दक्षिण कोरियामा भएको उथलपुथललाई उत्तर कोरिया र चीन कसरी हेर्दै छन्

उत्तर कोरियाली नेता किम जङ अन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, उत्तर कोरियाली नेता किम जङ अन
    • Author, बीबीसी कोरिया र बीबीसी विश्व सेवा

सन् २०२५ को पहिलो महिना चल्दै छ। अहिले दक्षिण कोरियाको राजनीतिक अवस्थाबारे अझै अनुमान गर्न सक्ने देखिँदैन।

राष्ट्रपति यून सुक यउलले गत डिसेम्बर ३ तारिखमा अप्रत्याशित रूपमा सैन्य शासन घोषणा गरेपछि सोलमा तनाव उत्पन्न भयो। त्यसको केही समयपछि त्यहाँको राष्ट्रिय सभाले उक्त निर्णय हटाउन एउटा सङ्कल्प प्रस्ताव पेस गर्‍यो। अन्ततः राष्ट्रपति आफ्नो घोषणा फिर्ता गर्न बाध्य भए।

त्यसपछि दक्षिण कोरियाका सांसदहरूले उनीविरुद्ध महाभियोग लगाए। भ्रष्टाचार निवारण गर्ने निकायका अनुसन्धानकर्ताहरूले पक्राउ गर्न खोज्दा यूनले निकै समय प्रतिकार गरे। तर उनी अहिले पक्राउ परेका छन्।

अब त्यहाँ के हुन्छ भन्ने स्पष्ट छैन।

कडा सुरक्षाव्यवस्था रहेको सीमापारि उत्तर कोरियाबाट दक्षिणमा विकसित घटनाक्रमलाई सम्भवतः एकदमै नजिकबाट नियालिरहेका एक व्यक्ति किम जङ अन हुन्।

उत्तर कोरियाले 'मार्शल ल' घोषणा गर्ने यूनको कदमबारे दुईवटा समाचार मात्र प्रकाशन वा प्रसारण गर्‍यो - पहिलो समाचार ११ डिसेम्बरमा र त्यसपछि सन् २०१५ को ज्यानुअरी ३ तारिखमा।

यद्यपि दक्षिण कोरियासम्बन्धी अघिल्ला विवरणहरूमा प्रयोग गरिएकाभन्दा तथ्यगत भाषा र तटस्थ आशय उल्लेखनीय रूपमा फरक लाग्ने खालका थिए। यसको अर्थ के हुन सक्छ त?

असहज किम जङ अन?

दक्षिण कोरिया उदार लोकतन्त्र भएको देश हो भन्ने कुरामा थोरैले विमति जनाउलान्। दक्षिण कोरियाले जनताको मताधिकार सुनिश्चित गरेको छ। राष्ट्रपतिलाई पदबाट हटाउन पनि सम्भव छ।

मानिसहरूले राष्ट्रपतिको अथवा मन परेका उम्मेदवारको पक्षमा र्‍याली गर्न पाउँछन्। विरोध जनाउन उनीहरूले मैनबत्ती बालेर प्रदर्शन पनि गर्न पाउँछन्।

यिनै कुराप्रति किम असहज हुन सक्छन्। अर्कोतर्फ किमको मुलुकमा राज्यमाथि कडा नियन्त्रण गर्ने उनको सत्तासहित वंशीय निरङ्कुशताको तीनवटा विरासत छ। छिमेकी देशमा जे भइरहेको छ त्यसबाट प्रभावित भएर उत्तर कोरियामा परिवर्तनको माग उठ्न सक्ने चिन्ताले किमलाई पिरोलेको हुन सक्छ। त्यसैले त्यहाँका घटनाक्रमबारे जति कम जानकारी दियो उनी आफूलाई त्यति धेरै राम्रो।

निलम्बित राष्ट्रपति यून सुक यउललाई गिरफ्तार गर्ने माग गर्दै दक्षिण कोरियालीहरू

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, दक्षिण कोरियालीहरूले निलम्बित राष्ट्रपति यून सुक यउललाई पक्राउ गर्नुपर्ने माग गरेका थिए

डन्गुक विश्वविद्यालयको इन्स्टिच्यूट अफ नोर्थ कोरिअन स्टडिजकी भिजिटिङ फेलो किम यङ-हुईले बीबीसीसँग भनिन्, "उत्तर कोरियालीहरूलाई यो थाहा छैन कि उनीहरूले आफ्ना नेता प्रत्यक्ष रूपमा निर्वाचित गर्न सक्छन्। म उत्तर कोरियामा हुँदा मलाई त्यसबारे केही थाहा थिएन। त्यहाँका नेताहरू जनतालाई यी सबबारे थाहा होस् भनी चाहँदैनन्। अतः आफ्ना नागरिकबारे त्यस्ता कुरा देखाउँदैनन्।"

"किमले यो घटना पनि हेर्ने छन् र उनी लोकतन्त्र कहिल्यै स्वीकार्नु हुँदैन भन्ठान्छन्। उनी स्वतन्त्र चुनाव नकार्छन्। तर सर्वसाधारण जनताले देशको सर्वोच्च नेतालाई महाभियोग लगाएर हटाउन सक्छ भन्ने उनीहरूले थाहा पाए भने उनलाई डरका कारण असहज हुन्छ।"

यद्यपि सधैँ त्यसो हुने गरेको थिएन।

"उत्तर कोरियाले सुरुमा दक्षिण कोरियाली राजनीति अस्तव्यस्त भयो भनेर आलोचना गर्‍यो। तर जति बढी आफ्ना जनतालाई सुसूचित गर्‍यो उति धेरै उत्तर कोरियाली प्रणालीलाई खतरा हुने महसुस गर्‍यो," दक्षिण कोरियाको न्याश्नल इन्टेलिजन्स सर्भिसका भूतपूर्व उत्तर कोरिया विश्लेषक क्वाक गिल-सुपले भने।

चीनबाट नियाल्दा

दक्षिण कोरिया र उत्तर कोरियाको महत्त्वपूर्ण व्यापार साझेदार चीनले पनि घटनाक्रम नियालिरहेको छ। बेइजिङस्थित अधिकारीहरूले दक्षिण कोरियामा विकसित घटनाक्रमलाई इङ्गित गर्दै हस्तक्षेप गर्न नहुनेमा जोड दिँदै आएका छन्।

गत डिसेम्बरमा एउटा टेलिफोन संवादका क्रममा चिनियाँ विदेशमन्त्री वाङ यीले आफ्ना दक्षिण कोरियाली समकक्षी जो ते-यललाई भनेका थिए, "चीनले दक्षिण कोरियामा जे भइरहेको छ त्यसलाई 'नोट' गरेको छ। आन्तरिक समस्यालाई राम्ररी सम्बोधन गर्न कोरियाली नागरिकसँग विवेक र क्षमता रहेकोमा चीनको विश्वास छ।"

लन्डन विश्वविद्यालयस्थित एसओएएस चाइना इन्स्टिच्यूटका निर्देशक स्टीभ चाहिँ साङ वाङको टिप्पणीलाई चीनको धारणा मान्छन्।

बीबीसीसँग उनले भनेः "चीनमा त्यस्तो कुनै व्यवस्था छैन जसअन्तर्गत महाभियोगमार्फत् कुनै उच्च नेतालाई हटाउन सकियोस्। चिनियाँ कम्युनिस्ट पार्टीको संस्थापनले अपदस्थ गर्न सक्यो भने सर्वोच्च नेता जान सक्छन्। तर तिनलाई न्याश्नल पीपल्स् कङ्ग्रेस अथवा लोकप्रिय जनप्रदर्शनबाट हटाउन सकिँदैन।"

एशिया-प्यासिफिक आर्थिक सहकार्यको शिखर बैठकका क्रममा चिनियाँ राष्ट्रपति सी जिन्पिङ

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, एशिया-प्यासिफिक आर्थिक सहकार्यको शिखर बैठकका क्रममा चिनियाँ राष्ट्रपति सी जिन्पिङ

चिनियाँ सरकारी सञ्चारमाध्यमले कोरियामा भएका घटनाबारे केही बढी भनेका छन् र चीनको सत्तामा रहेकाहरूले के सोच्छन् भन्नेबारे अझ बढी सङ्केत दिएका छन्।

दक्षिण कोरियाली संसद्‌ले राष्ट्रपति यूनलाई महाभियोग लगाउनुअघि चिनियाँ समाचार पत्रिका पीपल्स् डेलीले "यूनले बाँकी कार्यकालमा सामान्य रूपमा शासन गर्न नसक्दा उक्त देश एउटा असहज परिस्थितमा फस्न लागेको छ" भनेर लेखेको थियो।

डिसेम्बर १४ मा संसद्‌ले महाभियोगमार्फत् यूनलाई हटाएपछि प्रधानमन्त्री हान डक-सू कार्यकारी राष्ट्रपति भए। तर महाभियोगसम्बन्धी मुद्दा हेर्नका निम्ति संसद्‌ले चयन गरेका संवैधानिक अदालतका तीन न्यायाधीश नियुक्त गर्न हानले अस्वीकार गरेपछि उनलाई पनि संसद्‌ले महाभियोगमार्फत् हटायो।

त्यसयता अर्थमन्त्री च्वे साङ-मोकले त्यसयता राष्ट्रपतिको जिम्मेवारी सम्हालेका छन्।

चिनियाँ समाचार सेवाको साप्ताहिक म्यागजीनले ज्यानुअरी ६ तारिखमा च्वेको राजनीतिक पृष्ठभूमि र उनी "यूनलाई जोगाउन किन दृढ छन्" भन्ने अनुमानसहित ४,००० शब्दको एउटा विश्लेषणात्मक रिपोर्ट प्रकाशित गर्‍यो।

दक्षिण कोरियाको राजनीतिक भविष्यबारे खुला रूपमा बहस गर्ने र अड्कलबाजी गर्ने यो इच्छा सोलसँग स्थायी सम्बन्धमा चीनको विश्वासतर्फ इङ्गित गर्छ। कतिपय अमेरिकी टिप्पणीकारहरूले त सोलमा अहिले देखिएको सङ्कटले बेइजिङको पक्षमा काम गरिरहेको बताएका छन्।

"चीनप्रति नरम धार अपनाउने डेमोक्र्याटिक पार्टीको वर्चस्वलाई चीन एउटा सकारात्मक विकासक्रमको रूपमा हेर्छ," द्वितीय बुश प्रशासनका बेला पूर्वी एशिया तथा प्यासिफिक मामिला अधिकारीको रूपमा काम गरेका इभान्स रिभेरले 'भोइस अफ अमेरिका'सँग भने।

फरक समाजवाद

महाभियोगको विरोधमा यउलका समर्थकहरू

तस्बिर स्रोत, KYUN/EPA-EFE/REX/Shutterstock

दक्षिण कोरियामा देखिएको राजनीतिक अस्तव्यस्तताबारे उत्तर कोरिया र चीनले जनाएका फरक प्रतिक्रियाहरू उनीहरूले वकालत गर्ने गरेका फरक राजनीतिक प्रणालीसँग जोडिएका छन्। उत्तर कोरियाका शासकहरूले आफूहरूको सिद्धान्त कोरियाली शैलीको समाजवाद भएको बताउने गरेका छन्।

यो जुशे अवधारणामा आधारित छ जसको अर्थ "आत्मनिर्भरता हुन्छ" र त्यसले क्रान्तिकारी स्वतन्त्रताको अथवा अझै मुलुक अरूदेखि एक्लै हुनुपर्छ भन्ने कुरालाई प्रवर्धन गर्छ। तर त्यसको प्रयोग किम वंशको पूर्ण अधिकारको सन्दर्भमा हुँदै आएको छ।

चीन पनि समाजवादी सिद्धान्तअनुसार शासित भएको दाबी गर्छ। तर उक्त देश अझ सुधारवादी, पुँजीवादसमर्थक बाटोमा छ जुन सन् १९७० को दशकको अन्त्यतिर सुरु भएको हो।

खासमा विगत पाँच दशकको अवधिमा चीन र उसका व्यापार साझेदारहरूले आर्थिक सहकार्यका लागि निरन्तर आफ्ना वैचारिक मतभेदलाई पाखा लगाउँदै आएका छन्।

गत नोभेम्बरमा पेरुमा एशिया-प्रशान्त आर्थिक सहकार्य शिखर बैठकको छेकोमा चिनियाँ राष्ट्रपति सी जिन्पिङ र दक्षिण कोरियाली राष्ट्रपति यूनबीच भेटवार्ता हुँदा उनीहरूले उत्तर कोरियाली तथा रुसी सैन्य सहकार्यले निम्त्याएको खतरासँग जुझ्न मिलेर अगाडि बढ्ने कुरा गरेको बताइन्छ।

मून अहिले सत्तामा छैनन्। तर साङका अनुसार यूनको स्थानमा जो आए पनि चीन-दक्षिण कोरिया सम्बन्धमा ठूलो परिवर्तन आउँदैन। द्विपक्षीय सम्बन्ध "व्यक्तित्वभन्दा पनि संरचनागत पक्षमार्फत् चलेका छन्।"

केही विश्लेषकहरूका अनुसार दक्षिण कोरियाको अस्थिर राजनीतिक अवस्थालाई हेरेर उत्तर कोरियामा किम चाहिँ आफ्नो प्रणालीको लामो आयुबारे आश्वस्त भएको हुनसक्छन्।

तर अर्कोथरीको विचारमा उत्तर कोरियाको चरम एकलकाँटे समाजवाद ब्र्यान्डको अर्थ त्यससँग जोडिन अथवा दक्षिण कोरियाका विकासबारे सार्वजनिक रूपमा स्वीकार गर्न लगभग असम्भव छ। त्यसको कारण चाहिँ सम्भ्रान्त शासकहरूमा रहेको डर हो। अतः शासनसत्ता मौन रहन्छ।

उत्तर कोरियाबारे अध्येता किम यङ-हुई भन्छन्, "उत्तर कोरियालीहरू एउटा यस्तो प्रणालीसँग अभ्यस्त भइसकेका छन् जसलाई स्वतन्त्र चुनावहरूको अर्थ नै थाहा छैन। उनीहरू अझै यो सोच्छन् कि यदि देशले चयन गरेको कुनै उम्मेदवार जित्छन् भने उसलाई बिनाशर्त समर्थन गर्नुपर्छ।"

तर विश्लेषक तथा वान कोरिया सेन्टरका निर्देशक क्वाक गिल-सुप भन्छन्, "दक्षिण कोरियामा भएका घटनाको असर किमको सत्तामाथि तत्काल त्यति ठूलो नहुन सक्छ। तर अन्त्यमा… यदि नेताहरूमाथि महाभियोग लगाइएमा र सान्दर्भिक सूचनाहरू क्रमशः बाहिर आउन थाल्छन् भने परिवर्तनका लागि आन्दोलनहरू हामी हेर्न सक्छौँ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।