तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
गाजाको आधा जनसङ्ख्या भोकमरीमा परेको संयुक्त राष्ट्रसङ्घको चेतावनी
- Author, फियोना निमोनी
- Role, बीबीसी न्यूज
संयुक्त राष्ट्र सङ्घका एकजना वरिष्ठ सहायता अधिकारीले लडाइँ जारी रहँदा गाजाको आधा जनङ्ख्या भोकमरीको चपेटामा परेको चेतावनी दिएका छन्।
राष्ट्र सङ्घीय विश्व खाद्य कार्यक्रमका उप कार्यकारी निर्देशक कार्ल स्काउले गाजामा आवश्यक पर्ने खाद्यान्न आपूर्तिको एउटा सानो अंश मात्र त्यहाँ प्रवेश गर्न पाएको बताए।
उनका अनुसार त्यहाँ अहिले १० जनामध्ये ९ जनाले दैनिक खानेकुरा खान पनि पाएका छैनन्।
उनले गाजाको अहिलेको अवस्थाले त्यहाँ खाद्यान्न आपूर्ति "लगभग असम्भव" बनाएको बताएका छन्।
इजरेली हमला जारी
इजरेलले गाजाबाट हमासलाई समाप्त पार्न र आफ्नो देशका बन्धकहरूलाई मुक्त गर्न गाजामा हवाई आक्रमण जारी राख्नुपर्ने बताएको छ।
इजरेल डिफेन्स फोर्स आईडीएफका प्रवक्ता रिचर्ड हेचले शनिवार बीबीसीसँग भने, "कुनै पनि सामान्य नागरिकको मृत्यु पीडादायी हुन्छ तर हामीसँग विकल्प छैन।"
नागरिकहरूको ज्यान नलिनका लागि "गाजा स्ट्रिपमा आफूले सक्दो प्रयास गरिरहेको" उनले दाबी गरे।
आईडीएफका प्रमुख हर्जी हेलेभीले सेनालाई "कडा दबाब दिनुपर्छ" भन्दै गरेको भिडिओ देखिएको छ।
त्यसमा उनले "हामीले आतङ्ककारीहरूले आत्मसमर्पण गरेको देखिरहेका छौँ... त्यो भनेको उनीहरूको सञ्जाल ध्वस्त हुँदैछ भन्ने सङ्केत हो" भनेका छन्।
इजरेललाई अमेरिकी सहायता
यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले इजरेललाई अस्त्र बिक्री गर्नका लागि त्यहाँको कङ्ग्रेसलाई छल्न आपत्कालीन कानुनको प्रयोग गरेको छ।
अमेरिकाले इजरेललाई १० करोड ६० लाख अमेरिकी डलरभन्दा बढीका अस्त्रहरू दिने भएको छ।
गत अक्टोबर ७ मा हमासले इजरेलमाथि हमला गरेर एक हजार दुई सय जनाभन्दा बढीको ज्यान लिनुका साथै २४० जनालाई बन्धन बनाएपछि गाजामा आवतजावतका लागि इजरेलले व्यापक प्रतिबन्ध लगाएको छ।
अक्टोबर ७ पछि इजरेलले गाजासँगको आफ्नो सिमाना बन्द गरेर त्यस क्षेत्रमा हवाई हमला गर्न थालेको थियो।
उसले गाजावासीको मुख्य खाद्यान्नको स्रोत खाद्य सहायता वितरणलाई पनि प्रतिबन्धित गर्यो।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरेली हमलाका कारण हालसम्म ७ हजार जनाभन्दा बढी बालबालिकासहित १७ हजार ७ सय भन्दा धेरै गाजावासीहरू मारिएको जनाएको छ।
खाद्यान्न पठाउन समस्या
गाजामा जानका लागि इजिप्टको सिमानामा रहेको रफाह क्रसिङ मात्र खुला गरिएको छ।
इजरेलले त्यहाँबाट पनि सीमित मात्रामा मात्र सहायता गाजा पुर्याउन अनुमति दिएको छ।
यसै साता इजरेल केही दिनका लागि केरम शलोम क्रसिङ खोल्न सहमत भएको थियो।
उसले त्यहाँ सहायता सामग्री बोकेका लरीहरूको खानतलासी मात्र लियो र उनीहरूलाई पुनः गाजातर्फ जान रफाह सीमातर्फै पठाइयो।
डब्ल्यूएफपीको टोलीले के देख्यो?
स्काउले यसै साता उनी र डब्ल्यूएफपीको टोली गाजा पुग्दा त्यहाँ "डर, अराजकता र निराशा" मात्र अनुभव गरेको बताए।
आफूहरूले "गोदामहरूमा के गर्ने के गर्ने अवस्था, हजारौँ हताश भएका र भोका मानिस लस्कर लागेका वितरण केन्द्र, खाली भएका सुपरमार्केट र शौचालय समेत भत्किएको अवस्थाका अति भिडयुक्त आश्रयस्थलहरू" देखेको उनको भनाइ छ।
अन्तर्राष्ट्रिय दबाब र गत महिनाको सात दिने अस्थायी युद्धविरामले गाजामा केही आवश्यक सहायता बोकेका ट्रकहरूलाई प्रवेश गर्न अनुमति दिएको थियो।
तर डब्ल्यूएफपीले माग पूरा गर्न अब दोस्रो सीमा पनि खोल्नुपर्ने आवश्यकतामा जोड दिएको छ।
उनका अनुसार केही क्षेत्रहरूमा १० मध्ये नौ परिवारले "केही पनि नखाइकन पूरै दिन र रात" बिताइरहेका छन्।
खान यूनिसको अवस्था
अहिले इजरेली ट्याङ्कहरूले दुई तिरबाट घेरेर राखेको गाजाको दक्षिणमा रहेको खान यूनिसका मानिसहरूले त्यहाँको अवस्था नाजुक रहेको बताएका छन्।
उक्त सहरको एउटा मात्र बाँकी रहेको स्वास्थ्यकेन्द्र नासेर अस्पतालको प्लास्टिक सर्जरी तथा बर्न्स युनिटका प्रमुख डा. अहमद मोग्राबीले त्यहाँ देखिएको खाने कुराको अभावबारे बीबीसीसँग कुरा गर्दा आँसु बगाए।
"मेरी तीन वर्षकी छोरी छिन्। उनी सधैँ मसँग केही मिठाई, केही स्याउ, केही फलफूल माग्छिन्। म दिन सक्दिनँ। म असहाय महसुस गर्छु," उनले भने।
"यहाँ पुग्ने खानेकुरा छैन, यहाँ पुग्ने खानेकुरा छैन। केवल चामल, केवल चामल तपाईँ विश्वास गर्न सक्नुहुन्छ? हामी दिनमा एक पटक मात्र खान्छौँ।"
खान यूनिसमा हालैका दिनमा व्यापक हवाई हमला भइरहेको छ।
त्यहाँको नासेर अस्पतालका प्रमुखले उनको टोली कामै गर्न नसक्नेगरी त्यहाँ मृतक र घाइतेको सङ्ख्या रहेको बताए।
इजरेलले हमासका नेताहरू खान यूनिसमा लुकेका छन् भन्ने दाबी गरेको छ।
उसले त्यहाँ सम्भवतः सुरुङहरूको भूमिगत सञ्जालमा उक्त समूहका सैन्य अखडाहरू रहेको र त्यसलाई आफूले नष्ट गर्न चाहेको र त्यसका लागि लडिरहेको दाबी गरेको छ।
‘अमेरिका युद्ध अपराधमा संलग्न’
प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले गाजामा तत्काल युद्धविराम आह्वान गर्ने संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्को प्रस्तावलाई अमेरिकाले भिटो प्रयोग गरेपछि अमेरिका पनि युद्ध अपराधमा संलग्न भएको बताएका छन्।
सुरक्षा परिषद्का १५ वटा सदस्यमध्ये १३ वटा देशले युद्धविराम आह्वान गर्ने प्रस्तावको पक्षमा मतदान गरेका थिए।
ब्रिटेनले मतदानमा भाग लिएन भने अमेरिका प्रस्तावको विपक्षमा मतदान एक मात्र देश थियो।
प्यालेस्टिनी प्रशासनका नेता अब्बासले "गाजामा प्यालेस्टिनी बालबालिका, महिला र वृद्धवृद्धाकको कब्जाकारी [इजरेली] सेनाको हातबाट भएको रक्तपातका लागि वासिङ्टन जिम्मेवार रहेको" बताए।
संयुक्त राष्ट्र सङ्घका लागि अमेरिकी राजदूत रोबर्ट वुडले भिटोको बचाउ गर्दै प्रस्तावले "दिगो युद्धविराम"का लागि आह्वान नगरेको दाबी गरे।
इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले अमेरिकी अडानको प्रशंसा गरे।
इजरेल र हमासबीचको सात दिने अस्थायी युद्धविराम एक साताअघि मात्र समाप्त भएको थियो।
युद्धविराम अन्तर्गत हमासले इजरायली जेलमा रहेका १८० जना प्यालेस्टिनी बन्दीहरूको सट्टामा ७८ जना बन्धकहरूलाई मुक्त गरेको थियो।
एक सयभन्दा बढी बन्धक गाजामै
हमासले बन्धक बनाएका एक सयभन्दा बढी अझै पनि गाजामा रहेका छन्।
त्यसमा नेपाली विद्यार्थी विपिन जोशी पनि रहेको बताइएको छ। यद्यपि उनको पछिल्लो अवस्थाबारे कसैले पनि नयाँ जानकारी दिन सकेका छैनन्।
शनिवार एकजना २५ वर्षे इजरेली बन्धक मारिएको बन्धक बनाइकाहरूको परिवारको समूहले पुष्टि गरेको छ।
हमासको सशस्त्र शाखाले जारी गरेको एउटा भिडिओमा आईडीएफले ती बन्धकलाई छुटाउने असफल प्रयास गर्दा भएको रक्तपातमा उनको मृत्यु भएको देखाइएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।