तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
सबिन महर्जनको शव परिवारले बुझ्न मानेन, घातक बल प्रयोग गरेको भन्दै प्रहरीमाथि प्रश्न
- Author, विनिता दाहाल
- Role, बीबीसी न्यूज नेपाली
शुक्रवार तीनकुनेमा गोली लागेर ज्यान गुमाएका कीर्तिपुरका २९ वर्षीय सबिन महर्जनको शव बुझ्न परिवारले मानेको छैन।
कीर्तिपुरस्थित घरबाट गाडी लिन भनेर "बल्खु हिँडेका" आफ्ना भतिजाको तीनकुनेमा ज्यान गएको खबर आएको महर्जनका काका विकास महर्जनले बीबीसीलाई बताए।
"मजदुरी गरेर खाने चालक मान्छे, त्यस्तो घटनामा परेछ। अब श्रीमतीले आजीवन रोजगारी पाओस्, छोरीले पढ्न चाहे जति पढ्न पाओस् अनि राज्यले शहीद घोषणा गरोस्," काका विकास महर्जनले भने।
"त्यसको लिखित प्रतिबद्धता सरकारले हामीलाई दिनुपर्यो। त्यसपछि मात्रै हामी शव बुझ्छौँ।"
सबिन महर्जनकी पत्नी भविषा ठकुरी मल्लसहित आफूहरूले परिवारको माग शनिवार गृहमन्त्री रमेश लेखकसमक्ष समेत राखेको महर्जनले बताए। माग सम्बोधन नहुँदासम्म परिवार शव बुझ्ने पक्षमा नभएको विकास महर्जनले बताए।
उनका अनुसार गृहमन्त्रीले उक्त माग आफूले व्यक्तिगत रूपमा पूरा गर्न नसक्ने भन्दै आफूले मन्त्रिपरिषद्मा कुरा राख्ने आश्वासन दिए।
अहिलेसम्म पीडित परिवारलाई भेट्न नगरपालिकाका पदाधिकारीहरू आएका तर केन्द्रीय सरकारका तर्फबाट कोही पनि नआएको महर्जनले बताए।
सबिन महर्जनलाई कसरी गोली लाग्यो
गृह मन्त्रालयले शुक्रवार तीनकुने क्षेत्रमा पूर्वराजाका समर्थकहरूले हिंसात्मक गतिविधि गरेको आरोप लगाएको थियो।
सोमवार प्रतिनिधिसभामा उक्त घटनाबारे उच्चस्तरीय छानबिनको माग हुनुपर्ने माग उठ्यो।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले तीनकुने घटनामा सरकार कुनै एक पक्षलाई दोष दिएर उम्किन नपाउने बताए। "सबिन महर्जनलाई गोली लागेको छ। ऊ ढुङ्गा हानिराखेको थिएन, ऊ हिँडेर फर्किराखेको थियो, सुरक्षाकर्मीतर्फ पनि अघि बढिराखेको थिएन," उनले भने।
"ऊ आफ्नो साथीभाइतर्फ फर्किराखेका बेलामा पछाडिबाट गोली लागेको छ…. ऊ भागिराखेको पनि थिएन, दौडिराखेको पनि थिएन…[सामाजिक] सञ्जालमा छ्यापछ्याप्ती भिडिओ देख्न पाइन्छ," झाले भने।
सामाजिक सञ्जालमा प्रेषित र केही टेलिभिजन च्यानलले सबिन महर्जनमाथि गोली प्रहार भएको दाबी गर्दै प्रसारित गरेको एउटा भिडिओ बीबीसीले पनि हेरेको छ।
टाढाबाट खिचिएको उक्त भिडिओमा प्रहरीले पछाडिबाट गोली चलाएको र सडकमा उभिएका एक व्यक्ति ढलेको देखिन्छ। यद्यपि बीबीसीले उक्त भिडिओको आधिकारिकता पुष्टि गरेको छैन।
प्रहरीमाथि तेर्सिएका प्रश्नहरू
परिस्थिति प्रतिकूल नहुँदै प्रहरीले अनावश्यक घातक बल प्रयोग गरेका कारण सबिन महर्जनलाई गोली लागेको र उनको ज्यानै गएको भन्दै कतिपयले सामाजिक सञ्जालमा टिप्पणी गरेका छन्।
घटना भएलगत्तै सुरक्षा निकायले अस्पताल नपुर्याएको भन्दै आलोचना पनि भएको छ। प्रहरीले मिति गुज्रिसकेका अश्रुग्यास शेलहरू प्रहार गरेको दाबीबारे पनि प्रश्न उठेको छ।
काठमाण्डू उपत्यका प्रहरी कार्यालयले आवश्यक नपरी प्रहरीले बल प्रयोग नगर्ने र शुक्रवारको घटनाबारे अनुसन्धानले निष्कर्ष निकाल्ने जनाएको छ।
विगतमा त्यस्तो राजनीतिक कार्यक्रममा सबिन महर्जन कहिल्यै नगएको उनको परिवारको दाबी छ।
उनका काकाका अनुसार उनी कसरी तीनकुने पुगे भन्ने जानकारी पनि उनीहरूसँग छैन।
मानव अधिकार आयोग र सरकार के भन्छन्
राष्ट्रिय मानव अधिकार आयोगले शुक्रवारको घटनाको अनुसन्धान र अनुगमन जारी रहेको र दुईतीन दिनभित्र नै सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाइने जनाएको छ।
अनुसन्धानकै क्रममा सोमवार महर्जनको घरमा पीडित परिवारलाई भेट्न जाने तयारी रहेको आयोगकी सदस्य लिली थापाले बताइन्।
"यसमा कसको संलग्नताबाट ज्यान गयो भन्ने स्पष्ट भइसकेको छैन। अनुसन्धानको पाटो बाँकी नै छ। हामीले निष्पक्ष छानबिनको माग गरेका छौँ। सरकारलाई हिंसात्मक काममा संलग्न जोकोहीलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न आग्रह गरेका छौँ।"
यसअघि घटना भएकै दिन आयोगले झडपमा प्रहरी र प्रदर्शनकारी दुवैतर्फ घाइते भएको भन्दै हिंसात्मक कार्यमा संलग्न जोकोहीलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न सरकारलाई आग्रह गरेको थियो।
प्रहरीले गोली चलाउँदा महर्जन र तीनकुनेमै एउटा भवनभित्र बसेर बाहिरको दृश्य छायाङ्कन गरिरहेका टेलिभिजनकर्मी सुरेश रजकको उक्त भवनमा आगो लगाइपछि मृत्यु भएको थियो।
सोमवार प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनामा कसैले "उन्मुक्ति नपाउने" बताएका छन्।
घटना भएकै दिन राति बसेको मन्त्रिपरिषद्को बैठकले प्रदर्शनका क्रममा भएको तोडफोड, आगजनी र मृत्युको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको थियो।
उक्त निर्देशनपछि के काम भयो त?
गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले बीबीसीसँग प्रहरीले त्यसबारे अनुसन्धान गरिरहेको र निष्कर्ष नआई केही भन्न नसकिने बताएका छन्।
प्रहरीले कुन अवस्थामा घातक बल प्रयोग गर्न सक्छ
मानव अधिकार कानुनका ज्ञाता वरिष्ठ अधिवक्ता राजु चापागाईँले शुक्रवारको घटनाबारे अहिले केही भन्न नसकिए पनि प्रहरीले अनावश्यक बल प्रयोग गरेको घटना विगतमा थुप्रै भएका बताएका छन्।
"समग्रमा अर्को तर्फबाट पनि हिंसात्मक घटनाहरू भएका छन्। त्यो पनि कारबाहीको दायरामा आउनुपर्छ। यता प्रहरीले पनि अत्यधिक बल प्रयोग गरेको छ भने त्यो पनि छानबिनको विषय बन्नुपर्छ," उनले भने।
प्रहरीले कुन अवस्थामा बल प्रयोग गर्न सक्छ भन्ने विषय स्थानीय प्रशासन ऐन, २०२८ मा समेटिएको छ।
उक्त ऐनमा कुनै सभा, जुलुस वा भिडले हिंसात्मक वा ध्वंसात्मक प्रवृत्ति लिई त्यसको कुनै कामकारबाहीबाट शान्ति भङ्ग हुने सम्भावना देखिएमा प्रहरीद्वारा रोक्न लगाउने र प्रहरीले नियन्त्रण गर्न नसकेकोमा सम्बन्धित ठाउँका प्रमुख जिल्ला अधिकारीको अग्रसरतामा कानुन कार्यान्वयन गराउनुपर्ने उल्लेख छ।
उक्त कानुनमै "शान्ति कायम गर्न नसकिने अवस्था देखिएमा र गोली चलाउनुपर्ने आवश्यकता परेमा सो गर्नुभन्दा अगाडि भिडलाई 'हट्दैनौ भने गोली चलाइने छ' भनी स्पष्टसँग सो भिडले बुझ्ने गरी चेतावनी दिने र त्यति गर्दासमेत भिड हटेन र गोली चलाउनुपर्ने नै भयो भने घुँडामुनि पारी गोली चलाउनुको निमित्त आदेश लेखी सही गरिदिने" उल्लेख छ।
कर्फ्यू आदेश जारी भएको अवस्थामा स्थितिलाई नियन्त्रणमा राख्न प्रमुख जिल्ला अधिकारीले "कर्फ्यू तोड्ने व्यक्ति वा जमातमाथि गोली चलाउन प्रहरीलाई आदेश दिन सक्ने छ" भनिएको छ।
तर सामाजिक सञ्जालमा प्रेषित भिडिओमा सबिन महर्जनमाथि गोली प्रहार हुँदा त्यस्तो प्रतिकूल परिस्थिति नरहेको देखिएको धेरैको टिप्पणी छ।
वरिष्ठ अधिवक्ता राजु चापागाईँ दण्डहीनताका कारण दोषी देखिए पनि कार्यान्वयन नहुँदा बल प्रयोगका घटना विगतदेखि नै बारम्बार दोहोरिने गरेको बताउँछन्।
"अत्यधिक प्रयोग गर्नु भनेको मानवअधिकारको उल्लङ्घन हो। अब मानव अधिकार आयोगले पनि त्यो विषयमा त्यति धेरै हेरेको देखिँदैन," उनले भने।
"जबाफदेही बनाउने प्रभावकारी संयन्त्र छैन। प्रहरीले गरेको गल्तीको निष्पक्ष अनुसन्धान पनि हुँदैन।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।