ट्रम्पले डाकेको आकस्मिक बैठकमा के भयो? इजरेलले चाहेको एक अमेरिकी अस्त्र जसले बदल्न सक्छ युद्धको परिणाम

तस्बिर स्रोत, Reuters
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउसको सिचुएसन रुममा एक आकस्मिक बैठक डाकेर इजरेलले थालेको इरानविरुद्धको युद्धमा अमेरिकी संलग्नताबारे छलफल गरेका छन्।
करिब १ घण्टा २० मिनेट चलेको उक्त बैठकमा इरानका परमाणु केन्द्रहरूमा हमला गर्ने कार्यमा इजरेलको साथमा अमेरिका सामेल हुनेबारे छलफल भएको बीबीसीको अमेरिकी सञ्चार साझेदार सीबीएस न्यूजले जनाएको छ।
उक्त अजेन्डामा ट्रम्पका निकट सल्लाहकारहरूमाझ मतैक्य नभएको बताइएको छ।
अमेरिकी अस्त्र जसले बदल्न सक्छ युद्ध परिणाम

तस्बिर स्रोत, Reuters
सो छलफलमा इरानको फोर्दोस्थित जमिनभन्दा निकै मुनि भूमिगत युरेनिअम प्रशोधन केन्द्रलाई निसाना बनाउनेबारे कुराकानी भएको बीबीसीका उत्तर अमेरिका संवाददाता जेक क्वनले बताए।
जमिनभन्दा त्यति मुनि रहेको स्थललाई ध्वस्त पार्ने क्षमता केवल अमेरिकासँगमात्र रहेको बताइन्छ।
बीबीसीका सुरक्षा संवाददाता फ्र्याङ्क गार्डनरका अनुसार त्यो अस्त्र भनेको ३० हजार पाउन्ड क्षमताको बम हो।
पहाडको ९० मिटर मुनि गहिराइमा निर्मित इरानको परमाणु केन्द्र ध्वस्त पार्ने क्षमता जीबीयू-५७ एमओपी नाम भएको उक्त मासिभ अर्डनान्नस पेनिट्रेटर बमसँग मात्र भएको बताइन्छ।
त्यसले जमिनभन्दा ६१ मिटर मुनिसम्म प्रहार गर्न सक्ने अनि निरन्तर प्रहार गर्दा त्योभन्दा तलसम्म असर पार्न सक्ने बताइन्छ।
सीबीएस न्यूजका अनुसार राष्ट्रपतिका सल्लाहकारहरू अब के गर्ने भन्ने बारे अझै विभाजित छन्।
गत तीन दिनमा कम्तीमा ३० वटा अमेरिकी सैन्य ट्याङ्कर एअरक्राफ्ट – लडाकू जेट तथा बमवर्षकहरूलाई इन्धन भर्नका निम्ति आवश्यक – युरोपमा पठाइएको छ।
इरानले 'सम्झौता नगर्ने'
मङ्गलवार राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा टिप्पणी गर्दै इरानलाई 'निशर्त आत्मसमर्पण' गर्न आह्वान गरे।
तर इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईले सामाजिक सञ्जालबाटै त्यसको जबाफ दिए। आफ्नो देशले 'जायोनिस्टहरूसँग कहिल्यै सम्झौता नगर्ने' उनले बताए। जायोनिज्म भन्नाले यहुदीहरूको स्वतन्त्र राष्ट्र इजरेलको समर्थन भन्ने बुझिन्छ।
उनले 'अब लडाइँ सुरु भएको' पनि टिप्पणी गरे। तत्कालका निम्ति उनको हत्या योजना अमेरिकाले रोकेको ट्रम्पले बताएपछि उनको टिप्पणी आएको हो।
यसबीच इरानको अर्धसरकारी सञ्चारमाध्यम मेहरले सामाजिक सञ्जाल एक्समा इरानले इजरेलतर्फ 'फताह १' नामक क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ।
सरकारी प्रेस टीभीले पनि इस्लामिक रिभोलुशनरी गार्ड्स कोर (आईआरजीसी)लाई उद्धृत गर्दै भनेको छ, "कारबाहीको पछिल्लो चरण 'अति महत्त्वपूर्ण' रहेको आईआरजीसीले बताएको छ। पहिलो पुस्ताको फताह क्षेप्यास्त्र प्रहारले इजरेलको 'मिथकीय' क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको 'अन्त्यको सुरुवात' गर्नेछ।"
फताह क्षेप्यास्त्र सन् २०२३ मा पहिलोपटक प्रदर्शित गरिएको थियो र त्यसको नामाकरण सर्वोच्च नेताले गरेका थिए।
आईआरजीसीले उक्त क्षेप्यास्त्रलाई 'इजरेल-मारक' भन्ने गरेको छ। त्यसको पहिलो प्रदर्शनका बेला तेहरानमा ठूलो ब्यानर झुण्डाइएको थियो जसमा हिब्रु भाषामा लेखिएको थियो: '४०० सेकेन्डमा तेल अभिभ।'
आईआरजीसीले फताहलाई हाइपरसोनिक वा ध्वनिभन्दा पनि धेरै तीव्र गतिको क्षेप्यास्त्र भन्ने गरेको छ। तर त्यसको वास्तविक क्षमताबारे सैन्य विश्लेषकहरूले शङ्का गर्ने गर्छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








