उपाधि जोगाउने नेपालको यात्रा जितबाट सुरु, पहिलो खेलमा मलेसिया पराजित

तस्बिर स्रोत, ACC
- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी न्यूज नेपाली
नेपालले गत वर्ष घरेलु मैदान कीर्तिपुरमा युएईलाई फाइनलमा पराजित गरेर 'एसिया कप' मा छनोट भएको इतिहास नेपाली समर्थकले बिर्सेका छैनन्।
त्यही इतिहास दोहोर्याउने अभियानमा ओमान पुगेको राष्ट्रिय क्रिकेट टोलीले शुक्रवार 'एसीसी प्रिमियर कप' क्रिकेटको सुरुआत मलेसियाविरुद्ध जित हात पार्दै गरेको छ।
टस जितेर ब्याटिङ रोजेको मलेसियालाई नेपालले ३ विकेटको क्षतिमा १४३ रनको स्कोरमा रोक्यो।
जवाफमा नेपालले ४ बल बाँकी हुँदा ५ विकेट गुमाउँदै विजय पाएको हो।
प्रिमियर कपको विजेता टोली टेस्ट राष्ट्र सम्मिलित एसिया कपमा छनोट हुने प्रावधान भएकोले प्रत्येक खेलको उतिकै महत्त्व छ।
नेपाल प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन टोली हो।
ब्याटिङ हाबी

तस्बिर स्रोत, ACC
मलेसिया विरुद्ध नेपाली टोली हाबी हुने ठानिएको थियो। तर खेल सोचिएको जस्तो सहज भएन।
ठूलो लक्ष्य नभएकोले खेलाडीहरू दबाबमा थिएनन्।
प्रारम्भिक जोडी कुशल भुर्तेल र आशिफ शेखले पहिलो विकेटका लागि ४९ रनको दरिलो साझेदारी गर्दै नेपालको जितको आधार तय गरेका थिए।
भुर्तेल आठौँ ओभरमा २४ रन बनाएर पवनदिप सिंहबाट एलबीडब्लुको सिकार भए भने आशिफ शेख १२ औँ ओभरको पहिलो बलमा ३२ रन बनाएर आउट भए।
त्यसपछि रन रेट सन्तुलित बनाउने क्रममा ठूलो शट खेल्ने क्रममा कुशल मल्ल ७ रनमा आउट भए।
अझ १७ औं ओभरमा विरनदीप सिंहले कप्तान रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीको विकेट लिएपछि नेपाली टोली दबाबमा आएको देखियो।
रोहित २८ रन तथा दीपेन्द्र २० रनमा आउट हुन पुगेका थिए।
यस्तोमा गुलशन झाले नायकको भूमिका खेल्दै टोलीलाई विजय लक्ष्य तिर दोहोर्याउन सफल भए। उनले २ छक्का र १ चौका हान्दै टोलीलाई जिताए।
कसिलो बलिङ

तस्बिर स्रोत, ACC
अल अमेरात क्रिकेट मैदानमा मलेसियाले नेपाललाई चुनौती दिन सक्ने स्कोर बनाउन सकेको देखिएन।
ब्याटिङ गर्ने निर्णय लिएको मलेसियाका ब्याटरहरू नेपाली स्पिनरहरूको सामना गर्न कमजोर देखिएका थिए।
मलेसियाको तर्फबाट कप्तान विरनदिप सिंहले प्रभावकारी प्रदर्शन गरे। उनले ५५ बल खेल्दै सर्वाधिक ७२ रन बनाएका थिए।
अविजित इनिङ खेल्ने क्रममा विरनदीपले ३ चौका र ४ छक्का प्रहार गरेका थिए।
उनी पछि शर्भिन मुनियन्डीले ३३ बलमा ४१ रन जोडे। जसलाई अविनाश बोहोराले बोल्ड गरे।
स्पिनर दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा १४ रन मात्र दिएर २ विकेट लिँदै कसिलो बलिङ गरेका थिए।
उनलाई सोमपाल कामी, ललित नारायण राजवंशी र अविनाश बोहोराले राम्रो साथ दिएको देखियो।
पहिलो इनिङमा आफ्नो विकेट जोगिँदा पनि मलेसियाले त्यसको फाइदा उठाउन सकेन।
अनिल बेन्चमा

तस्बिर स्रोत, ACC
नेपालका प्रशिक्षक मोन्टी देशाईले एसीसी प्रिमियर कपमा उत्कृष्ट-११ टोली उतार्ने बताए अनुसार अनिल शाहलाई बेन्चमा राख्दै टिम बनाएका थिए।
शाहसँगै प्रतिश जिसी र विवेक यादव पनि बेन्चमा रहे।
ओमान जानु अगाडि नेपालले भारतमा एउटा मैत्रीपूर्ण प्रतियोगिता खेलेको थियो।
उक्त प्रतियोगितामा बलियो प्रतिद्वन्द्वी नभएको भन्दै केही आलोचना भए पनि ओमानको गर्मीको मौसमसँग मिल्दोजुल्दो वातावरण भएकोले भारत भ्रमण उचित मानिएको थियो।
१० एसोसियट राष्ट्र सम्मिलित जारी प्रतिस्पर्धामा टोलीलाई २ समूहमा विभाजन गरिएको छ, जहाँ दुई समूहका शीर्ष दुई टोली सेमिफाइनलमा भिड्नेछन्।
नेपाल रहेको समूह 'ए' मा हङकङ, कतार र साउदी अरेबिया छन्।
समूह 'बी' मा युएई, कुवेत, ओमान, बहराइन र क्याम्बोडिया रहेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








