रुसी सेनामा १०१ जना नेपालीले ज्यान गुमाइसक्दा 'भर्ना कायमै' भन्ने पोस्टप्रति सरकारको प्रतिक्रिया यस्तो

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock
- Author, फणीन्द्र दाहाल
- Role, बीबीसी न्यूज नेपाली
रुसी सेनामा कार्यरत रहँदा ज्यान गुमाउने नेपालीको सङ्ख्या १०१ पुगेको पुष्टि भएपछि परराष्ट्र मन्त्रालयका अधिकारीहरूले मस्कोको सेनामा भर्ना खुलेका सन्देशहरू सामाजिक सञ्जालमा यदाकदा सम्प्रेषित भइरहेका भन्दै त्यसलाई निरुत्साहित गरिनुपर्ने बताएका छन्।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले रुसी सेनामा भर्ना भएर बेपत्ता हुने नेपाली नागरिकको सङ्ख्या १२५ रहेको बीबीसीलाई बताए।
सन् २०२२ को फेब्रुअरीमा पूर्ण स्तरको रुस-युक्रेन युद्ध सुरु भएयता नेपालीहरू पनि रुसी सेनामा भर्ना हुन गएका खबरहरू आएका थिए।
रुसले औपचारिक रूपमा नेपालीहरू आफ्नो सेनामा सहभागी रहेका वा युक्रेनसँगको युद्धका क्रममा मारिएका भन्नेबारे केही बताएको छैन।
नेपाली अधिकारीहरू के भन्छन्?
नेपालको परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागले रुस-युक्रेनमा ज्यान गुमाएका नेपालीका परिवारलाई क्षतिपूर्ति प्राप्तिको प्रक्रियामा आवश्यक कागजपत्र बनाउन र उक्त लडाइँका क्रममा बेपत्ता रहेका नेपालीहरूको खोजीका लागि मस्कोस्थित नेपाली राजदूतावाससँग समन्वय गर्दै आएको छ।
उक्त विभागका निर्देशक एवं प्रवक्ता भोगेन्द्र लिङ्देनले हालसम्म १०१ जनाले ज्यान गुमाएको पुष्टि भएको उल्लेख गर्दै डीएनए जाँचका कतिपय नतिजाहरू आउन बाँकी रहेको बताए।
उनले भने, "खोजतलासका लागि ३४९ जनाको परिवारबाट आवेदन प्राप्त भएको छ। मस्कोस्थित नेपाली राजदूतावासबाट ८७ जनाको डीएनए नमुनाका लागि अनुरोध आएको छ।"
लिङ्देनका अनुसार त्यसरी आनुवंशिक नमुना जाँच गरेर पठाइदिन आएका अनुरोधमध्ये लगभग आधाको मृत्यु प्रमाणित भएको उनले सुनाए।
उनी थप्छन्, "त्यो डीएनए म्याच भएर ५० प्रतिशत (सङ्ख्या) उता गइसकेको छ, जुन मृतककै सङ्ख्या १०१ भित्र पर्छ। अझै ४० देखि ५० प्रतिशतकोमा डीएनए म्याच हुन बाँकी छ।"

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock
नेपालको परराष्ट्र मन्त्रालयले गएको मार्चमा बीबीसी नेपालीलाई पीडित परिवारहरूले रुसमा नै गएर क्षतिपूर्ति प्राप्त गर्ने र बेपत्ताको खोजी गर्नका सहजीकरण गर्न थालिएको बताएको थियो।
यसै वर्षको मे महिनासम्म १८ जनाका परिवारले रुस जान अनुमति लिएका थिए। त्यसमध्ये ११ जना मृतकका आफन्त रहेको र सात जना बेपत्ताका आफन्त रहेका कन्सुलर सेवा विभागका अधिकारीहरूले त्यसबेला बीबीसीलाई बताएका थिए।
प्रवक्ता लिङ्देनले रुसको परराष्ट्र मन्त्रालयले मृत्यु प्रमाणित गर्दै नेपालको राजदूतावासमा जानकारी पठाएपछि आफूहरूले नेपालबाट मृतकका परिवारहरूलाई राहत एवं क्षतिपूर्ति प्राप्तिका लागि सहजीकरण गर्ने गरेको बताए।
उनले भने, "कतिले लिनुभएको छ, त्यो सङ्ख्या हामीलाई थाहा हुँदैन्। तर उताबाट आधिकारिक रूपमा पुष्टि भएर आएपछि त्यस्तोमा हामीले सहजीकरण गरेर परिवारका सदस्यहरूलाई नै पठाउने गरेका छौँ।"
केही समयपहिले बीबीसीसँग कुरा गर्दै रुसका लागि भूतपूर्व नेपाली राजदूत मिलनराज तुलाधर मस्कोले रुसी सेनाका अन्य सदस्यसरह नै नेपालीहरूलाई पनि क्षतिपूर्ति दिने सहमति जनाएको बताएका थिए।
अधिकारीहरूले सो द्वन्द्वमा ज्यान गुमाएका कतिपय त्यस्ता नेपाली सैनिकका परिवारका सदस्यहरूलाई क्षतिपूर्ति दिने प्रक्रिया मस्कोले प्रारम्भ गरेको बताइरहँदा अझै पनि क्षतिपूर्ति प्राप्त गर्न जटिलता रहेको बीबीसीले बुझेको छ।
रुसमाथि लागेको अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण रुसी मुद्रा अन्य देशमा लैजान कठिनाइ रहेको बुझिन्छ।
नेपाल सरकारको भनाइ

नेपालको परराष्ट्र मन्त्रालयले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना हुन नदिने आफ्नो घोषित नीति यथावत् रहेको जनाएको छ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बीबीसीसँग भने, "हामीले रुसी सेनामा भर्ना हुने कार्य निरुत्साहित गर्ने मात्रै गरेका छैनौँ, त्यहाँ जान नदिने भन्ने हाम्रो नीति नै हो। "
रुसी सेनामा ठूलो सङ्ख्यामा नेपालीहरू भर्ना भएका र लडाइँका क्रममा ज्यान गुमाएका विवरणका माझ सन् २०२४ मा नेपालले अध्ययन, छात्रवृत्ति र पेसाव्यवसायमा संलग्नबाहेक अन्यका हकमा रुस यात्रा गर्न पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था गरेको थियो।
अहिले पनि विद्यार्थी, रुसमा बसोबास गर्ने नेपाली र तीनका परिवारबाहेक अन्यका हकमा त्यस्तो पूर्वस्वीकृति अनिवार्य रहेको अधिकारीहरू बताउँछन्।
रुसी सेनामा कार्यरत रहँदा ज्यान गुमाएका वा बेपत्ता रहेका नेपालीका परिवारका हकमा भने कन्सुलर सेवा विभागले यात्रा अनुमतिपत्र जारी गर्न सहजीकरण गर्दै आएको बताइन्छ।
क्षेत्री थप्छन्, "रुसी सेनामा भर्नाको विषयमा हामीले लिँदै आएको नीतिमा कुनै बदलाव छैन। त्यसबाहेक जुन एड्भाइजरीहरू हामीले जारी गरेका थियौँ र नियमहरू बनाएका थियौँ, ती यथावत् नै छन्।"
तर पनि टिकटकजस्ता सामाजिक सञ्जालहरूमा रुसी सेनामा नेपालीहरूलाई भर्ना लिने गरिएको भनेर सन्देशहरू अझै पनि सम्प्रेषित हुने गरेका देखिन्छन्।
त्यसबारे आफूहरूको ध्यानाकर्षण भएको बताउने नेपाली अधिकारीहरूले युद्धमोर्चामा जाने जोखिम नलिन अनुरोध गरेका छन्।
परराष्ट्र मन्त्रालयका प्रवक्ता क्षेत्री भन्छन्, "सामाजिक सञ्जालमा विभिन्न स्थानमा जान उत्प्रेरित गर्ने आशयका सन्देशहरू यदाकदा आएको हामीले देखिरहेका छौँ। तर हामी सधैँ त्यस्तो कामलाई निरुत्साहित गर्छौँ।"
रुसले आफ्नो सेनामा नेपाली नागरिकलाई भर्ना लिने काम बन्द गरेको नेपाली अधिकारीहरूले बताउँदै आएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








