खण्डखण्ड गरेर गाजा खाली गराउँदै इजरेली सेना, के स्थल कारबाही सुरु भएको हो

तस्बिर स्रोत, Shutterstock
- Author, जेरमी बोअन
- Role, बीबीसी इन्टर्न्याश्नल सम्पादक, जेरुसलेम
इजरेली सैनिकहरूको कारबाही गाजा स्ट्रिपको उत्तरी क्षेत्रमा अवस्थित बेत हानूनमा केन्द्रित रहेको र उनीहरू त्यहाँबाट केही दक्षिणतिर अझ अघि बढ्न खोजे जस्तो देखिन्छ।
म अहिले गाजानजिकै अवस्थित सीमावर्ती इजरेली सहर स्डरोटमा छु।
गाजामा निरन्तर भीषण गोलाबारी भइरहेको छ।
यहाँ नजिकै रहेका तोपहरूबाट प्रत्येक मिनेट पटकपटक गोला प्रहार हुन्छ।
यो सहर पनि परित्यक्तजस्तै छ। यहाँबाट गैरसैनिकहरू आफैँ अन्यत्र गएका छन् वा सुरक्षित ठाउँमा लगिएको छ।

तस्बिर स्रोत, Getty Images
इजरेली सेनाले आफूले कारबाहीलाई अझ सघन बनाएको बताएको छ।
गाजाबाट शनिवार बिहान प्राप्त भिडिओ तथा शुक्रवार राति सीमावर्ती क्षेत्रमा भएको घटनामा हामी ठूलाठूला बम आक्रमणहरू भएको प्रमाण देख्न सक्छौँ।
तर सञ्चार सम्पर्क बन्द गरिएकाले त्यहाँ के भइरहेको छ त्यो ठ्याक्कै भन्न निकै कठिन छ।
उदाहरणका लागि मैले संयुक्त राष्ट्रसङ्घसँग कुरा गर्न पाएँ जसले दक्षिणमा अवस्थित आफ्नो मुख्य कार्यालयसँग स्याटलाइट फोनमार्फत् सम्पर्क गरेको छ। तर आन्तरिक सञ्चार विच्छेद भएकाले राष्ट्रसङ्घले गाजामा सहायता वितरणमा संलग्न आफ्ना अरू स्थानीय कार्यालयहरूसँग सम्पर्क गर्न सकेको छैन। अहिले सहायतासम्बन्धी कार्य पूरै स्थगित गरिएको छ।
बम आक्रमण उत्तरमा केन्द्रित भए पनि गाजा स्ट्रिप त्यहाँबाट केवल ४५ किलोमिटर टाढा छ। त्यसैले टाढाटाढासम्म पनि विस्फोटनको आवाज सुनिन्छ।
मैले बुझेसम्म इजरेली सेना सुरुङ नष्ट पार्ने प्रयासमा लागेको छ। त्यसका लागि सम्भवतः इजरेलको विशेष फौजले हवाई आक्रमण गर्न निसाना निर्धारण गरेको छ।

तस्बिर स्रोत, EPA
दिउँसोको उज्यालोमा ट्याङ्क प्रयोग गर्दा बढी जोखिम हुने भएकाले उनीहरूले केहीलाई पछाडि हटाउन सक्छन्।
के यो स्थल सैन्य कारबाही हो? मलाई यस्ता कुराको परिभाषामा हामी अल्मलिनु हुँदैन जस्तो लाग्छ। सैन्य गतिविधि बढेको देख्दा, तीन लाखभन्दा बढी जगेडा सैनिक परिचालित हुँदा हामीलाई गाजामा सबै मोर्चाबाट आक्रमण होला कि भन्ने लागेको थियो।
मलाई उनीहरूले खण्डखण्ड गरेर गाजाका इलाकाहरू खाली गराउन खोजेको हो जस्तो लागेको छ।
इजरेली सेनाले व्यक्त गरेका टिप्पणीका आधारमा मलाई उनीहरू निरन्तर अगाडि बढ्न खोजीरहन्छन् र यो "प्रतिशोध" को विषय बनेको छ भन्ने लाग्छ।

यसलाई एकदमै विस्तारित आक्रमण वा स्थल कारबाही भन्न सकिन्छ जस्तो लाग्छ। यो पक्कै पनि निकै विशाल सैन्य कारबाही हो।
इजरेली स्थल कारबाहीमा प्यालेस्टिनी गैरसैनिक नागरिकहरूको ज्यान जाने निश्चित छ।
उनीहरूले जति बढी प्यालेस्टिनीहरू मार्छन् मध्यपूर्वमा इजरेलसँग मित्रवत् सम्बन्ध वा शत्रुता भएका दुवै खालका देशहरूमा उति नै बढी आक्रोश उत्पन्न हुन्छ।
त्यसबाट युद्ध फैलिन्छ भन्ने छैन। तर पहिल्यै कमजोर अवस्थामा रहेको क्षेत्रमा अस्थिरता र अनिश्चितता बढ्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








