रकृतिका साथै परिमाण दुवैमा बढोत्तरीको निम्ति आवाज उठाउने छ,” अर्थमन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख तथा सहसचिव श्रीकृष्ण नेपालले भने।

नेपालले उक्त बैठकमा पूर्वाधार विकास, सहयोग कार्यान्वयनमा लचकता, द्रुत सहयोग संयन्त्र, जलवायु न्याय अनि कार्यक्रमगत सहयोगका विषय उठाउने उनले बताए।

“खास गरी सन् २०२६ पछि नेपाल (अल्पविकसित देशबाट विकासोन्मुख) स्तरोन्नति हुँदै गर्दा हामीलाई सहुलियतपूर्ण सहायताको थप जरुरी हुने छ,” उनले भने।

“हाम्रो अपेक्षा के छ भने यो आईडा २१ को चरणमा कीर्तिमान स्तरमा सहयोगका वाचाहरू हुने छन्।”

डिसेम्बरमा हुने आईडा प्रतिबद्धता बैठकमा देशहरूले सन् २०२५ देखि २०२८ सम्मको आगामी चक्रको निम्ति सहयोगका वाचा गर्ने छन्।

यसअघि आईडा २० को चरणमा सन् २०२२-२०२५को निम्ति ९३ अर्ब डलरको वित्तीय प्याकेज तयार भएको थियो।

केही वर्षयता विश्वले भोगेको कोभिड महामारी तथा जलवायु सङ्कटको पृष्ठभूमिमा आगामी दिनमा आईडाको सहयोगको महत्त्व अझ बढ्दै जाने विश्व ब्याङ्कले बताएको छ।

मकै भेला पार्दै नेपाली किसान

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, नेपालमा गरिबी निवारणका लागि कृषिको विकास र विस्तार महत्त्वपूर्ण ठानिएको छ

“विकासोन्मुख विश्वले डरलाग्दो सङ्कटको सामना गरिरहेको छ। लगभग ७० करोड मानिस चरम गरिबीमा छन् र आगामी पाँच वर्षमा हरेक चार विकासोन्मुख राष्ट्रहरूमध्ये एक राष्ट्रका मानिसहरू कोभिड महामारीभन्दा अगाडिको समयको भन्दा बढी गरिब हुने छन्,” उसले भनेको छ।

आईडा बैठकले नेपाललाई आफ्ना आर्थिक तथा विकास चुनौतीका मुद्दाहरू अन्तर्राष्ट्रिय समुदाय सामु राख्ने अवसरमात्र नभई आफ्नो ‘नरम कूटनीति’ अघि बढाउन पनि सहयोग गर्ने अर्थसचिव मधुकुमार मरासिनीले भने।

उक्त बैठकमा विश्व ब्याङ्कका वरिष्ठ प्रबन्ध निर्देशक एक्जेल भान ट्रोट्सन्बर्गलगायत केही विशिष्ट पाहुना पनि आउन लागेको बताइएको छ।

६ अर्ब डलर सहयोग परिचालन

सन् १९६३ मा पहिलो पटक विश्व ब्याङ्कको मिशन नेपाल आएको थियो। त्यसपछि सन् १९६९ मा उसले दूरसञ्चार क्षेत्रका निम्ति पहिलो सहयोग दिएको हो।

बितेको ५५ वर्षमा आईडासहित विश्व ब्याङ्क समूहले नेपालमा करिब छ अर्ब डलर बराबरका वित्तीय सहयोग विभिन्न क्षेत्रका निम्ति परिचालन गरिसकेको अर्थमन्त्रालयले बताएको छ।

अहिले नेपालमा विश्व ब्याङ्कको करिब २.३ अर्ब डलरको सहयोग क्रियाशील रहेको बताइएको छ।

“विश्व ब्याङ्कको सहयोग खासगरी यातायात, सहरी विकास, कृषि, जलस्रोत एवं जलवायुजस्ता विविध क्षेत्रमा उपयोग गरिएका छन्,” सहसचिव नेपालले भने।

उसका सहयोगले नेपालका जनतालाई समावेशी एवं जोखिम वहन गर्न सक्ने क्षमता भएको अर्थतन्त्र विकास गर्न सहयोग पुग्ने विश्व ब्याङ्कको धारणा छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।