तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अलास्का वार्तामा 'केही प्रगति भएको' बताएका ट्रम्पद्वारा युद्धविरामभन्दा शान्ति सम्झौता चाहेको भनाइ
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अस्थायी युद्धविरामभन्दा रुस-युक्रेन युद्ध रोक्ने स्थायी शान्ति सम्झौता आफ्नो रोजाइमा पर्ने बताएका छन्।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अलास्कामा भएको भेटवार्तामा कुनै सम्झौता हासिल नभएपछि फर्किएका ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै युद्धविरामहरू 'अधिकांश चोटि बेकम्मा' हुने गरेको टिप्पणी गरेका छन्।
वार्तामा युद्धविराम पनि हुन नसकेको भनेर चर्चा भइरहेका बेला उनले यसो भनेका हुन्।
वाशिङ्टन फर्कँदा उडानका क्रममै ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग लामो टेलिफोन वार्ता गरे।
ट्रम्पसँग थप कुराकानी गर्न आफू सोमवार वाशिङ्टन जाने जेलेन्स्कीले बताएका छन्।
यसअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अलास्कामा भएको दीर्घप्रतीक्षित बैठक कुनै पनि सहमतिमा नपुगी टुङ्गिएको थियो।
अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेन युद्ध अन्त्य गर्नेबारे पुटिनसँगको वार्तामा केही प्रगति भए पनि "कुनै सम्झौतामा नपुग्दासम्म सहमति भएको भन्न नसकिने" बताएका थिए।
दुई देशका राष्ट्रपतिहरूबीचको करिब तीन घण्टा लामो वार्तापछि पुटिनले युद्ध अन्त्यका लागि आफू "गम्भीर र इच्छुक" रहेको बताएका थिए। तर रुसको "वैध सुरक्षा चासो सम्बोधन हुनुपर्ने" उनको भनाइ थियो।
दुवै जनाले सहमति हुन नसकेका विषयबारे विस्तृत विवरण दिएका छैनन्। उनीहरूले वार्तापछि पत्रकार सम्मेलन गरे तर पत्रकारहरूबाट प्रश्न लिएनन्।
रुस नजिकैको उक्त अमेरिकी राज्यमा भएको वार्तापछि पुटिन रुस र ट्रम्प राजधानी वासिङ्टन डीसी फर्किएका छन्।
ट्रम्पले बैठक "निकै राम्रो" भएको प्रतिक्रिया दिँदै "एउटा ठूलो विषय"का कारण सम्झौता रोकिएको बताए। तर उनले सम्झौता रोक्ने विषय के हो भन्नेबारे खुलाएनन्।
ट्रम्पले दुई देशका युद्धबन्दी आदानप्रदानबारेको सम्झौता चाहिँ छिट्टै हुनसक्ने सङ्केत गरेका छन्।
वार्तापछि फक्स न्यूजसँग कुरा गर्दै ट्रम्पले भने, "उनीहरूले मलाई हजारौँ बन्दीको सूची भएको पुस्तक दिएका छन्। हजारौँ युद्धबन्दीहरू रिहा हुनेछन्।"
बन्दी रिहाइको प्रस्ताव स्वीकार गर्न बाँकी रहेको जानकारी दिँदै ट्रम्पले "उक्त पुस्तक" मा रुस वा युक्रेन कसका युद्धबन्दीहरूको विवरण रहेको भन्नेबारे खुलाएनन्।
वार्ताअघि ट्रम्पले युद्धविरामको घोषणा नभए आफू खुसी नहुने बताएका थिए।
तर कुनै पनि राष्ट्रपतिले त्यस्तो सहमतिबारे कुरा गरेनन्। ट्रम्पले आफूहरू "त्यहाँसम्म नपुगेको" प्रतिक्रिया दिएका थिए।
युक्रेनको भूभाग गुम्ने सम्झौता हुने ठानिएको वार्तामा कुनै सहमति नहुँदा किएभमा भने राहत महसुस भएको बीबीसी संवाददाताले जनाएका छन्।
ट्रम्प-पुटिन वार्तामा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भने आमन्त्रण गरिएको थिएन। ट्रम्पले आफूले जेलेन्स्की र युरोपेली नेताहरूलाई वार्ता पछि सम्पर्क गर्ने बताएका थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।