दक्षिण कोरियामा महाभियोग लगाइएका राष्ट्रपति पक्राउ

तस्बिर स्रोत, NEWS1
दक्षिण कोरियाका भ्रष्टाचारविरोधी अनुसन्धानकर्ताहरूले देशका निलम्बित राष्ट्रपति यून सुक यउललाई पक्राउ गरिएको जनाएका छन्।
यउललाई देशद्रोह र अख्तियार दुरुपयोग गर्दै 'मार्शल ल' लागु गर्ने प्रयाससम्बन्धी अभियोगबारे बयानका लागि त्यहाँबाट लगिएको बताइएको छ।
यससँगै उनी पदमा रहँदै पक्राउ पर्ने पहिलो दक्षिण कोरियाली राष्ट्रपति बनेका छन्।
सोलस्थित सरकारी निवासमा पुग्नका लागि अनुसन्धानकर्ता र प्रहरीले राष्ट्रपतीय सुरक्षा सेवाले खडा गरेका अवरोधहरू छिचोल्नु परेको थियो।
उनीहरूले त्यस निवास परिसरबाहिर उपस्थित भएका यउलका हजारौँ समर्थकहरूको समेत सामना गरेका थिए।
जस क्रममा मुख्य ढोकाबाहिर भएको झडपमा एक जना घाइते भए।
यउलले के भने?

तस्बिर स्रोत, Reuters
स्थानीय समय अनुसार बिहान १० बजेर ३३ मिनेट जाँदा उनलाई पक्राउ गरिएको अधिकारीहरूले जनाएका छन्।
निलम्बित राष्ट्रपति यउलका तर्फबाट जारी एक विज्ञप्तिमा उनले 'रक्तपात' छल्नका लागि आफू पक्राउ हुन तयार भएको जनाए तापनि त्यसको अर्थ आफू अनुसन्धानका लागि सहमत भएको भन्ने नरहेको जनाइएको छ।
एक संक्षिप्त भिडिओमार्फत् उनले उक्त अनुसन्धानलाई 'गैरकानुनी' बताउँदै देशमा कानुनीराज टुटेको बताएका छन्।
उनले आफूबारे अनुसन्धान गर्ने र पक्राउ पुर्जी जारी गर्ने अदालतसँग त्यस्तो अधिकार नरहेको बताए।
पक्राउ प्रयास जारी रहँदा सरकारी निवासबाहिर उनको पक्ष र विपक्षमा नाराबाजी भएको त्यहाँस्थित बीबीसी संवाददाताले जनाएका छन्।
समर्थकहरूले उनको नाम लिएर चिच्याइरहँदा विरोधीहरूले भने "पक्राउ गर" भन्दै नाराबाजी गरेका थिए।
अब उनी त्यहाँको भ्रष्टाचार अनुसन्धानसम्बन्धी कार्यालयमा उपस्थित गराइनेछन् जसले यसअघि उपस्थितिका लागि गरेको निर्देशनलाई उनले बेवास्ता गरेका थिए।
अनुसन्धानकर्ताहरूले यस महिनाको सुरुमासमेत उनलाई पक्राउ गर्न खोजे पनि असफल भएका थिए।
उनको महाभियोगसम्बन्धी सुनुवाइ मङ्गलवार सुरु भए पनि उनी उपस्थित नभएका कारण चार मिनेटमै सकिएको थियो। उक्त सुनुवाइले उनी पदमुक्त हुने-नहुने टुङ्गो लगाउनेछ।
विवादित विगत

तस्बिर स्रोत, Reuters
गत डिसेम्बर ३ मा 'मार्शल ल' लागु गर्न खोजेपछि उनीविरुद्ध व्यापक प्रदर्शन पनि भएको थियो।
कट्टर परम्परावादी नेता यून सन् २०२२ मा राष्ट्रपतिमा निर्वाचित भएका थिए।
तर एप्रिलमा भएको संसदीय निर्वाचनमा विपक्षी पार्टीले फराकिलो जित हासिल गरेपछि उनका "हातखुट्टा बाँधिए जस्तै" भएको थियो।
त्यसयता उनको सरकारले चाहेका कानुनहरू पारित गर्न सकिरहेको छैन र उदारवादी विपक्षीहरूले पारित गरेका विधेयकहरूमा भिटो लगाउने अवस्थामा सीमित भएको छ।

तस्बिर स्रोत, BBC / Leehyun Choi
कैयौँ भ्रष्टाचार प्रकरणमा नाम जोडिएका कारण उनको लोकप्रियता पनि खस्किएको छ।
उनकी पत्नीलाई एउटा महँगो ब्र्यान्डको झोला उपहार लिएको र धितोपत्र बजारमा चलखेल गरेको आरोप लागेको थियो।
यउल र उनीपछिका कार्यवाहक राष्ट्रपति दुवैलाई संसद्द्वारा महाभियोग लगाइएपछि दक्षिण कोरियामा राजनीतिक सङ्कट गहिरिएको छ।
राष्ट्रपति र कार्यवाहक राष्ट्रपतिमाथि महाभियोग लागेपछि हाल अर्थमन्त्री चोई साङ-मोकलाई कार्यवाहक राष्ट्रपति बनाइएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








