भारतमा केन्द्रीय ब्याङ्कका अधिकारी बनेर ७ करोड भारु लुटिएको घटनामा तीनजना पक्राउ

    • Author, इमरान कुरैशी र जेसिका रोन्स्ली

भारतमा केन्द्रीय ब्याङ्कका अधिकारीका रूपमा प्रस्तुत भएका हतियारधारी व्यक्तिहरूले एटीएम क्यास भ्यानबाट ७ करोड भारतीय रुपैयाँ (करिब आठ लाख अमेरिकी डलर) लुटेको प्रकरणमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

शनिवार दक्षिणी सहर बैङ्गलुरुको प्रहरीले गत साता चोरी भएको ५ करोड ७६ ​​लाख रुपैयाँ बरामद गरेको र घटनाको अनुसन्धान भइरहेको जनाएको छ।

"बाँकी रकम प्राप्त गर्न हाम्रो अनुसन्धान अघि बढिरहेको छ," बैङ्गलुरुका प्रहरी आयुक्त सीमान्त कुमार सिंहले पत्रकारहरूलाई भने।

पछि सिंहले तीन जना संदिग्धहरूलाई हिरासतमा लिइएको बीबीसीलाई बताए। "हामी थप दुईदेखि तीन जना खोजिरहेका छौँ," उनले थपे।

पक्राउ पर्नेहरूमा नगद ओसारपसार गर्ने कम्पनी सीएमएसका कर्मचारी गोपाल प्रसाद, सीएमएसका पूर्वकर्मचारी जे जेभियर र स्थानीय प्रहरी हवल्दार अन्नप्पा नाइक छन्।

बैङ्गगलुरुको लालबाग क्षेत्रमा बुधवार दिउसो १२ बजेर ४८ मिनेट जाँदा उक्त डकैती भएको थियो।

कसरी भयो लुटपाट?

लुटेराहरूले आफूलाई भारतीय रिजर्भ ब्याङ्कका अधिकारी भएको नाटक गरेका थिए। त्यति ठूलो रकमको कागजात जाँच गर्नुपर्ने भन्दै उनीहरूले पैसा बोकेको गाडी रोकेका थिए।

गाडीमा रहेका नगद संरक्षकको जिम्मेवारीमा रहेका व्यक्ति र दुई सुरक्षा गार्डलाई एसयुभीमा चढ्न निर्देशन दिइएको थियो भने उक्त गिरोहका एकजनाले भ्यान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रहरीले गिरोहले नगदका बाकस स्थानान्तरण गर्न सवारी साधन परिवर्तन गरेको, नक्कली दर्ता प्लेटहरू प्रयोग गरेको र कम सीसीटिभी कभरेज भएका स्थानहरू छनौट गरेको जनाएको छ।

ब्याङ्कका शाखाहरूबीच पैसा सार्दै गर्दा व्यस्त सडकमा एसयूभीमा आएका छ जना पुरुषहरूले नगद ढुवानी गर्ने भ्यान रोकेको बैङ्गलुरुका प्रहरीले जनाएको थियो।

पैसा बोकेको भ्यानमा चालक, नगद संरक्षक र दुई हतियारधारी सुरक्षा गार्ड सवार थिए।

उक्त गिरोहले नगद संरक्षकको जिम्मेवारीमा रहेका व्यक्ति र गार्डलाई आफ्नो हतियार भ्यानमा छोडेर एसयूभीमा चढ्न लगाउँदै चालकलाई नगद लिएर गाडी चलाउन निर्देशन दिएको प्रहरीले जनाएको छ।

एसयूभीमार्फत् केही किलोमिटरसम्म पैसा बोकेको भ्यानलाई पछ्याएपछि चालकलाई भ्यानबाट निकालियो अनि बन्दुक तेर्स्याउँदै नगद संरक्षक र गार्डहरूलाई एसयूभीबाट ओरालेर नगद आफ्नो गाडीमा सारेर लुटेराहरूको समूह त्यहाँबाट भागेको बताइएको छ।

खोजकार्य

कर्नाटक र छिमेकी केरला, तमिलनाडु, तेलङ्गाना, आन्ध्र प्रदेश र गोवामा २०० भन्दा बढी प्रहरी अधिकारीहरू तैनाथ गर्दै बुधवार ठूलो खोजी सुरु गरिएको थियो।

गुप्तचरहरूले सीएमएसको भूमिका र नगद स्थानान्तरणका लागि निर्देशक मापदण्डहरूको सम्भावित उल्लङ्घनको अनुसन्धान गरिरहेको पनि प्रहरी आयुक्त सिंहले बताएका छन्।

"अनुमान गर्न सहज हुने गरी भ्यानहरूले एउटै मार्ग र समय बारम्बार पछ्याउनु हुँदैन," उनले थपे।

गत मे महिनामा भारतकै विजयपुरा जिल्लास्थित एक ब्याङ्कबाट लकरको डुप्लिकेट साँचो प्रयोग गरेर ५३ करोड २६ लाख रुपैयाँ बराबरको ५९ किलो सुन चोरी भएको थियो।

प्रहरीले त्यसयता ३९ किलो सुन र केही नगद बरामद गर्नुका साथै दुई पूर्व कर्मचारीसहित १५ जनालाई पक्राउ गरेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।