ट्रम्पले थपेका करका कारण उत्पन्न 'व्यापार युद्ध'को परिणाम कस्तो आउन सक्छ

स्टील र एल्युमिनिअम आयातमा २५ प्रतिशतसहित ट्रम्पले यो साता नयाँ शुल्क घोषणा गर्न लागेका छन्

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, ट्रम्पले स्टील र एल्युमिनिअम आयातमा २५ प्रतिशतसहित थप शुल्क घोषणा गरेका छन्
    • Author, लुई बरुको
    • Role, बीबीसी विश्व सेवा
  • पढ्ने समय: ६ मिनेट

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले क्यानडा, मेक्सिको र चीनसँगको व्यापारमा अतिरिक्त शुल्क लगाउने गरी गरेको घोषणाले विश्वव्यापी व्यापारयुद्ध निम्त्याउन सक्ने चिन्ता बढाउँदै बजारमा तरङ्ग ल्याएको छ।

मेक्सिको र क्यानडाका उत्पादनमाथि लगाइने भनिएको शुल्क अस्थायी रूपमा रोकिएको छ। यद्यपि चिनियाँ उत्पादनमाथि लगाइएको अमेरिकी शुल्क कायम छ। बेइजिङ्गले पनि जबाफी शुल्कहरू लगाएको छ।

स्टील र एल्युमिनिअम आयातमा २५ प्रतिशतसहित ट्रम्पले नयाँ शुल्क घोषणा गर्न लागेका छन्।

अमेरिकी आयातमा कर लगाउँदै आएका देशहरूमाथि पनि "जबाफी शुल्कहरू" लगाउने उनको योजना छ।

तर त्यसरी शुल्क लगाइने देशको नाम किटान भइसकेको छैन अथवा छुट पाउन सकिने विषयमा पनि केही थाहा भएको छैन।

उसो भए अब के होला?

'विश्व शुल्कयुद्ध'

मेक्सिको र क्यानडाका सामानमा घोषित शुल्क ३० दिनका लागि स्थगित गरिएको छ

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, मेक्सिको र क्यानडाका सामानमा घोषित शुल्क ३० दिनका लागि स्थगित गरिएको छ

सबैभन्दा नराम्रोमध्येका एउटा नतिजा भनेको 'विश्व शुल्कयुद्ध' हुन सक्ने विज्ञहरूको अनुमान रहेको छ।

"विदेशी सामानहरूमा लगाइने शुल्कहरूले सैद्धान्तिक रूपमा घरेलु उत्पादनहरूका लागि अनुदानका रूपमा काम गर्छन्, आयात घटाउनमा मद्दत गर्छन् र कुल निर्यातलाई बढाउन सघाउँछन्," यूकेमा अवस्थित आर्थिक सल्लाहकार कम्पनी अक्स्फर्ड ईकनोमिक्सले अमेरिकी शुल्कहरूबारे हालै प्रकाशित एउटा प्रतिवेदनमा लेखेको छ।

"यद्यपि यसले एउटा यस्तो अवस्था सिर्जना गर्न सक्छ जहाँ अरू देशले शुल्क लगाएर जबाफ दिन सक्छन् र त्यसले सबैका लागि मध्यम नतिजा दिन सक्छ," सम्भाव्य अवस्थाको 'प्रिजनर्स डिलेमा थिअरी' सँग तुलना गर्दै उसले भनेको छ।

त्यस्तो परिदृश्यमा एउटा पक्षले अर्को पक्षसँग कुनै सहकार्य नगरी आफ्ना स्वार्थलाई सर्वोपरि मानी निर्णय गर्छ र सबैको अन्त्य नराम्रो हुन्छ।

कल्पना गर्नुहोस् कि दुई कैदीले एकअर्कालाई हेरिरहेका छन् : उनीहरूसँग अपराध स्वीकार गर्ने अथवा मौन बस्ने विकल्प छ। यदि दुवै जना मौन बसे भने दुवैलाई एक/एक वर्ष जेल सजाय हुन्छ।

यदि एउटाले अपराध स्वीकार्छ र अर्को चुप बस्छ भने गल्ती स्वीकार्ने रिहा हुन्छ जबकि केही नबोल्नेले २० वर्षको सजाय पाउँछ।

यदि दुवैजनाले गल्ती स्वीकार्छन् भने उनीहरूले ५/५ वर्षको सजाय पाउँछन्।

यदि दुवैले कुरा गर्न सक्दैनन् भने दुवैका लागि उचित निर्णय भनेको उनीहरूले गल्ती स्वीकार्नुपर्छ। हुन त त्यो दुवैका लागि राम्रो होइन।

'अक्स्फर्ड ईकनोमिक्स'का अनुसार ट्रम्पको शुल्क नीतिमा एउटा यस्तो प्रावधान पनि छ जुन शुल्क अमेरिकाले बदला लिने देशविरुद्ध बढाउँछ।

"यसले एउटा अँध्यारो अवस्थाको बीजारोपण गरेको छ," प्रतिवेदनमा भनिएको छ।

ब्रजिल्यन इन्स्टिट्यूट अफ ईकनोमिक्स (आईबीआरई) स्थित सहअनुसन्धानकर्ता लिभिओ रिबैरोको चासो पनि समान छ।

शुल्क लगाउने विश्वव्यापी लहरले "विध्वंसात्मक व्यापारयुद्ध" का लागि उक्साउन सक्ने उनको चेतावनी छ।

रिबैरोका अनुसार चिनियाँ सामानमा शुल्क बढाउँदा त्यसले संसारभरि पुग्ने उसका उत्पादनहरू बढी हुन थाल्छन्, जसका कारण कम मूल्यमा सामान अरू देशहरूमा पुग्न थाल्छ।

फलस्वरूप ती देशहरूले पनि आफ्ना उद्योगधन्दा बचाउन चिनियाँ सामानमाथि शुल्क लगाउन बाध्य भएको महसुस गर्न सक्छन्।

"लामो समयसम्म यो जारी रह्यो भने अन्त्यमा हामी विफल हुन्छौँ," रिबैरोले बीबीसीसँग भने।

बलियो डलर र सुन

सुनलाई सुरक्षित लगानीको रूपमा लिने गरिएको छ
तस्बिरको क्याप्शन, सुनमा गरिने लगानीलाई सुरक्षित लगानीको रूपमा लिने गरिएको छ

लागत बढेपछि सामान पनि महँगो हुने हुँदा नयाँ शुल्क लगाउने ट्रम्पको निर्णयबाट विज्ञहरूले अमेरिकी उपभोक्ताहरूले महँगीको सामना गर्नुपर्ने बताउँछन्।

यो कुरा ट्रम्पको पहिलो कार्यकालका बेलासमेत भएको उनीहरूको तर्क छ।

उदाहरणका लागि सन् २०१८ मा उनले अमेरिकी उत्पादनहरूलाई फाइदा पुर्‍याउन भन्दै उनले खास गरी दक्षिण कोरियाबाट आउने वाशिङ मशीनमा शुल्क लगाए।

एउटा अध्ययनका अनुसार यसका कारण अमेरिकामा रोजगारीका केही अवसर सिर्जना भए पनि उक्त शुल्कका कारण औसतमा १२ प्रतिशतले मूल्यवृद्धि भएको देखियो।

"अन्ततः व्यापार द्वन्द्वको मूल्य उपभोक्ताले चुकाउनुपर्ने हुन्छ," जर्मनीको आईएनजी ब्याङ्कस्थित विश्वव्यापारसम्बन्धी अर्थविद्‌ इङ्गा फेच्नरले भने।

सुनको मूल्य पनि बढ्ने अपेक्षा गरिएको छ।

"बढ्दो भूराजनीतिक तथा व्यापार अनिश्चितताबीच सुरक्षित लगानीको रूपमा लिइने सुनको भाउ बढ्ने क्रम निरन्तर हुन सक्छ," सिङ्गापुरस्थित साक्सो मार्केट्सकी प्रमुख लगानी रणनीतिकार चारू चनन भन्छिन्।

विविध क्षेत्रमा प्रभाव

सेमिकन्डक्टर

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, ट्रम्पको नीतिले चीनमा उत्पादन हुने सेमिकन्डक्टरजस्ता सामानमा असर पर्ने बताइन्छ

विज्ञहरूका अनुसार ट्रम्पका प्रस्तावित शुल्कहरू र जबाफी कदमहरूका कारण विश्वभरि वस्तुहरूको मूल्यमा वृद्धि हुन सक्छ।

"वितरण प्रणालीमा हुने अवरोध र आयातमा लाग्ने उच्च शुल्कका कारण यी वृद्धिहरू निम्तिने छन्," चनन थप्छिन्।

"शुल्कहरू पूर्ण रूपमा कार्यान्वयनमा नआए पनि त्यसले वितरण प्रणालीमा असर पार्ने छ, जसले बजारमा अनिश्चितता निम्त्याउने र मूल्यवृद्धिका लागि दबाव सिर्जना गर्ने हुन सक्छ।"

विश्वव्यापी आपूर्ति प्रणालीका लागि मेक्सिको र चीनमा प्रमुख उद्योगहरू रहेको पृष्ठभूमिमा शुल्कवृद्धिले लागत बढाउने र आपूर्तिमा कमी ल्याउने हुन सक्छ।

मागमा सम्भावित कमीले सो क्षेत्रलाई अझ प्रभावित पार्न सक्छ।

यद्यपि परामर्शदाता कम्पनी क्यापिटल ईकनोमिक्सस्थित प्रमुख अर्थशास्त्री नील शीअरिङ सावधानीपूर्ण दृष्टिकोण राख्छन्।

"अमेरिका र जबाफी कदम चाल्ने देशहरूले कस्ता वस्तुमा शुल्क लगाउने छन् भन्ने कुराले शुल्कको असर निर्धारण गर्ने छ," उनी भन्छन्।

विश्वव्यापी आर्थिक मन्दी

शेअर बजार

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, ठूला अर्थतन्त्र भएका देशहरूमाथिको अमेरिकी शुल्कले विश्वव्यापी आर्थिक वृद्धिलाई धिमा बनाउन सक्ने अर्थविद्‌हरू बताउँछन्

ठूला अर्थतन्त्र भएका देशहरूमाथिको अमेरिकी शुल्कले विश्वव्यापी आर्थिक वृद्धिलाई धिमा बनाउन सक्ने अर्थविद्‌हरू बताउँछन्।

ढिलो वा चाँडो ट्रम्पले मेक्सिको तथा क्यानडामाथि शुल्क लादेमा त्यसले "उल्लेख्य अनिश्चितता" सिर्जना गर्न सक्ने लगानी ब्याङ्क जेपी मोर्गनको चेतावनी छ।

"लगानीकर्ताहरू त्यसको प्रभावसँग जुझ्नुपर्ने अवस्थामा हामीले शेअर बजारमा निकै अस्थिरता देख्ने छौँ," ब्याङ्कले भनेको छ।

यद्यपि पूर्ण असर अझै अस्पष्ट रहेको ब्रजिलका एक अर्थशास्त्री तथा वित्तीय बजारसम्बन्धी विज्ञ एन्ड्रे पर्फिइटो बताउँछन्।

शुल्क बढाउने कदमले ट्रम्पका लागि असफल हुने उच्च जोखिम बोकेको तर जे पनि हुन सक्ने उनी थप्छन्।

"यो तहसम्म यस्तो कदम यसअघि नचालिएकोले किटान गरेर असफल नै हुने कुरा कसैले पनि भन्न सक्दैन," उनले भने।

बीबीसी मुन्डोकी सिसिलिआ बार्रिआ र बीबीसी ब्रजिलकी कमील भेरस मोताबाट थप रिपोर्टिङ

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।