फिनल्यान्ड नयाँ सदस्य भएसँगै नेटोको रुससँगको सीमा दोबर

तस्बिर स्रोत, NATO
फिनल्यान्ड नेटो सैन्य गठबन्धनको ३१औँ सदस्य भएसँगै नेटो देशहरूसँग रुसको सीमाको लम्बाइ दोबर भएको छ।
मङ्गलवार फिनल्यान्डका विदेशमन्त्रीले सदस्यताका लागि आवश्यक दस्तावेज अमेरिकी विदेशमन्त्रीलाई हस्तान्तरण गरे जसले फिनल्यान्डलाई नेटो सदस्य घोषणा गरेका थिए।
नेटो सदस्य राष्ट्र थपिएको यो घटना रुसी राष्ट्रपति पुटिनका लागि एउटा धक्का हो।
उनले युक्रेनमा पूर्ण रूपको अतिक्रमण सुरु गर्नुअघि बारम्बार नेटो विस्तारको आलोचना गरेका थिए।


रुसको प्रतिक्रिया के छ?
रुससँगको पूर्वी मोर्चामा १,३४० किलोमिटर लामो सीमा रहेको फिनल्यान्डले गत मे महिनामा रुसको युद्धलाई कारण बताउँदै स्विडनसँगै सदस्यताका लागि औपचारिक आवेदन दिएको थियो।
क्रेमलिनका प्रवक्ता दिमित्री पेश्कोभले फिनल्यान्डमा विकसित घटनाक्रमलाई रुसले “नजिकबाट हेर्ने” जनाएका छन्।
उनले नेटोको फैलावटलाई “आफ्नो राष्ट्रिय सुरक्षा र राष्ट्रिय स्वार्थको उल्लङ्घन” बताए।
फिनल्यान्ड र स्विडन दुवैले यसअघि असंलग्नताको नीति लिएका थिए।


नेटोको धारा ५ मा के छ?

तस्बिर स्रोत, OLIVIER MATTHYS/EPA-EFE/REX/SHUTTERSTOCK
युक्रेन अतिक्रमणपछि भने फिनल्यान्ड र स्विडन दुवैले नेटोको धारा पाँचबाट सुरक्षित हुने विकल्प रोजे जसले एक नेटो सदस्यमाथि हुने हमला सबैमाथिको हमला ठान्छ।
जसको अर्थ अब यदि फिनल्यान्डमाथि अतिक्रमण वा हमला भयो भने अमेरिका सहितका सबै नेटो सदस्य उसलाई सघाउन आउनेछन्।
रुसको अतिक्रमणका कारण नेटोमा संलग्न हुने फिनल्यान्डको जनमत बढेर ८० प्रतिशत पुगेको थियो।
नेटो महासचिव येन्स स्टोलटेनबेर्गले मङ्गलवार संवाददाताहरूसँग भने, "यसले फिनल्यान्डलाई सुरक्षित र नेटोलाई बलियो बनाउनेछ।"
'पुटिनलाई धन्यवाद'
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले आफू "यो पुटिनलाई धन्यवाद दिने एउटा कुरा हुनसक्ने भनेर भन्न हौसिएको" बताए।
टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआनले स्टकहोमलाई कुर्दिस लडाकुहरूलाई स्वीकारिरहेको र उनीहरूलाई सडकमा प्रदर्शन गर्न दिएको भनेपछि स्विडनको आवेदन भने अहिले रोकिएको छ।
हङ्गेरीले समेत स्विडनको आबद्धताको चाहनालाई स्वीकृति दिन बाँकी छ।
फिनल्यान्डको सदस्यताको आवेदनलाई भने नेटोका सबै सदस्य राष्ट्रहरूले गत बिहीबार अनुमोदन गरेका थिए।











