के सगरमाथा एक सातामा चढ्न सकिन्छ

सगरमाथा

तस्बिर स्रोत, Getty Images

    • Author, भेडरना सिमिचेभिच

एउटा व्यावसायिक आरोहणले जेनन ग्यासको सहयोगमा मानिसहरूलाई रेकर्ड राख्ने गरी विश्वको सबैभन्दा अग्लो हिमालमा पुर्‍याउने योजना बनाइरहेको छ। तर आरोहण र चिकित्सा क्षेत्रका केही व्यक्तिहरू भने यो रणनीति अनावश्यक खेल हो कि भनेर चिन्तित छन्।

सन् १९५३ मा तेन्जिङ नोर्गे र एडमन्ड हिलारीले सगरमाथाको पहिलो सफल आरोहण गरेका थिए, उनीहरूलाई त्यति बेला शिखरमा पुग्न दुई महिनाभन्दा बढी समय लागेको थियो। त्यो उचाइमा अत्यधिक कम हावामा अभ्यस्त हुन टोली बिस्तारै माथि गएको थियो र धेरै हप्ता बिताएको थियो।

आधार शिविरमा पुगेपछि उनीहरूले शिखरमा पुग्नुअघि डोरीहरू जडान गर्न, भर्‍याङ बिछ्याउन र अझ अग्लो शिविरहरू स्थापना गर्न पहाडको माथि र तल छोटो यात्रा गर्दै सात हप्ता बिताए।

अहिले भने शेर्पाहरूको टोलीले कोसौँसम्म बाटोमा राखेका लामा डोरीहरू र व्यावसायिक पथप्रदर्शक कम्पनीहरूले तयार पारेको चलाखीपूर्ण बन्दोबस्तले गर्दा हरेक वर्ष सयौँ पर्वतारोहीहरू सगरमाथा आरोहण गर्न सक्छन्। तर धेरैजसोलाई सगरमाथा आरोहण गर्न लाग्ने समय त्यो पहिलो आरोहणयता नाटकीय रूपमा परिवर्तन भएको छैन।

धेरै पर्वतारोहण समूहले अझै पनि व्यापक अनुकूलनका साथ शिखरमा पुग्न लगभग दुई महिना समय दिन सिफारिस गर्छन्। यद्यपि यो मौसम, पहाडमा ट्राफिक र आरोहीको तन्दुरुस्तीसहित विभिन्न कारकहरूमा निर्भर गर्दछ। आधार शिविरमा पदयात्रा गर्न एक हप्तासम्म लाग्न सक्छ तर त्यहाँ पुगेपछि धेरैजसो मानिसहरूलाई शिखरमा पुग्न औसतमा लगभग ४० दिन लाग्छ । तर केही कम्पनीहरूले द्रुत-ट्र्याक आरोहणहरू पनि प्रस्ताव गर्छन् जसले दुई हप्ता भन्दा कम समयमा मानिसहरू त्यहाँ पुग्ने दाबी गर्छन्।

तर यो मौसममा एउटा कम्पनीले सगरमाथा आरोहण गर्न चाहनेहरूलाई लन्डनको विमानस्थलबाट सुरु गरेर एक हप्तामा विश्वको शिखरमा पुर्‍याएर समयलाई अझ घटाउने वाचा गरेको छ। ती मानिसहरूले नेपाल आएर काठमाण्डूबाट हेलिकोप्टरमा सगरमाथा आधार शिविरमा पुगेर केही दिनमै सगरमाथा चढ्नेछन्। यसो गर्दा उनीहरूले पहाडमा गर्नुपर्ने तीन साता लामो कष्टकर समय गुजार्दैनन् जुन उनीहरूलाई त्यहाँको मौसममा अभ्यस्त हुन आवश्यक हुन्छ। एकजना व्यक्तिलाई त्यसरी छोटो समयमा गर्ने आरोहणका लागि करिब १ लाख ७० हजार डलर प्रतिव्यक्ति खर्च लाग्छ।

आरोहण समुदायमा कैयौँले शङ्काले हेरेको यो प्रस्ताव अस्ट्रियाली गाइड लुकास फर्टनबाखले ल्याएका हुन्। उनको हिमाल चढ्ने अप्रत्याशित नयाँ रणनीति एउटा नौलो जेनन ग्यासमा भर पर्नुपर्ने हुन्छ जुन कहिलेकाहीँ एनेस्थेटिकको रूपमा प्रयोग गरिन्छ।

यो तर्क तुलनात्मक रूपमा सरल छ। करिब १० वर्षअघि यो स्पष्ट भयो कि जेननको शरीरमा एउटा रोचक असर रहन्छ जसले एरिथ्रोपोएटिन भनिने प्रोटिनको उत्पादनलाई बढाउँछ। छोटकरीमा इपीओ भनेर चिनिने एरिथ्रोपोएटिन हाम्रो मिर्गौलाले अक्सिजनको मात्रा कम हुँदा उत्पादन गर्ने एउटा ग्लाइकोप्रोटिन हो।

इपीयोले हाइपोक्सियासँग लड्छ। यो एउटा त्यस्तो अवस्था हो जुन बेला शरीरले पर्याप्त अक्सिजन प्राप्त गर्न सक्दैन। उसले रातो रक्त कोशिकाहरूको सङ्ख्या र तिनीहरूसँग हुने महत्त्वपूर्ण प्रोटीन, हेमोग्लोबिन बढाउँछ जसले शरीरभरि अक्सिजन पुर्‍याउँछ। पहाडमा माथि र तल धेरै पटक गर्दा उचाइमा यो प्रक्रियाको धेरै चरणहरू हुन्छ। अर्को शब्दमा भन्दा यसलाई एक्लिमटाइजेसन भनिन्छ जसले बिस्तारै शरीरलाई कम अक्सिजनको तहमा अभ्यस्त गराउँछ।

आरोहीहरू

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, धेरै आरोहीहरू माथिल्लो उचाइमा हुने कम अक्सिजनमा शरीरलाई अभ्यस्त राख्न आधारशिविरमा धेरै समय बिताउने र हिँड्ने गर्छन्

तर जेननले त्यो अवधि छोट्याउन सक्ने दाबी गरिएको छ। आरोहण अगाडि सावधानीपूर्वक जेनन ग्यासको नियन्त्रित मात्रामा सास लिँदा त्यसले कम अक्सिजन भएको ठाउँमा हुने एक्लिमटाइजेसनको प्रभावलाई तीव्र बनाउन सम्भव हुन सक्छ। फर्टनबाखले आफैँले विगतको आरोहणका क्रममा यो परीक्षण सफलतापूर्वक गरेको बताए। तर यस्तो रणनीतिले काम गर्छ भन्ने देखाउने प्रकाशित वैज्ञानिक प्रमाणहरू एकदमै थोरै छन्। उदाहरणका लागि वैज्ञानिक अनुसन्धानको हालैको प्रणालीगत समीक्षाले मानव शरीरमा जेननको सास फेर्दा इपीओको काममा सकारात्मक प्रभाव परेको कुनै निर्णायक प्रमाण फेला पारेको छैन।

"एरिथ्रोपोएटिनमा वृद्धि हुँदा त्यो आफैँले केही गर्दैन," ब्रिटेनको ग्लास्गो विश्वविद्यालयमा उचाइ चिकित्सामा विशेषज्ञता हासिल गरेका प्राध्यापक एन्ड्रयू पिककले भने। "यस अवस्थामा प्रश्न के हो भने के यसले साँच्चै यति छोटो अवधिमा रातो रक्त कोशिकाहरूको उत्पादनलाई बढाउँछ?"

फर्टनबाखको लागि यो रणनीतिको मुख्य लक्ष्य भनेको पर्वतारोहीहरूलाई छिटो आरोहण गर्न अनुमति दिनु हो र यसरी खराब मौसम, हिमपहिरो वा बिरामी हुने जोखिम कम गर्नु हो।

"तपाईँले पहाडमा जति कम समय बिताउनुहुन्छ अभियान त्यति नै सुरक्षित हुन्छ," उनी भन्छन्।

यद्यपि, पर्वतारोही समुदायका धेरैले उनको योजनाप्रति निन्दा मिश्रित प्रतिक्रिया दिएका छन्।

फर्टनबाखले आफ्नो योजना सार्वजनिक गरेपछि अन्तर्राष्ट्रिय आरोहण तथा पर्वतारोहण महासंघ (यूआइएए) को मेडिकल कमिसनले एक चेतावनीपूर्ण विज्ञप्ति जारी गर्‍यो । यसले उच्च उचाइमा जेनन प्रयोग गर्ने सुरक्षा र दक्षताको बारेमा क्लिनिकल अनुसन्धान वा वैज्ञानिक प्रमाणको अभावको बारेमा चेतावनी दिएको थियो। उक्त निकायले गरेको अघिल्लो मूल्याङ्कनमा इपीओलाई उत्प्रेरित गर्न डिजाइन गरिएका औषधिहरूले मष्तिष्कघात वा फोक्सोसम्बन्धी समस्या निम्त्याउन सक्ने गरी रगत जम्ने जोखिमलाई सम्भावित रूपमा बढाउन सक्ने चेतावनी पनि दिइएको थियो।

केही पर्वतारोहीहरूले यो पनि औँल्याएका छन् कि रगतमा कृत्रिम रूपमा इपीओको मात्रा बढाउने जेनोनसहितको पदार्थहरू प्रतिस्पर्धी खेलहरूमा विश्व एन्टी-डोपिङ एजेन्सी (डब्लूएडीए) द्वारा प्रतिबन्धित छन्।

"हामी किन पर्वतारोहणमा त्यस्ता पदार्थहरू प्रयोग गर्छौं जुन अन्य सबै खेलहरूमा प्रतिबन्धित छन्?," अमेरिकी पर्वतारोही र प्रतिद्वन्द्वी मार्गदर्शक कम्पनी अल्पेन्ग्लो एक्सपिडिसनका मालिक एड्रियन बलिङ्गरले भने। उनको आफ्नै कम्पनीले सन् २०१९ मा मात्र १४ दिनमा पर्वतारोही रोक्सेन भोगेललाई सगरमाथाको शिखरमा पुर्‍याएको थियो जहाँ उनले जिममा उचाइका लागि अभ्यास गरिन् र आरोहणअगाडि उनलाई उचाइमा अभ्यस्त हुन मद्दत पुग्यो।

तर एन्टी-डोपिङ नियमहरू लागू नहुने व्यावसायिक निर्देशित पर्वतारोहणको संसारमा ग्राहकहरू आरोहणको शैलीको बारेमा धेरै हदसम्म उदासीन हुन्छन्। आरोही समुदायका केही व्यक्तिहरू यो कसरी सम्भव छ भनेर हेर्न उत्सुक छन्।

"यदि यो सत्य हो भने यो राम्रो हुनेछ र हामी भविष्यमा शेर्पाहरूको कामलाई सुरक्षित बनाउन जेनन प्रयोग गर्न सक्छौं," नेपालमा आधारित गाइडिङ कम्पनी एसिया ट्रेकिङका मालिक दावा स्टीभन शेर्पा भन्छन्।

आखिर पृथ्वीको सबैभन्दा कठिन वातावरणमध्ये एक यहाँ अग्लो पहाडहरूमा बाँच्नको लागि मानिसहरूले औषधिको मद्दत लिएको यो पहिलो पटक होइन।

आरोहीहरू उच्च उचाइमा चढ्दै जाँदा उनीहरूले वायुमण्डलीय चापमा कमी आएकोले गर्दा उनीहरूले सास फेर्दा अक्सिजनको कमी अनुभव गर्छन्। यस्तो किन हुन्छ भने वायुमण्डलमा हावाका अणुहरूको सङ्ख्या जति माथि पुग्यो त्यति नै घट्छ। सगरमाथा आधार शिविरबाट अलिकति माथि ५,५०० मिटरमा समुद्र सतहको तुलनामा हामीलाई सास फेर्नको लागि करिब आधा मात्रा मात्रै अक्सिजन उपलब्ध हुन्छ। ८,८५० मिटरमा रहेको सर्वोच्च शिखरमा भने सामान्य अक्सिजनको एक तिहाइमा झर्छ। एक अध्ययन अनुसार कुनै पनि दिनको मौसमले पनि प्रभाव पार्न सक्छ जसले गर्दा वायुमण्डलीय चापमा यति नाटकीय उतारचढाव आउँछ कि यो थप ७०० मिटर चढ्नु बराबर हुनेछ।

यी सबैको अर्थ आरोहीहरू आफ्नो रक्त प्रवाह र शरीरमा कम अक्सिजनमात्रै प्राप्त गर्न सक्छन्। सगरमाथामा आरोहीहरूको रगतमा अक्सिजनको स्तरको अध्ययन गर्ने अनुसन्धानकर्ताहरूले मानिसहरूमा अहिलेसम्म देखिएको सबैभन्दा कम तहमा देखिएको छ।

यदि अचानक यी अवस्थाहरूमा पुगे मानिसहरू गम्भीर रूपमा हाइपोक्सिक हुन सक्छन् जुन अवस्था सामान्यतया अस्पतालमा उपचार गराइरहेका गम्भीर बिरामीहरू वा एनेस्थेसिया दिइएका अवस्थामा मात्र देखिन्छ। ४,५०० मिटरको उचाइबाट दिमागले समस्या समाधान वा निर्णय लिने क्षमतामा असर गरेको महसुस गर्छ।

यद्यपि, मानव शरीर हाइपोबेरिक हाइपोक्सिया (कम हावाको चापले हुने हाइपोक्सिया) मा अभ्यस्त हुन सक्छ र विभिन्न प्रतिक्रियाहरूको दायरामा प्रतिक्रिया जनाउने उचाई चिकित्सा क्षेत्रमा लामो समयदेखि अनुसन्धान गर्दै आएका र अस्ट्रियाको इन्सब्रुक विश्वविद्यालयका प्राध्यापक मार्टिन बर्टच्नर बताउँछन्।

हामी हाइपरभेन्टिलेट गर्न थाल्छौँ र फलस्वरूप बढी कार्बन डाइअक्साइड सास फेर्न थाल्छौँ।

त्यसले गर्दा अक्सिजन 'डीस्याचुरेशन' को प्रतिरोध गर्न मद्दत गर्दछ। बर्टच्नरका अनुसार रक्त कोषहरूको सघनता बढाउन मिर्गौला र मूत्राशयको काम पनि बदलिन्छ जबकि मुटुको दरमा वृद्धिले शरीरभरि बढी अक्सिजन पुर्‍याउँछ।

इपीओको उपस्थितिको प्रतिक्रियामा रातो रक्त कोशिका उत्पादन बढाउने प्रक्रिया, एरिथ्रोपोइसिस सबैभन्दा महत्त्वपूर्ण अनुकूलनहरूमध्येको एक हो। हप्तौँको अनुकूलनपछि एरिथ्रोपोएसिसले रगतको मात्रा र अक्सिजन पुर्‍याउने क्षमता बढाउँछ।

यद्यपि यी प्रतिक्रियाहरू कहिलेकाहीँ असफल हुन सक्छन्। "यदि हाइपोक्सिया धेरै गम्भीर भयो भने, तीव्र माउन्टेन सिकनेस वा जीवनलाई खतरामा पार्ने वा मस्तिष्कको एडेमा विकास हुन्छ," बर्टच्नर भन्छन्।

सगरमाथाको शिखरमा पर्वतारोहीहरू

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सगरमाथाको शिखरमा पुगेका अधिकांश पर्वतारोहीहरूले श्वासप्रश्वास मास्कमार्फत् प्रदान गरिएको पूरक अक्सिजन प्रयोग गरेर त्यसो गरेका छन्

हिलारी र नोर्गे दुवैले सन् १९५३ मा अतिरिक्त अक्सिजन प्रयोग गरेका थिए र त्यो चलन आज पनि जारी छ। सगरमाथाको शिखरमा पुगेका ७,२६९ जनामध्ये २३० जनाले मात्र अतिरिक्त अक्सिजनको सहायता बिना यो काम गरेका छन्।

सन् १९५३ मा प्रख्यात अस्ट्रियाली अल्पाइन आरोही हर्मन बुहलले ८,१२६ मिटर अग्लो हिमालको चुचुरो नाङ्गा पर्वतमा एक्लै आरोहण गरे, जुन इतिहासकै एउटा महान् उपलब्धि हो। ८,००० मिटर अग्लो चुचुरोको "एक्लै" पहिलो आरोहण गरेको त्यो मात्रै हो।

प्राय: उच्च भागमा पर्वतारोहीहरूले कहिलेकाहीँ प्रयोग गर्ने अर्को सहयोगी तत्त्व भनेको एम्फेटामाइन हो। सन् १९९३ को एउटा अध्ययनले विभिन्न हिमालहरूमा सफल आरोहणपछि २६३ पुरुष पर्वतारोहीहरूको पिसाबको नमूनाहरूको विश्लेषण गरेको थियो। ३,३०० मिटरमाथि आरोहण गर्नेहरूको ७.१ प्रतिशत नमूनाहरूमा एम्फेटामाइन भेटिएको थियो।

अहिलेसम्म पर्वतारोहीहरूमाझ सबैभन्दा लोकप्रिय ‍औषधि भनेको एसिटाजोलामाइड हो जसलाई डाइम्याक्स भनेर चिनिन्छ।

"यसले वातावरण अनुकूलनलाई तीव्र बनाउँछ र निद्रामा सुधार ल्याउँछ," बर्टच्नरले भने।

उचाइमा पर्वतारोहीहरूलाई वातावरण अनुकूलन गर्न मद्दत गर्ने अन्य औषधिहरूको खोजी कहिल्यै रोकिएको छैन। सगरमाथा एउटा त्यस्तो ठाउँ हो जहाँ जीवनको कुनै ग्यारेन्टी छैन। धेरै उच्च उचाइमा कति समयसम्म रहन सकिन्छ भन्नेबारे थोरै अनुसन्धान भए पनि विज्ञहरू मौसम अनुकूलनसँगै शरीर बिग्रन सक्ने कुरामा सहमत छन्।

त्यसैले उच्च भेगमा बिताइने समय घटाउनु नै फाइदाजनक हुन्छ।

यसअघि फर्टनबाखले हाइपोक्सिक प्री-एक्लिमटाइजेशन प्रयोग गरेर सगरमाथा आरोहण समयलाई दुई हप्तामा घटाउन सफल भएका थिए। जेनोनको प्रयोग गर्न इच्छुक उनले अर्जेन्टिनाको ६,९६१ मिटर अग्लो हिमालमा परीक्षण दौड गरे। सन् २०२० मा उनले आरोहणको केही समयअघि जेननको कम मात्रा लिएका थिए।

"कुनै पनि वातावरणीय अभ्यस्तता बिना म एक साताभित्रै शिखर पुगेँ। मैले आफूलाई बलियो र छिटो भएको महसुस गरेँ," फर्टनबाखले भने।

उनले आफ्नो रक्त कोषको सङ्ख्या १० प्रतिशतले बढेको दाबी गरे जबकि शिखरमा उनको अक्सिजन ८९ प्रतिशत देखाएको थियो।

यदि सत्य भए त्यो उल्लेखनीय भएको प्राज्ञहरू बताउँछन्। सन् २००७ मा सगरमाथाको अनुसन्धान आरोहणका क्रममा गरिएको मापनमा ८,४०० मिटरको उचाइमा चार आरोहीहरूमा अक्सिजनको तह निकै कमी देखियो जुन मृत्युको नजिक नभएका मानिसहरूमा रेकर्ड गरिएको सबैभन्दा कम हो।

सगरमाथा क्षेत्रमा पर्वतारोही

तस्बिर स्रोत, Getty Images

यो सामग्रीका लागि बीबीसीले सम्पर्क गरेका तीनजना चिकित्सा विज्ञहरू जो उच्च-उचाइ अनुसन्धानका अनुभवी हुन् उनीहरू सगरमाथा आरोहणका लागि यो रणनीतिमा पूर्ण रूपमा विश्वस्त हुन नसकिएको बताउँछन्।

उनीहरू जेननले उचाइमा प्रदर्शन बढाउँछ भन्ने पर्याप्त वैज्ञानिक प्रमाण नभएको बताउँछन्।

बर्टच्नर र ग्रोकोट दुवैले एउटा अध्ययन औँल्याए जसले के पुष्टि गर्‍यो भने जेननले इपीओको कन्सर्नट्रेसन बढायो तर "प्लाज्माको मात्रा वा एरिथ्रोपीएसिसमा वृद्धि गर्न असफल भयो। त्यसले गर्दा कार्डियोरेस्पिरेटरी फिटनेस र खेलाडीको प्रदर्शनमा कुनै परिवर्तन देखिएन।" ग्रोकोटले जेनोनको "असाधारण" प्रमाण हुन आवश्यक रहेको बताउँदै भन्छन् - ताकि कोही मानिस एक सातामा शिखर चढ्न सकून् भनेका छन्। "त्यो एकदमै नाटकीय परिवर्तन हुनुपर्छ र मैले त्यो साँचो हो भनेर सुझाव दिने कुनै डेटा देखेको छैन।"

यसैबीच फर्टनबाखले जेनन ग्यासको सहयोगमा चार जना मानिसहरूलाई सगरमाथामाथि पठाउने योजना अगाडि बढाइरहेका छन्। चारै जना राम्रो शारीरिक अवस्थामा छन्। उनीहरू गाइड र बोटलमा हुने अक्सिजन लिएर चढ्नेछन्। नयाँ डोरीहरू राखेपछि टोलीलाई चाहिने भनेको सात दिनको राम्रो मौसम हो।

यसैबीच बाँकी विश्वले उनीहरूलाई हेरिरहेको हुने छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।