ग्राहकको १८ किलो सुन लुटिएपछि पैसा तिर्ने 'तयारी'मा राष्ट्रिय वाणिज्य ब्याङ्क

राष्ट्रिय वाणिज्य ब्याङ्क

तस्बिर स्रोत, RBB,BBC

    • Author, अशोक दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

जेनजी प्रदर्शनका क्रममा नयाँ बानेश्वरस्थित संसद् भवनसँगैको राष्ट्रिय वाणिज्य ब्याङ्कबाट ३८ करोड रुपैयाँभन्दा बढीको नगद र गरगहना लुटपाट भएको ब्याङ्कका अधिकारी र प्रहरीले बताएका छन्। जसमध्ये हालसम्म ३२ लाख बराबरको सम्पत्ति मात्रै बरामद भएको प्रहरीले जनाएको छ।

ब्याङ्कबाट कर्जा लिनेहरूले धरौटी स्वरूप राखेका सुनका गरगहना भदौ २४ को प्रदर्शनका क्रममा लुटिएको थियो। सुरक्षित कोठाभित्र राखिएको भल्ट फोडेर करिब १८ किलो सुनका गरगहना चोरी भएको उजुरी प्रहरी, अर्थ मन्त्रालय र राष्ट्र ब्याङ्कलाई दिइएको ब्याङ्कका अधिकारीले बताएका छन्।

चोरिएको सुनमध्ये करिब ७०० ग्राम मात्रै हालसम्म बरामद भएको अधिकारीहरूले बताएका छन्। बाँकी सुन भेटिएन भने ब्याङ्कमा धरौटी राखेका व्यक्तिहरूले आफ्नो सम्पत्ति फिर्ता पाउँछन् कि पाउँदैनन्?

राष्ट्रिय वाणिज्य ब्याङ्कका प्रमुख कार्यकारी निर्देशक देवेन्द्ररमण खनाल ग्राहकले जमानतमा राखेको गरगहना बापतको क्षतिपूर्ति दिने तयारी भइरहेको बताउँछन्।

"ग्राहकहरूले ल्याएर राख्नुभएको सुन चोरी भएको छ। हामी एउटा निर्णय गरेर उहाँहरूलाई सुन नै दिन नसके पनि त्यस बराबरको नगद दिन्छौँ। त्यसका लागि एउटा समिति पनि बनेको छ," खनालले बीबीसी न्यूज नेपालीसँग भने।

"सबभन्दा चाहिँ महत्त्वपूर्ण कुरा चाहिँ गहनासँग आफ्नो एउटा भावनात्मक सम्बन्ध पनि जोडिएको हुन्छ। त्यही गहना चाहिँ हामीले फिर्ता गर्न सकेनौँ।"

यसअघि माओवादी सशस्त्र द्वन्द्वका क्रममा पनि कतिपय ब्याङ्कहरू लुटिएका थिए। त्यसबेला पनि ब्याङ्कहरूले जिम्मा लिएर राखेका ग्राहकका गरगहना र नगदको क्षतिपूर्ति दिइएको उनले बताए।

गरगहनाको क्षतिपूर्ति रकम अहिलेको बजारभाउ अनुसार दिने वा धितो राख्दा कायम गरिएको मूल्याङ्कन अनुसार दिने भन्ने टुङ्गो लाग्न बाँकी रहेको प्रमुख कार्यकारी अधिकृत खनालले बताए।

"अन्यत्रका अभ्यास पनि हामी हेर्दैछौँ। त्यो समितिले के गर्दा उपयुक्त हुन्छ त्यही अनुसार यसको टुङ्गो लगाउँछ," उनले भने।

ब्याङ्कले पनि बीमाबाट लिन्छ भुक्तानी

राष्ट्रिय वाणिज्य ब्याङ्कको नयाँ बानेश्वर शाखा
तस्बिरको क्याप्शन, राष्ट्रिय वाणिज्य ब्याङ्कको नयाँ बानेश्वर शाखा कार्यालय रहेको भवन सङ्घीय संसद् भवन रहेको परिसरसँगै छ

आफ्नो एउटा शाखाबाट मात्रै ३८ करोड रुपैयाँभन्दा बढीको धनमाल गुमाएको राष्ट्रिय वाणिज्य ब्याङ्कले आफ्नो ब्याङ्कमा गरगहना धरौटी राखेका व्यक्तिहरूलाई क्षतिपूर्ति बापत दिने रकम आफूले हाल्नु पर्दैन।

"हामीले यस्तै परिस्थितिहरूको जोखिमका लागि बीमा गरेका हुन्छौँ। हाम्रो पूर्ण बीमा छ र हामीले बीमा दाबी पनि गरिसकेका छौँ," ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत खनालले भने।

ब्याङ्कले आफूलाई भएको क्षतिको धेरै किस्ता बीमाबाट पाउने भएका कारण सञ्चालक वा ब्याङ्कका शेअर लगानीकर्तालाई त्यसले उल्लेख्य घाटा नपुर्‍याउने उनले बताए।

बैङ्क सञ्चालकहरूको छाता सङ्गठन नेपाल ब्याङ्कर्स असोसिएसनका पूर्व अध्यक्ष भुवन दाहाल ब्याङ्कहरूले आफ्नो कार्यालयमा भएको नगद र धितोको पनि बीमा गराउने गरेको बताउँछन्।

"ब्याङ्कहरूले दङ्गाहरूबाट हुनसक्ने क्षतिको पनि परिपूरण हुने गरी बीमा गरेका हुन्छन्। ब्याङ्कहरूले आफूसँग एक-दुई प्रतिशतभन्दा धेरै नगद राख्दैनन्। त्यो नगददेखि हरेक सामानको बीमा गरेका हुन्छन्," दाहाल भन्छन्।

ब्याङ्कहरूमा व्यक्तिले जम्मा गरेको निक्षेपको पनि निश्चित रकमसम्म बीमा हुने गरेको छ।

तर ब्याङ्कहरूले व्यक्तिका निजी सामग्री वा सम्पत्ति राख्न उपलब्ध गराउने व्यक्तिगत लकरमा भएका सामग्रीको भने बीमा नहुने ब्याङ्करहरूले बताए।

लकरमा भएको सामान चोरी भए भुक्तानी पाइन्छ?

लकर र गरगहनाको प्रतिकात्मक तस्बिर

राष्ट्रिय वाणिज्य ब्याङ्कको नयाँ बानेश्वर शाखाको भल्ट फुटाएर नगद र गरगहना चोरी भए पनि ब्याङ्कको लकरमा मानिसहरूले सुरक्षाका लागि राखेका सामग्रीहरू सुरक्षित रहेको ब्याङ्कले जनाएको छ।

"लकरमा चाहिँ केही पनि क्षति भएको छैन। त्यहाँ राखिएका सामानहरू सुरक्षित नै रहेको पाइयो," प्रमुख कार्यकारी अधिकृत खनाल भन्छन्। ब्याङ्कहरूले व्यक्तिका बहुमूल्य सामग्री वा गरगहना सुरक्षित रूपमा राख्नका लागि निश्चित रकम लिएर उपलब्ध गराउने विशेष सुरक्षा सहितका दराजका कोठालाई लकर भन्ने गरिन्छ।

ब्याङ्कमा निश्चित सेवा शुल्क तिरेपछि मानिसहरूले आफ्नो सामान राख्नका लागि ब्याङ्कका निश्चित शाखाहरूमा एउटा सानो स्थान पाउँछन्। त्यस्तो समान राख्ने भागको साँचो एउटा लकर धनीसँग र अर्को ब्याङ्कसँग हुन्छ।

"एउटै साँचोले मात्र त्यस्तो लकर खुल्दैन। ब्याङ्कसँगकोले मात्रै पनि खुल्दैन र ग्राहकसँगको मात्रैले पनि खुल्दैन। त्यसलाई हामी डबल की लक प्रणाली भन्छौँ। यदि यहाँले वा यहाँको ब्याङ्कले त्यसको एउटा मात्रै साँचो हराउनु भयो भने पनि त्यो फोड्नै पर्छ," दाहाल भन्छन्।

लकरमा राखिने सामग्री ब्याङ्कका प्रतिनिधिलाई देखाउन जरुरी हुँदैन। तर त्यस्तो लकरमा राखिएको सामग्री गैर कानुनी नभएको स्वघोषणा भने यस्तो सुविधा लिएका लकर धनीले गर्नुपर्छ।

"लकर भनेको हामीले स्थान मात्रै दिने हो। त्यसमा उहाँहरूले नै सामान ल्याएर राख्ने हो। त्यहाँ कसले के राखेको छ भन्ने पनि हामीलाई थाहा हुँदैन। त्यसकारणले त्यसको चाहिँ ब्याङ्कले बीमा गर्दैन," वाणिज्य ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत खनालले भने।

पर्याप्त स्थान, उच्च सुरक्षा लगायतका व्यवस्था गर्नुपर्ने भएका कारण ब्याङ्कहरूका सबै शाखामा लकर सुविधा नहुने ब्याङ्करहरू बताउँछन्। उनीहरूका अनुसार लकर राखिएको कोठामा प्रवेशका लागि बलियो सुरक्षा सहितको ढोका राखिएको हुन्छ। त्यसभित्र पनि लकरहरूको अलगअलग साँचो हुन्छ।

"लकर गोप्य चिज राख्नका लागि दिएको सुविधा हो। त्यस कारण त्यहाँ के राखिएको छ भनेर ब्याङ्कलाई पनि थाहा हुँदैन र त्यहाँ राखिएको सामग्रीको मूल्य थाहा नहुने भएका कारण ब्याङ्कले त्यसको बीमा पनि गर्दैन। लकर भनेको सुरक्षित रूपमा राख्ने दायित्व मात्रै ब्याङ्कले लिएको हो," सानीमा ब्याङ्कमा प्रमुख कार्यकारी अधिकृत रहेर काम गरिसकेका दाहाल भन्छन्।

प्रहरीले कसरी खोज्दै छ लुटिएको धन?

राष्ट्रिय वाणिज्य ब्याङ्कको नयाँ बानेश्वर शाखामा भएको तोडफोड

राष्ट्रिय वाणिज्य ब्याङ्कबाट धनमाल लुटिएको घटनामा अनुसन्धान गरिरहेको प्रहरीले हालसम्म ३२ लाख रुपैयाँ बराबरको नगद र सुन बरामद गरिएको जनाएको छ। प्रहरीका अनुसार उक्त घटनामा संलग्न भएको आशङ्कामा पक्राउ परेका तीन जना व्यक्तिहरूबाट करिब ७०० ग्राम सुन बरामद भएको छ।

पक्राउ परेकामध्ये एक जनालाई अदालतले थुनामा पठाएको छ भने अर्का एक जना अनुसन्धानकै क्रममा छन्। बाँकी एक जना नाबालक रहेका कारण तारेखमा छुटेको जिल्ला प्रहरी परिसर काठमाण्डूका सूचना अधिकारी पवनकुमार भट्टराईले जानकारी दिए।

प्रहरीका अनुसार प्रदर्शनका क्रममा ब्याङ्कका सीसीटीभीसहित नयाँ बानेश्वर क्षेत्रका कैयौँ सीसीटीभी क्यामरामा क्षति पुगेका कारण अनुसन्धानका लागि समय लागेको छ।

"हामीले व्यक्तिहरूले खिचेका भिडिओहरू, सामाजिक सञ्जालमा राखिएका भिडिओबाट व्यक्तिहरूको पहिचान गर्ने र आसपासका क्षेत्रहरूबाट सीसीटीभीमा कैद भएका दृश्य सङ्कलन गरेर अनुसन्धान गरिरहेका छौँ," भट्टराई भन्छन्।

उनले त्यहाँबाट रकम र गरगहना चोरी गरेका व्यक्तिहरूबारे अन्य व्यक्तिले दिएका सूचना पनि विश्लेषण भइरहेको बताए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।