दक्षिण अमेरिकाको लिथिअमलाई लिएर चीन र अमेरिकाबीच तानातानको अवस्था

तस्बिर स्रोत, Getty Images
- Author, सिसिलिआ बारिआ
- Role, बीबीसी विश्व सेवा
विश्वमा रहेको लिथिअम धातुको मौज्दात मध्ये आधाभन्दा बढी आर्जेन्टिना, बोलिभिआ र चिलेमा छ जुन त्रिकोणात्मक बजारले लगानीकर्ता र सरकारहरूको पनि ध्यान खिचेको छ।
चीन र संयुक्त राज्य अमेरिकाजस्ता देशले विद्युतीय कारका ब्याट्री बनाउन प्रयोग हुने यो महत्त्वपूर्ण धातुको आपूर्ति सुनिश्चित गर्न खोजिरहेका छन्।
विद्युतीय कारको बजार बढ्दो क्रममा छ जसमा थप खेलाडीहरू प्रवेश गरिरहेका छन्।

तस्बिर स्रोत, Getty Images
“ऊर्जा ट्रान्जिसनका लागि चाहिने यी खनिज पाउनका निम्ति प्रमुख शक्तिहरू सङ्घर्षरत छन् र मुख्य रणभूमि ल्याटिन अमेरिका रहेको छ,” विल्सन सेन्टरको ल्याटिन अमेरिका कार्यक्रमका निर्देशक बेन्जमिन गेडानले बीबीसीसँग भने।
“संयुक्त राज्य अमेरिका यो प्रतिस्पर्धामा ढिलो गरी सामेल भयो र चिनियाँ अग्रतालाई लिएर वाशिङ्गटन स्पष्ट रूपमा चिन्तित देखिन्छ,” उनले थपे।
चिनियाँ कम्पनीहरूले विश्वकै सबैभन्दा धेरै लिथिअम भण्डार रहेको खासगरी ल्याटिन अमेरिकासहित संसारका थुप्रै भागमा यो कथित 'सेतो सुन' को खोजी गर्न कैयौँ वर्ष बिताएका छन्।
चिलेको योजना
अमेरिकी भौगर्भिक निकायका अनुसार धेरै लिथिअम भण्डार भएका देशहरूको सूचीमा पहिलो स्थानमा रहेको बोलिभिआमा अनुमानित २.१ करोड टन लिथिअम छ।
दोस्रो स्थानमा रहेको आर्जेन्टिनासँग १.९३ करोड टन र चिलेसँग ९६ लाख टन लिथिअम रहेको थाहा भएको छ।
लिथिअम भण्डार भएका देशहरूको सूचीमा नवौँ स्थानमा रहेको मेक्सिकोसँग १७ लाख टन भए पनि उत्तर अमेरिकामा एउटा महत्त्वपूर्ण खेलाडीको रूपमा देखिएको छ।
त्यो चाहिँ अमेरिका र क्यानडासँग भौगोलिक निकटता मात्रै भएर होइन कि विद्युतीय कार उत्पादनको केन्द्रको रूपमा पनि विकसित भइरहेकोले हो।
'हानिकारक गतिविधि'
विशाल कार निर्माता कम्पनीहरू टेस्ला र बीएमडब्ल्यूले हालै मेक्सिकोमा कारखाना स्थापना गर्ने घोषणा गरेका छन्।
चिले अस्ट्रेलियापछि विश्वको दोस्रो ठूलो लिथिअम उत्पादक देश हो।
हुन त अहिलेसम्म उक्त खनिज स्रोतमाथि निजी कम्पनीहरूको वर्चस्व रहँदै आएको छ।
तर राष्ट्रपति ग्याब्रिएल बोरिकले अघि सारेको नयाँ योजनाले यो व्यापारको ढाँचा परिवर्तन गर्न खोजेको छ र यो 'सेतो सुन' बाट हुने मुनाफा देशभित्र राख्न खोजेको छ।
लिथिअमजस्ता खनिजबाट आउने अधिकांश रकम कच्चा पदार्थको रूपमा गरिने उत्खननबाट आउँदैन, बरु उदाहरणका लागि कारका ब्याट्री बनाउन लिथिअम प्रयोग हुँदा धेरै पैसा आउँछ।
चिलेका राष्ट्रपतिले सार्वजनिक-निजी साझेदारीको अवधारणा अगाडि बढाउन चाहिरहेका छन् जहाँ सरकारको नियन्त्रण हुनेछ र सरकारले नै प्राविधिक विकासलाई प्रवर्द्धन गर्नेछ ताकि यो फस्टाउँदो उद्योगको आपूर्ति प्रणालीमा चिलेको एउटा स्थान बनाउन सकियोस्।
तर त्यो विशेष खनिज हात पार्न विश्वको ठूलो हिस्सा प्रयासरत रहेकोले चिलेका लागि यो सहज चुनौती चाहिँ हुनेछैन।

तस्बिर स्रोत, Getty Images
गत मार्चमा हाउस आर्म्ड सर्भिसेज कमिटीमा एउटा प्रस्तुति दिनुअघि संयुक्त राज्य अमेरिकाको सदर्न कमान्डकी कमान्डर जेनरल लोरा रिचर्डसनले “चीनले ल्याटिन अमेरिका तथा क्यारिबिअन क्षेत्रमा आफ्नो आर्थिक, कूटनीतिक, प्राविधिक, सूचना र सैन्य प्रभाव बढाउने क्रम जारी राखेको” भन्दै सचेत गराइन्।
“यो क्षेत्र स्रोतसाधनले भरिपूर्ण छ र फाइदा उठाइरहेका हाम्रा प्रतिद्वन्द्वीहरूको नोक्सानीपूर्ण गतिविधिप्रति मेरो चिन्ता हो जसले लगानी गरेजस्तो देखाए पनि उनीहरूले स्रोतको दोहन गरिरहेका छन्,” उनले भनिन्।
चीन के भन्छ?
संयुक्त राज्य अमेरिका र अरू देशहरूले आआफ्नो ऊर्जा स्वतन्त्रतालाई सुनिश्चित गर्न खोजिरहे जस्तै चीनले पनि अन्तर्राष्ट्रिय बजारमा वर्चस्व रहेको लिथिअम सहितका खनिज पदार्थमाथि वर्षौँदेखि आँखा लगाइरहेको छ।
“केही महत्त्वपूर्ण खनिज स्रोतका लागि चीन ठूलो स्तरमा विदेशमाथि निर्भर छ र अन्तर्राष्ट्रिय परिस्थितिमा बदलाव आउनासाथ त्यसले आर्थिक सुरक्षा अथवा राष्ट्रिय सुरक्षालाई समेत प्रभावित पार्नेछ,” चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वालाई गत ज्यानुअरीमा दिएको एउटा अन्तर्वार्तामा प्राकृतिक स्रोतसम्बन्धी मन्त्रीले भनेका थिए।
सन् २०१६ मा प्रकाशित राष्ट्रिय खनिज स्रोत योजनामा चीनले २४ थरिका रणनीतिक खनिजहरूलाई समेटेको छ।
त्यसमा परम्परागत ऊर्जाका स्रोत तेल, प्राकृतिक ग्यास, कोइलाका अतिरिक्त फलाम, तामा, सुन, लिथिअम र कोबाल्टलगायत छन्।

तस्बिर स्रोत, Getty Images
“राष्ट्रिय आर्थिक सुरक्षा, राष्ट्रिय प्रतिरक्षा र उदीयमान रणनीतिक उद्योगहरूको विकासलाई सुरक्षित तुल्याउनका निम्ति ती खनिज पदार्थहरू महत्त्वपूर्ण रहेको” योजनामा उल्लेख छ।
चिनियाँ कम्पनीहरूले दक्षिण अमेरिकाका खानी क्षेत्रमा व्यापक लगानी बढाइरहँदा आर्जेन्टिना, बोलिभिआ र चिलेले स्थानीय औद्योगिक विकासको प्रवर्द्धनमा चीनका कम्पनीहरूका प्रविधि एवं पुँजीको फाइदा उठाउन खोजिरहेका छन्।
चिनियाँ लगानीमा नाटकीय वृद्धि
यो वर्षको शुरूका तीन महिनामा मात्र चिनियाँ कम्पनीहरूले आर्जेन्टिना, बोलिभिआ र चिलेमा लगानी गर्न महत्त्वाकाङ्क्षी सम्झौताहरू गरेका छन्।
एट्लान्टिक थिङ्क ट्याङ्कका अनुसार बोलिभिआमा तीनवटा चिनियाँ कम्पनीले एक अर्ब डलर बराबरको लिथिअम परियोजनामा सम्झौता गरेका छन्।

तस्बिर स्रोत, Getty Images
चेरी अटोमोबाइल कम्पनीले आर्जेन्टिनामा विद्युतीय सवारीसाधन निर्माणका लागि प्लान्ट स्थापना गर्न करिब ४० करोड डलर लगानी गर्नेछ।
चिलेमा अरू चारवटा कम्पनीले लिथिअम औद्योगिक पार्कमा लगानी गर्ने प्रतिबद्धता जनाएका छन्। रकमबारे चाहिँ अहिले थाहा भएको छैन।
लिथिअम उत्खननको दिशामा आर्जेन्टिना र चीनबीच नजिकको आर्थिक सम्बन्ध स्थापित भएको छ।
सन् २०२२ मा मात्रै चीनले आर्जेन्टिनामा कम्तीमा नौवटा परियोजनामा लगानी गर्ने घोषणा गरेको छ।
प्रविधि र भूराजनीतिमा प्रतिस्पर्धा
एड्रिन आर्स्ट ल्याटिन अमेरिका सेन्टर अफ द एट्लान्टिक काउन्सिल थिङ्क ट्याङ्कका सहायक निर्देशक पेपे झाङका अनुसार “महत्त्वपूर्ण खनिज पदार्थ तथा हरित प्रविधिहरूको आपूर्ति प्रणालीमा संयुक्त राज्य अमेरिकाले आफ्नो स्थिति दह्रो बनाउन सक्रिय रूपमा लागिरहेको छ।”
“यसको अर्थ अमेरिका र चीनबीच हुने प्राविधिक एवं भूराजनीतिक प्रतिस्पर्धामा लिथिअम महत्त्वपूर्ण क्षेत्र हुनेछ,” बीबीसीसँग उनले भने।
र, यो मामिलामा चीन कडा रूपमा लागिपरेको छ।

तस्बिर स्रोत, Getty Images
सन् २०२० र २०२१ मा लिथिअम परियोजनामा १.१ अर्ब डलर लगानी भएकोमा यो वर्ष गरिएको १.४ अर्ब डलरको प्रतिबद्धताले त्यसलाई जित्नेछ।
'राष्ट्रिय सुरक्षा' को विषय
“ज्यानुअरीमा मात्र तीनवटा चिनियाँ कम्पनीले बोलिभिआमा एक अर्ब डलर बराबरको लगानी गर्ने प्रतिबद्धता जनाएका छन्,” यी सोधकर्ताले भने।

तस्बिर स्रोत, Getty Images
एउटा खनिज आपूर्ति प्रणाली सुनिश्चित गरेर ह्वाइट हाउसले पनि रणनीतिक कारणले त्यो आफ्नो उच्च प्राथमिकतामध्ये एउटा विषय भएको स्पष्ट पारेको छ।
"स्वच्छ ऊर्जाको विकासमा प्रगति हासिल गर्न संसारको धेरै हिस्सा प्रयासरत रहँदा आगामी केही दशकमा यी खनिजहरूको माग बढेर मूल्य ४०० देखि ६०० प्रतिशतले बढ्न सक्छ।"
र, लिथिअम तथा ग्र्याफाइट जस्ता खनिजको माग "४,००० प्रतिशतसम्म बढ्न सक्ने" उनी बताउँछन्।
'वाशिङ्गटन र बेइजिङबीच रस्साकस्सी'
"ल्याटिन अमेरिकामा ब्याट्री उत्पादनमा बेइजिङको इच्छाका कारण चीनलाई फाइदा छ," गेडानको तर्क छ।

तस्बिर स्रोत, Getty Images
यसैबीच "संयुक्त राज्य अमेरिका पर्यावरणमैत्री प्रविधिको विकासका लागि कच्चा पदार्थहरू प्राप्त गर्नमा केन्द्रित देखिन्छ।"
यो दोधारबीच थोरै मुनाफामा परम्परागत रूपमा निर्यात गर्नुमा भन्दा एशियाली देशहरूको प्रस्तावमा ल्याटिन अमेरिकी देशहरूले बढी फाइदा हुने सोच्न सक्छन्।
"अमेरिका स्पष्ट रूपमा अगाडि बढ्न चाहेको देखिन्छ," यी विज्ञ भन्छन्। "वाशिङ्गटन र बेइजिङबीचको रस्साकस्सीको चेपुवामा दक्षिण अमेरिका परेको देखिनु आश्चर्यको विषय होइन।"








