तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
स्मरण शक्तिबारे प्रश्न उठेपछि राष्ट्रपति बाइडनद्वारा आक्रोशपूर्ण प्रतिक्रिया
अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्नो स्मरण शक्ति ‘राम्रो’ रहेको भन्दै त्यसबारे प्रश्न उठाइएको विशेष अनुसन्धानकर्ताको प्रतिवेदनप्रति आक्रोशपूर्ण प्रतिक्रिया जनाएका छन्।
८१ वर्षीय राष्ट्रपतिले हतारमा आयोजित एक प्रेस सम्मेलनमा बोल्दै उमेर धेरै भए पनि अहिले देशको राष्ट्रपति बन्न आफू नै सबभन्दा योग्य रहेको बताए।
विशेष अनुसन्धानकर्ताले बाइडनले उनका छोराको निधन भएको मिति पनि सम्झन नसकेको भनेर उल्लेख गरेको टिप्पणीलाई अस्वीकार गर्दै राष्ट्रपतिले ‘खबरदार’ भन्दै झोक्किएका थिए।
विशेष अनुसन्धानकर्ता रोबर्ट हरले बाइडनले उपराष्ट्रपति हुँदा ताका पहुँच पाएका गोप्य दस्तावेजहरूको सही व्यवस्थापन गर्न नसकेको बारे छानबिन गरेका थिए।
प्रतिवेदनले लगाएको आरोप
उनले आफ्नो प्रतिवेदनमा त्यसका निम्ति बाइडनलाई अभियोजन भने नगर्ने निर्णय गरेको उल्लेख गरेका छन्।
तर सो प्रतिवेदनले राष्ट्रपतिबारे कैयन् गम्भीर टिप्पणी गरेको छ – जसमा राष्ट्रपतिको स्मरण शक्तिमा ‘उल्लेखनीय सीमा’ रहेको भनिएको छ।
प्रतिवेदनले भनेको छ: राष्ट्रपति बाइडनलाई गोप्य फाइलहरूको लापरवाहीपूर्ण व्यवस्थापनको आरोपमा दोषी ठहर्याउन मुस्किल हुनेछ किनकी “मुद्दा सुनुवाइका बेला उनले सम्भवत: आफूलाई कमजोर स्मरण शक्ति भएको तर असल नियतको एक वृद्ध मानिसको रूपमा प्रस्तुत गर्नेछन्।”
साथै अनुसन्धानका क्रममा आफूले राष्ट्रपतिलाई अन्तर्वार्ता गर्दा पनि त्यसै रूपमा बाइडन प्रस्तुत भएको हरले उल्लेख गरेका छन्।
प्रतिवेदन सार्वजनिक भएसँगै रिपब्लिकन पार्टीले बाइडन राष्ट्रपतिको कार्यभार सम्हाल्न अयोग्य भएको पुन: दोहोर्याएको छ।
आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक पार्टीका तर्फबाट बाइडन पुन: मैदानमा उत्रँदैछन् भने रिपब्लिकनका तर्फबाट डोनल्ड ट्रम्प मनोनयन हुने सम्भावना बढी देखिन्छ।
बाइडनको प्रतिक्रिया
गत वर्षको अन्त्यतिर आफूले विशेष अनुसन्धानकर्ता रोबर्ट हरलाई दिएको अन्तर्वार्ता सम्झँदै राष्ट्रपति बाइडनले उनको प्रतिक्रिया दिएका छन्।
“त्यतिखेर म निकै व्यस्त थिएँ। एउटा अन्तर्राष्ट्रिय सङ्कट (७ अक्टोबरमा हमासले इजरेलमा गरेको हमला)को माझमा म थिएँ।”
सो अन्तर्वार्ता हमास हमलाको भोलिपल्ट भएको थियो।
बाइडनको उमेर नोभेम्बरको चुनावमा एउटा निकै चिन्ताको विषय बनिरहेको छ।
बिहीवार आयोजित पत्रकार सम्मेलनमा गाजा युद्धबारे पछिल्ला विकासक्रमबारे उनलाई सोधिएको प्रश्नको जबाफ दिँदा उनले इजिप्टका राष्ट्रपतिका नाम लिँदा तिनलाई मेक्सिकोका राष्ट्रपति भनेका थिए।
“मलाई लाग्छ तपाईँलाई पनि थाहा हुनु पर्छ सुरुमा मेक्सिकोका राष्ट्रपति, सीसी, ले मानवीय सामग्री लैजाने मार्ग खोल्न चाहेका थिएनन्। मैले उनीसँग कुरा गरेँ अनि उनलाई विश्वस्त पारेँ,” बाइडनले जबाफमा भनेका थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।