तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'छोरा बसेको भवनमा विमान ठोक्कियो': एअर इन्डिया विमान दुर्घटनाका प्रत्यक्षदर्शी के भन्छन्
भारतको अहमदाबादबाट यूकेको लन्डन ग्याटविक जान लागेको विमान दुर्घटनाग्रस्त भएपछि त्यसमाथि विभिन्न प्रतिक्रिया व्यक्त भइरहेका छन्।
एअर इन्डियाका अनुसार दुर्घटनाग्रस्त ७८७-८ विमानमा चालकदलका सदस्यसहित २४२ जना यात्रु रहेको र तीमध्ये १६९ जना भारतीय नागरिक, ५३ जना ब्रिटिश नागरिक, एक क्यानडेली नागरिक र सात पोर्चुगलका नागरिक थिए।
बीबीसी त्यसबारे केही प्रत्यक्षदर्शीहरूसँग कुरा गरेको छ।
'विमान दुर्घटना भन्ने थाहा भएन'
समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै दुर्घटनाका एक प्रत्यक्षदर्शीले बताए, "म घरमा बसिरहेको थिएँ, एकाएक ठूलो आवाज आयो। भूइँचालो गएको जस्तो भयो। जताततै धुवाँ नै धुवाँ थियो। विमान दुर्घटनाग्रस्त भएको भन्ने त थाहै थिएन। जब यहाँ आएँ, तब मात्र थाहा पाएँ।"
"यता आएर हेर्दा त विमान दुर्घटनाग्रस्त भएको रहेछ। जताततै मानिसहरूको शव छरिएर रहेका रहेछन्।"
बीजेपीकी एकजना सांसद दर्शना वघेलाले समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै भनिन्,"म मेरो कार्यालयमा बसिरहेकी थिएँ। ठूलो विस्फोटको आवाज आयो। त्यहाँ गएर हेरेको त विमान दुर्घटना भएको रहेछ। धेरै धुवाँ फैलिएको थियो। डाक्टरहरूको फ्ल्याटमा ठूलो क्षति पुगेको थियो। त्यहाँबाट हामीले स्थानीय कार्यकर्तासँग मिलेर केही डाक्टरहरूलाई बाहिर निकाल्यौँ।"
'मेरो छोरा होस्टलको दोस्रो तलाबाट हाम फाल्यो'
अहमदाबादका अस्पतालबाहिर जम्मा भएका नातेदारहरूको भनाइ पनि हामीले प्राप्त गरेका छौँ।
सिभिल अस्पताल अहमदाबादमा रहेकी पुनम पटेलले न्यूज एजेन्सी एएनआईलाई भनेअनुसार उनकी नन्द लन्डन जाने विमानमा थिइन्। "एक घण्टाभित्रै मैले विमान दुर्घटनाग्रस्त भएको समाचार पाएँ। त्यसैले म यहाँ आएकी हुँ," उनले भनिन्।
रमिला भन्छिन् कि उनको छोरा लन्च ब्रेकका लागि होस्टेलमा गएका मात्र थिए, त्यही बेला त्यही भवनमाथि विमान ठोक्कियो।
त्यसपछि आफ्ना छोराले दोस्रो तलाबाट हाम फाल्दा चोट लागेको तर उनी सुरक्षित रहेको रमिलाले बताइन्।
क्षतिपूर्ति
एअर इन्डियाको स्वामित्व टाटा ग्रुपसँग रहेको छ।
उक्त व्यापारिक समूहले सो विमान दुर्घटनामा ज्यान गुमाएका यात्रुको परिवारलाई एक करोड भारतीय रूपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने जनाएको छ।
घाइतेहरूको उपचार खर्च पनि बेहोर्ने र क्षतिपुगेको मेडिकल होस्टेलको पुनर्निर्माणमा पनि सहयोग गर्ने उक्त समूहले बताएको जनाइएको छ।
अनुसन्धानमा यूके र अमेरिकाको सहयोग
यूकेका अधिकारीहरूलाई पनि विमान दुर्घटनाका सम्बन्धमा हुने छानबिनमा सहयोग पुर्याउन भारत पठाइँदैछ। यूकेको एअर एक्सिटेन्ड्स इन्भेस्टिगेशन ब्रानच एएआईबीले भारतको एअरक्राफ्ट एक्सिडेन्ट इन्भेस्टिगेशन व्यूरोलाई आफ्नो सहयोग प्रस्ताव गरिएको जनाएको थियो।
विमान दुर्घटनाको छानविनमा सहयोग गर्न संयुक्त राज्य अमेरिकाका अनुसन्धानकर्ताहरू पनि भारततर्फ जाने त्यहाँको न्याशनल ट्रास्पोर्टेशन सेफ्टी बोर्ड एनटीएसबीले जनाएको छ। एक्समा एक सन्देश लेख्दै एनटीएसबीले भनेको छ अनुसन्धानका लागि भारत सरकारले राष्ट्रसंघीय निकाय अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको प्रोटोकल अनुसार "सबै जानकारीहरू" उपलब्ध गराउने पनि उल्लेख गरेको छ।
यूकेका प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त
यूकेका प्रधानमन्त्री किअर स्टारमरले पनि दुर्घटनाग्रस्त एअर इन्डियाको विमानका यात्रु र परिवारजनहरूप्रति समवेदना व्यक्त गरेका छन्।
उनले भनेका छन्, " लन्डनतर्फको उडानमा रहेको उक्त विमानमा थुप्रै ब्रिटिश नागरिकहरू पनि थिए र दुर्घटनास्थलका विवरणहरू हृदयविदारक छन्।
"मलाई घटनाको पछिल्ला विवरणहरूबारे निरन्तर जानकारी प्राप्त भइरहेको छ र यो निकै दुःखद क्षणमा मेरो साथ यात्रु र तिनका परिवारजनलाई रहेको छ।"
हामीलाई स्तब्ध पारेको छ : भारतका प्रधानमन्त्री मोदी
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समा लेख्दै भनेका छन्, "अहमदाबादको यो दुःखद घटनाले हामीलाई स्तब्ध तुल्याउनुका साथै दुःखी पनि बनाएको छ। यो शब्दमा व्यक्त नै गर्न नसकिने गरी हृदयविदारक घटना हो।
"यो दुःखको घडी हो र यसबाट प्रभावित सबैमा मेरो सहानुभूति छ।
म प्रभावितहरूलाई सघाउन लागि परेका मन्त्री तथा अधिकारीहरूसँग सम्पर्कमा रहेको छु।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।