तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
प्रधानमन्त्रीसँगको सर्वदलीय बैठकमा चुनावबारे दलहरूले के भने?
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले पहिलोपटक मुख्य राजनीतिक दलका नेताहरूसँग चुनावबारे संयुक्त रूपमा छलफल गरेकी छन्।
चुनावबारे आफूहरूसँग प्रधानमन्त्री स्वयंले कुनै संवाद नगरेको भन्दै कतिपय दलहरूले कुरा उठाइरहँदा प्रधानमन्त्री नियुक्त भएको पाँच सातापछि कार्कीले दलहरूसँग सामूहिक संवाद गरेकी हुन्।
उक्त छलफलमा दलहरूले चुनावमा सुरक्षाबारे चासो व्यक्त गरेको बैठकमा सहभागी नेताहरूले बताएका छन्।
यसअघि शीतल निवासमा राष्ट्रपतिले दलका नेतासँग गरेको छलफलमा प्रधानमन्त्री र मन्त्रीहरूको उपस्थिति थियो। निर्वाचन आयोगले पनि दलहरूसँग निर्वाचनबारे छलफल गरिसकेको छ।
एकजना विज्ञले भने प्रधानमन्त्रीको यो पहलले चुनावको वातावरण बनाउँदै लगेको देखिएको बताएका छन्।
दलहरूलाई प्रधानमन्त्रीले चुनावबारे छलफल गर्न आह्वान नगरेको भन्दै आलोचना भइरहेका बेला यो छलफल भएको हो।
उक्त संवादमा नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी जनता समाजवादी पार्टी, जनमत पार्टीलगायत ११ दलका नेताहरू उपस्थित रहेको बताइएको छ।
दलहरूले के के भने र प्रधानमन्त्रीले जवाफमा के भनिन्?
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का अन्य सदस्यहरूसँगको बैठकमा प्राय: सबै दलहरूले चुनावमा सुरक्षाको पाटोबारे चासो र चिन्ता व्यक्त गरेको दलका नेताहरूले बताएका छन्।
भदौ २४ गते भएका तोडफोड र आगजनी अनि प्रहरी बिटहरूमा भएका आक्रमणले सुरक्षाको अवस्थालाई लिएर चिन्ता देखाएकोबारे आफूहरूले उक्त विषय उठाएको बैठकमा सहभागी नेपाली काँग्रेस र नेकपा एमालेका नेताहरूले बताएका हुन्।
यसअघिको सरकारको नेतृत्व गरेको नेकपा एमालेले चुनाव हुने वातावरण सरकारले अहिलेसम्म बनाउन नसकेको बताएको छ।
एमाले नेता प्रदीप ज्ञवालीले आफ्नो दलले प्रधानमन्त्रीसमक्ष राखेको विषयबारे जानकारी दिँदै बीबीसीसँग भने, "दलहरूले निर्भरतापूर्वक चुनावमा जान पाउने वातावरण बन्नुपर्यो र मतदाताहरूले आफूले रुचाएको उम्मेदवारलाई मत खसाल्न जाने वातावरण बन्नुपर्यो। तर यी कुराहरू केही पनि देखिँदैनन् भन्ने कुरा हामीले राख्यौँ।"
अहिले अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध पुगेको निवेदनबारे अदालतबाट परीक्षण होस् र सरकारले आश्वस्त गराउन सकोस् भन्ने भनाइ आफूले राखेको नेता ज्ञवालीले बताए।
"उहाँ (प्रधानमन्त्री)ले मनसाय स्पष्ट पार्ने कुरा गर्नुभयो। हाम्रो मनसाय चुनाव गराएर सत्ता हस्तान्तरण गर्ने नै हो भन्नुभयो। उहाँको आशय राम्रै होला। तर त्यसअनुसार काम भएका छन् कि छैनन्, दलहरूलाई वातावरणमा लिएर हिँड्ने विश्वास छ कि छैन भन्ने विषय हेर्दा हामीले त्यस्तो देखेका छैनौँ," ज्ञवालीले भने।
प्रधानमन्त्रीले बैठकमा जेनजी र दलहरूसँगै बसेर छलफल गर्न पनि प्रस्ताव गरेको सहभागी नेताहरूले बताएका छन्।
नेपाली काँग्रेसका तर्फबाट बैठकमा सहभागी नेता तथा काँग्रेस प्रवक्ता प्रकाशशरण महतले चुनाव गराउनेबारे सरकारले राखेको धारणा सुन्दा 'आत्मविश्वास त्यति नदेखिएको' बताएका छन्।
"प्रधानमन्त्रीले हामी अप्ठ्यारामा छौँ। धेरैतिरको दबाबमा छौँ भन्नुभयो। उहाँले कुनै आग्रह पूर्वाग्रह छैन हामी गर्ने कोसिस गरिरहेका छौँ भन्नुभयो। आत्मविश्वास भएको अनुभूति चाहिँ हामीले गर्न सकेनौँ," बीबीसीसँगको कुराकानीमा उनले भने।
"हामीले चाहिँ तपाईँहरूलाई हाम्रो तर्फबाट सहयोग हुन्छ भनेका थियौँ। तर त्यो किसिमको आत्मविश्वासचाहिँ कमी देखिन्छ।"
सबै दलहरूले धारणा राख्दै गर्दा एमालेले चुनावबारे सैद्धान्तिक सहमति रहेको आफ्नो धारणा व्यक्त गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले बीबीसीलाई बताए।
खासगरी प्रधानमन्त्री र दलहरूसँग संवाद नभएको भन्ने विषय उठिरहेका बेला यो सामूहिक संवादले त्यसको ढोका खोलेको मन्त्री खरेलले बताए।
"करिब १५ दिनयता प्रधानमन्त्री र अन्य मन्त्रीहरूले विभिन्न दलका नेताहरूसँग कुरा गरिनै रहनुभएको थियो। तर यसरी एकै ठाउँमा हुन पाएको थिएन। अब त्यो पनि भयो," खरेलले बीबीसीसँग भने।
"चुनावमा सुरक्षाको विषयलाई लिएर त सबैजसो दलहरूले कुरा उठाउनुभएको छ।"
राजनीतिशास्त्री चुनावको सम्भावनाबारे के भन्छन्?
एकजना राजनीतिशास्त्री कृष्ण खनाल जेनजी आन्दोलनको बलमा बनेकी अन्तरिम प्रधानमन्त्री कार्की र प्रमुख राजनीतिक दलहरूबीच मनोवैज्ञानिक खाडल देखिए पनि पछिल्ला घटनाक्रमहरूबाट चुनावको वातावरण बन्दै गएको देखिएको बताउँछन्।
"हिजोका तीनवटा प्रमुख दलहरू बाँकी अरू दलहरू पनि सहभागी भइरहेका छन्। पार्टीले आफ्नो प्रतिष्ठाका लागि केही ठाउँमा राख्ने बेग्लै कुरा हो तर वातावरण बन्दै गएको म देखिरहेको छु," राजनीतिशास्त्री खनालले भने।
"किनभने सबै पार्टीको नियति चुनावसँग गएर ठोक्किन्छ। चुनावभन्दा बाहिर लोकतन्त्रको अभ्यास गर्ने पार्टीहरूको भविष्य रहँदैन। केही आफ्ना लेनदेन, केही राजनीतिक हिसाबकिताब हुन्छन्, केही कुण्ठाका कुरा होलान् तर हिजोबाट आज प्रधानमन्त्रीको पहलले एउटा ठाउँमा पुर्याउँदै छ कि भन्ने आशा गर्न सकिन्छ।"
अहिलेको सरकार धेरै हदसम्म निरपेक्ष रहेको भन्दै अहिलेको अवस्थामा चुनावमा जाँदा दलहरूलाई पनि घाटा नलाग्ने खनाल बताउँछन्।
"प्रधानमन्त्रीको पक्ष देखिँदैन। त्यसैले सरकार निष्पक्ष सरकार हो र यो सरकारले चुनाव गराउँदा सहभागी हुने कुनै पनि दललाई घाटा लाग्दैन। उहाँको कुनै पक्ष नभएको हुनाले एउटा पक्षलाई जिताउन यो सरकार लाग्दैन भन्ने कुरालाई यसले प्रतिनिधित्व गरेको छ," उनले भने।
यसअघि बीबीसीसँगको कुराकानीमा राजनीतिशास्त्री खनालले भनेका थिए, "उनीहरू(दलहरू)लाई संवादमा ल्याउन प्रधानमन्त्रीलाई किन अप्ठ्यारो भइरहेको हो भन्ने बुझ्न सकिएको छैन।"
आमनिर्वाचनका विभिन्न कोणबारे चर्चा भइरहँदा यसअघि गत शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम प्रधानमन्त्री, मन्त्री तथा चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका थिए।
गत शुक्रवार सकिएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले सुशीला कार्की नेतृत्वकै सरकारले चुनाव गराउन नचाहेको दाबी गरेको थियो।
प्रमुख दलहरूमध्ये नेकपा एमाले चुनावलाई लिएर स्वीकारोक्ति बोकेर बसेको देखिएको राजनीतिशास्त्री खनाल बताउँछन्।
"मलाई लाग्छ यो मनोवैज्ञानिक कुण्ठाको रूपमा बढी हो जस्तो देखिन्छ। तर पनि छलफलमा एमालेका शीर्ष तहकै नेताहरू त गएकै छन्," खनालले भने।
शपथ लिए लगत्तै प्रतिनिधिसभाको चुनाव मिति फागुन २१ गतेका लागि घोषणा गरिएको थियो।
चुनाव गर्ने जिम्मेवारीमा रहेको निर्वाचन आयोगले दल दर्ता, मतदाता नामावली सङ्कलन लगायतका चुनावी गतिविधि थालिसकेको छ।
चुनावका लागि सबैतिरबाट चर्चा भइरहँदा राजनीतिक दलहरूलाई प्रधानमन्त्रीले प्रत्यक्ष छलफलका लागि नबोलाएको र त्यसप्रति तत्परता नदेखाएको भन्दै राजनीतिक विश्लेषकहरूले समेत प्रधानमन्त्रीमाथि प्रश्न उठाएका थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।