कांग्रेस एमाले अघिपछि, प्रत्यक्षतर्फ माथि तेस्रोमा उक्लियो माओवादी केन्द्र

मतगणना

तस्बिर स्रोत, RSS

प्रतिनिधि सभा निर्वाचनमा बुधवार साँझसम्मको मतपरिणाममा नेपाली कांग्रेस प्रत्यक्षतर्फ १२ स्थानमा जित र ४२ स्थानमा अग्रतासहित पहिलोस्थानमा छ।

निर्वाचन आयोगका अनुसार प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने अहिलेसम्म चार स्थानमा प्रत्यक्षतर्फ जित हासिल गरेको छ भने ३९ स्थानमा अग्रता लिएको छ।

त्यस्तै माओवादी केन्द्र अहिले २ स्थानमा जितसहित १४ स्थानमा अगाडि छ।

पहिलोपटक चुनावमा गएको राष्ट्रिय स्वतन्त्र पार्टी १ स्थानमा जित र ८ स्थानमा अग्रतासहित चौथो स्थानमा रहेको छ।

समानुपातिकमा एमाले अघिअघि

एमालेबाट छुट्टिएर बनेको एकीकृत समाजवादीले १ स्थानमा जितेको छ भने ७ स्थानमा अग्रता लिइरहेको छ।

समानुपातिकमा अहिलेसम्मको मतपरिणाम हेर्दा एमाले ३ लाख २६ हजार मतसहित पहिलो छ भने नेपाली कांग्रेस ३ लाख मतसहित दोस्रो स्थानमा छ।

त्यस्तै माओवादी केन्द्रले १ लाख ४६ हजार मतसहित चौथो स्थान ल्याएको छ।

प्रदेशमा को अघि को पछि

सातवटै प्रदेशसभाका लागि अधिकांश स्थानमा अहिले मतगणना जारी छ।

हालसम्म प्रदेश-१ मा हालसम्म चार स्थानमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् भने दुई स्थानमा नेकपा माओवादी केन्द्रका उम्मेदार विजयी भएका छन्। त्यहाँ राप्रपाले एक सिट जितेको छ।

त्यस्तै ११ स्थानमा कांग्रेस र १७ स्थानमा नेकपा एमालेका उम्मेदवार अगाडि छन् भने माओवादीका उम्मेदवार चाहिँ ५ स्थानमा मात्र अगाडि छन्।

त्यस्तै नेकपा एकीकृत समाजवादी ५ स्थानमा अगाडि देखिएको छ। राप्रपा पनि एक स्थानमा अगाडि छ।

मधेस प्रदेशमा जनमत पार्टी तीन स्थानमा विजयी भएको छ भने माओवादी र लोसपा दुई-दुई स्थानमा विजयी भइसकेका छन्।

कांग्रेस, जसपा र अन्य एक-एक स्थानमा विजयी भएका छन्।

जनमत पार्टी ४ स्थानमा अगाडि छ भने कांग्रेस १०, जसपा ९, माओवादी ३, लोसपा ३ र अन्य २० स्थानमा अगाडि छन्।

वाग्मती प्रदेशमा नेपाली कांग्रेस ८ स्थानमा विजयी भएको छ भने १३ स्थानमा अगाडि छ।

नेकपा एमाले ४ स्थानमा विजयी भएको छ भने १२ स्थानमा अगाडि छ।

त्यस्तै माओवादी एक स्थानमा विजयी तथा ९ स्थानमा अगाडि छ भने नेकपा एकीकृत समाजवादी एक स्थानमा विजयी र ३ स्थानमा अगाडि छ भने राप्रपा ६ स्थानमा अगाडि छ।

त्यस्तै अन्य दुई स्थानमा अगाडि रहेका छन्।

गण्डकी प्रदेशमा कांग्रेस तीन स्थानमा विजयी भएको छ भने ११ स्थानमा अगाडि छ।

त्यस्तै एमाले ३ स्थानमा विजयी र ८ स्थानमा अगाडि, माओवादी १ स्थानमा विजयी र चार स्थानमा अगाडि तथा नेपाल समाजवादी पार्टी एक स्थानमा अगाडि रहेका छन्।

उक्त क्षेत्रमा एकजना स्वतन्त्र उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन्।

लुम्बिनी प्रदेशमा एमाले १४ स्थानमा अगाडि छ भने दुई स्थानमा विजयी भइसकेको छ।

त्यहाँ कांग्रेस एक स्थानमा विजयी र ११ स्थानमा अगाडि छ भने जसपा २ स्थानमा विजयी भएको छ।

माओवादी एक स्थानमा विजयी भएको छ भने ४ स्थानमा अगाडि छ अनि २ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

त्यसबाहेक अन्य दलका २ जना विजयी भएका छन् भने ४ उम्मेदवार पनि अगाडि रहेको निर्वाचन आयोगले जनाएको छ।

कर्णाली प्रदेशमा कांग्रेस दुई स्थानमा विजयी र ६ स्थानमा अगाडि छ भने एमाले १ स्थान तथा माओवादी ६ स्थानमा अगाडि छ।

त्यहाँ एकजना स्वतन्त्र उम्मेदवारले जितेका छन्।

सुदूरपश्चिम प्रदेशमा कांग्रेस २ स्थानमा विजयी भएको छ भने ५ स्थानमा अगाडि रहेको छ।

माओवादी एक स्थानमा विजयी र चार स्थानमा अगाडि रहेको छ भने एमाले दुई स्थानमा अगाडि छ।

त्यस्तै नेकपा समाजवादी एक, नागरिक उन्मुक्ति दुई र अन्य एक स्थानमा अगाडि छन्।

यसपटकको चुनावबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश सभा तर्फ भने उम्मेदवारी दिएको छैन।

निर्वाचन आयोगको यो आधिकारिक विवरण भए पनि विभिन्न स्थानमा मतगणना सकिँदा कांग्रेस, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीका थप विजय उम्मेदवारहरू घोषणा हुने क्रम जारी छ।