दक्षिण कोरियामा राष्ट्रपति निर्वाचनको तातो, तपाईँले थाहा पाउनुपर्ने ५ कुरा

दक्षिण कोरियाका राष्ट्रपतिका उम्मेदवारहरूको पोस्टर हेर्दै एक महिला

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, भूतपूर्व राष्ट्रवति यून सुक यउलको महाभियोगपछि दक्षिण कोरियामा मध्यावधि निर्वाचन हुन लागेको हो
    • Author, जोएर गिन्तो
    • Role, बीबीसी न्यूज

दक्षिण कोरियामा आगामी जुन ३ मा राष्ट्रपतीय निर्वाचन हुन लागेको छ। गत डिसेम्बरमा 'मार्शल ल' अर्थात् सैनिक शासन लगाउने प्रयास गरेपछि पदबाट हटाइएका यून सुक यउलको स्थानमा नयाँ राष्ट्रपति चयनका लागि चुनाव हुन लागेको हो।

यूनको कदमका कारण समाजमा देखिएको चरम विभाजन र आर्थिक तथा राजनीतिक परिणामलाई व्यवस्थापन गर्नु अब निर्वाचित हुने राष्ट्रपतिको दायित्व हुने छ।

उत्तर कोरियाको चुनौती तथा इतिहासकै न्यून जन्मदरजस्ता लामो समयदेखिका समस्या समाधान गर्नुपर्ने चुनौतीबीच दक्षिण कोरियामा यो निर्वाचन हुन लागेको हो।

पाँच करोड २० लाख जनसङ्ख्या रहेको पूर्वी एशियाली देशले आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व कसरी चयन गर्छ भन्नेबारे यहाँ चर्चा गरिएको छ।

दक्षिण कोरिया किन राष्ट्रपतीय निर्वाचन गर्दै छ?

दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक यउल

तस्बिर स्रोत, Getty Images

यूनको राष्ट्रपतीय कार्यकाल सन् २०२७ सम्म थियो। उनले पूरा कार्यकाल काम गर्न पाएनन्।

उत्तर कोरिया र "देशविरोधी शक्तिहरू"को चुनौती देखाउँदै डिसेम्बर ३ मा सैनिक शासन लगाउने घोषणा गरेर उनले देशलाई स्तब्ध बनाए। तर उनको कदम आफ्नै राजनीतिक समस्याका कारण चालिएको केही समयमै स्पष्ट भयो।

त्यसको एक सातापछि संसद्‌ले उनलाई महाभियोग लगायो। एप्रिल ४ मा संवैधानिक अदालतले उनीमाथि लगाइएको महाभियोग सदर गर्‍यो। अदालतको निर्णयसँगै कानुनबमोजिम ६० दिनभित्र मध्यावधि निर्वाचन गर्नुपर्ने बाध्यता सरकारलाई पर्‍यो।

यूनले सैनिक शासन लागु गरेयताको पाँच महिनामा यो देशमा तीन जना कार्यवाहक राष्ट्रपति बनिसकेका छन्। सबैभन्दा पछिल्लो पटक यो जिम्मेवारीमा श्रममन्त्री ली जु-हो आएका छन्। उनले चुनावको एक महिनाअघि मात्रै पदबहाली गरेका थिए।

लीभन्दा अघि प्रधानमन्त्री हान डक सो यो पदमा थिए। तर राष्ट्रपति यूनपछि कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी पाएको केही सातामै उनीविरूद्ध पनि महाभियोग दर्ता भयो। मार्चमा हान पुनः पदमा फर्कनुअघि चोए साङ-मोक कार्यवाहक राष्ट्रपति बनेका थिए।

दक्षिण कोरियाको निर्वाचनमा ठूला मुद्दा के छन्?

दक्षिण कोरियाका राष्ट्रपतिका उम्मेदवारहरू

तस्बिर स्रोत, EPA-EFE/Shutterstock

यूनले सैनिक शासन लागु गरेसँगै उनको परम्परावादी पीपल्स पावर पार्टी र यूनका समर्थकहरू विभाजित देखिएका थिए। त्यसले विपक्षी ली जे-म्यङ र उदारवादी डेमोक्र्याटिक पार्टीसँग पनि उनको दूरी बढाइदियो।

उक्त कदमले संवेदनशील समयमा अर्थतन्त्रबारे सर्वसाधारणको भरोसा कमजोर बनाइदियो। त्यही समयमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी व्यापारिक साझेदार देशहरूबाट आयात हुने सामग्रीमा कर बढाइदिए। दक्षिण कोरियाली सामग्रीमा २५ प्रतिशत आयात शुल्क तोकियो।

नयाँ राष्ट्रपतिसामु यस्ता विषयहरू तत्कालै सम्बोधन गर्नुपर्ने चुनौती हुने छ।

त्यससँगै दक्षिण कोरियाका पुरानै चुनौतीहरू छँदै छन्। उदाहरणका लागि, उत्तर कोरियासँगको सम्बन्धको विषय छ। सन् २०२५ का आरम्भिक महिनाहरूमा खासै कुनै घटना नभए पनि त्यसअघिको वर्ष प्रोपागान्डाका सामग्री राखिएका बलून र ड्रोनहरू एकअर्काका देशतर्फ पठाइएपछि दुई देशबीच तनाव बढेको थियो।

दक्षिण कोरियाका नयाँ नेताले सोलको सबैभन्दा ठूलो व्यापारिक साझेदार बेइजिङ र सबैभन्दा महत्त्वपूर्ण सुरक्षा सहयोगी वाशिङ्टन दुवैसँगको सम्बन्धमा सन्तुलन कायम राख्नुपर्ने चुनौती पनि छ।

त्यसै गरी दक्षिण कोरियाले सामना गरिरहेको विश्वभरिकै सबैभन्दा न्यून जन्मदरले निम्त्याएको समस्या सम्बोधन गर्नु पनि अर्को चुनौती हुने छ।

दक्षिण कोरियामा प्रजननदर विश्वकै न्यून छ। सन् २०२४ मा यो देशमा एक जना महिलाको जीवनकालको औसत जन्मदर ०.७५ प्रतिशत रहेको एक अध्ययनले देखाएको थियो।

देशको जनसङ्ख्यालाई स्थिरता दिनका लागि जन्मदर २.१ प्रतिशत पुग्न आवश्यक छ। तर दक्षिण कोरियामा सन् १९८२ पछि कहिल्यै पनि जन्मदर यो स्तरमा पुगेको छैन।

को बन्न सक्छन् नयाँ राष्ट्रपति?

दक्षिण कोरियाका राष्ट्रपतिका उम्मेदवार डेमोक्र्याटिक पार्टीका ली जे-म्यङ

तस्बिर स्रोत, EPA-EFE/Shutterstock

तस्बिरको क्याप्शन, मतसर्वेक्षणहरूले दक्षिण कोरियाका राष्ट्रपतिका उम्मेदवारहरूमध्ये डेमोक्र्याटिक पार्टीका ली जे-म्यङलाई अगाडी देखाएका छन्

मतसर्वेक्षणहरूले डेमोक्र्याटिक पार्टीका ली जे-म्यङलाई राष्ट्रपति पदका छ जना आकाङ्क्षीहरूमध्ये सबैभन्दा अगाडि देखाएका छन्। परम्परावादी पीपल्स पावर पार्टीका उम्मेदवार किम मून-सोले मतसर्वेक्षणहरूमा दोस्रो धेरै लोकप्रिय मत पाएका छन्।

सन् २०२२ को निर्वाचनमा यूनसँग निकै झिनो मतान्तरले ली पराजित भएका थिए। उनका समर्थकहरूले लीलाई कामकाजी मानिसहरूका नायकको रूपमा प्रशंसा गरेका छन्। मानवअधिकारवादी वकिल र राजनीतिज्ञ हुनुअघि उनले एउटा कारखानामा काम गरेका थिए।

उनले रोजगारी र न्यायसङ्गत समाजसहित देशलाई "वास्तविक कोरिया गणतन्त्र" बनाउने वाचा गरेका छन्।

पूर्वश्रममन्त्री किमले आफूले देशको अर्थतन्त्र उकास्ने वाचा गरेका छन्। उनले व्यवसायमैत्री वातावरण बनाउनुका साथै रोजगारी सिर्जना गर्ने नारा अघि सारेका छन्।

दक्षिण कोरियामा १८ वर्षपछि पहिलो पटक यो निर्वाचनमा एक जना पनि महिला उम्मेदवार छैनन्। यो देशमा राष्ट्रपतीय निर्वाचनमा पहिलो पटक प्रतिस्पर्धामा उत्रने महिना होङ सुक-जा हुन्। सन् १९८७को निर्वाचनमा उनले उम्मेदवारी दिए पनि मतदानअघि नै मनोनयन फिर्ता लिएकी थिइन्। सन् २०१२ को राष्ट्रपतीय निर्वाचनमा चार जना महिला उम्मेदवार थिए।

चुनावको नतिजा कहिले र कसरी घोषणा हुन्छ?

दक्षिण कोरियाको चुनावमा अग्रिम मतदान हुँदै

तस्बिर स्रोत, EPA-EFE/Shutterstock

जुन ३ मा हुने निर्वाचनका दिन मतदान केन्द्रहरू बिहान ६ बजेबाट राति ८ बजेसम्म खुल्ला रहने छन्। देशबाहिर रहेका दक्षिण कोरियालीहरूले मे २० देखि मे २५ बीचमा अग्रिम मतदान गरिसकेका छन्।

मतदान सकिएको केही समयमै मतपरिणाम आउन सुरु हुन्छ र अर्को दिनको बिहानसम्म विजेता घोषणा हुन सक्छ।

सन् २०२२ मा लीलाई पराजित गरेर यून राष्ट्रपति बन्दा मतदान सकिएको नौ घण्टामा विजेता घोषणा भएका थिए।

उक्त निर्वाचनमा देशको इतिहासमै सबैभन्दा झिनो मतान्तरको प्रतिस्पर्धा भएको थियो। यूनले ०.७३ प्रतिशत मतअन्तरले जित हासिल गरेका थिए।

नयाँ राष्ट्रपतिले चुनावलगत्तै पदभार ग्रहण गर्ने छन् र पूर्ववर्तीहरूले जस्तो पद हस्तान्तरणको सङ्क्रमणकाल पर्खनुपर्ने छैन।

महाभियोग लागेका पूर्वराष्ट्रपतिलाई के हुन्छ?

सैनिक शासनको निर्णयका कारण यूनले राजद्रोहको अभियोग सामना गर्ने छन्। गत ज्यानुअरीमा पक्राउ परेका उनी त्यसको केही सातामै हिरासतमुक्त भएका थिए।

उनीमाथि हालै शक्तिको दुरुपयोग गरेको अभियोग पनि लगाइएको छ।

नयाँ चुनावअघि यूनले पार्टी परित्याग गरेका छन्। विश्लेषकहरूले पीपल्स पार्टीका उम्मेदवार किम मून-सोप्रति जनसमर्थन जुटाउन उनले यस्तो निर्णय लिएको हुन सक्ने अनुमान गरेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।