शक्तिशाली अरुण नदीका कारण सगरमाथा 'उँभो धकेलिइरहेको हुन सक्छ'

तस्बिर स्रोत, Getty Images
- Author, नवीनसिं खड्का
- Role, पर्यावरण संवाददाता, बीबीसी विश्व सेवा
पूर्वी नेपालको हिमाली क्षेत्रमा बग्ने एउटा नदीले आफ्नो पीँधमा भएका चट्टान र माटो खियाउँदा विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ १५-५० मिटरले बढेको हुन सक्ने तथ्य वैज्ञानिकहरूले पत्ता लगाएका छन्।
उक्त नदी सगरमाथाबाट ७५ किलोमिटर टाढा अरुण नदी जलाधार क्षेत्रमा छ। यूनिभर्सिटी कलेज लन्डन (यूसीएल) का अनुसन्धानकर्ताहरूका अनुसार अरुण नदीको जलाधार क्षेत्रमा भूक्षय हुँदा सगरमाथाको उचाइ प्रत्येक वर्ष २ मिलिमिटरले बढ्न क्रम देखिएको छ।
“यो अवस्था पानीजहाजबाट कार्गो फ्यालिएको जस्तो हो,” उक्त अध्ययनका सहलेखक एडम स्मिथले बीबीसीसँग भने। “पानीजहाज हलुका हुन्छ र अझ माथि तैरिन्छ। त्यसै गरी 'क्रस्ट' (पृथ्वीको बाह्य भाग) हलुका हुँदा... त्यो अलि माथि तैरिन सक्छ।"
यो शोध 'नेचर जिओसाइअन्स' जर्नलमा प्रकाशित भएको छ।
चारदेखि पाँच करोड वर्षअघि जमिनमुनि भारतीय र युरेशियाली प्लेटहरू जुध्दा हिमालय पर्वतशृङ्खलाको जन्म भएको हो। हिमालहरूको उचाइ निरन्तर बढ्नुको एउटा मुख्य कारण ती प्लेटहरूको चाल हो।
यद्यपि विश्वको सर्वोच्च शिखरको उचाइ बढ्नुमा अरुण नदी प्रणालीको भूमिका महत्त्वपूर्ण भएको यूसीएलका वैज्ञानिकहरूले औँल्याएका छन्।
नदी र हिमालको सम्बन्ध कस्तो
अरुण नदी हिमाली क्षेत्र हुँदै तलतिर बग्ने क्रममा नदीको पीँध अर्थात् जलप्रवाह भएको ठाउँमा 'क्रस्ट' अर्थात् पृथ्वीको बाह्य भाग खिइन्छ। त्यसो हुँदा क्रस्टभन्दा भित्र रहेको भाग 'म्यान्टल'मा कम बल पर्छ र परिणामस्वरूप खिइएको भागको स्वरूप फेरिन्छ र त्यो माथितिर तैरिन्छ।
यस्तो प्रभावलाई 'आइसस्ट्याटिक रिबाउन्ड' भनिन्छ। वैज्ञानिकहरूका अनुसार माथितिर धकेल्ने बलका कारण सगरमाथासहित विश्वका सर्वोच्च चौथो र पाँचौँ अग्ला हिमालहरू क्रमशः ल्होत्से र मकालुको उचाइ बढेको हो। छेउछाउमा रहेका अन्य हिमालमा पनि त्यस्तै भएको छ।
“भूक्षयका कारण हुने हानिले भन्दा 'आइसस्ट्याटिक रिबाउन्ड'ले तिनलाई तीव्र गतिमा अग्लो बनाइरहेकाले माउन्ट एभरेस्ट (सगरमाथा) र निकटवर्ती हिमालहरूको उचाइ बढेको हो," डा म्याथ्यू फक्सले बीबीसीसँग भने।
“जीपीएस उपकरणबाट हेर्दा हामी ती हिमाल प्रत्येक वर्ष २ मिलिमिटरले बढिरहेको पाउँछौँ। अब हामीले त्यसो हुनुको कारण बुझेका छौँ।"
यो अध्ययनमा सहभागी नभएका केही भूगर्भशास्त्रीहरूले यो सिद्धान्त युक्तिसङ्गत छ। तर उनीहरू यो अध्ययनमा भएका धेरै कुरा अझै अस्पष्ट रहेको ठान्छन्।
अरुण नदीको शक्ति कस्तो

तस्बिर स्रोत, Getty Images
सगरमाथा चीन र नेपालको सीमामा अवस्थित छ। सगरमाथाको उत्तरी भाग चीनपट्टि पर्छ।
अरुण नदी तिब्बत हुँदै नेपालमा बग्ने गर्छ र अरू नदीसँग मिसिएर सप्तकोशी बन्छ। सप्तकोशी भारतको बिहार हुँदै गङ्गा नदीमा मिसिन जान्छ।
हिमाली र पहाडी क्षेत्रका अग्ला भागबाट ठूलो बेगमा बग्दा अरुण नदीले धेरै 'सिल्ट' अर्थात् बालुवा बगाउँछ। नदीको प्रवाहले धेरै मात्रामा चट्टान र माटो पनि काट्छ।
यूसीएलएका अनुसन्धानकर्ताहरू ८९,००० वर्षअघि तिब्बतमा अर्को नदी समाहित भएपछि अरुण नदी निकै शक्तिशाली बनेको र अभूतपूर्व परिमाणमा चट्टान तथा अन्य वस्तु क्षय गर्न सक्ने बनेको हो।
भौगर्भिक कालखण्डमा यो आधुनिक परिघटना हो।
चीनबाट छात्रवृत्तिमा यूसीएल गएका चिनियाँ वैज्ञानिक डा शु हानले यो अनुसन्धानको नेतृत्व गरेका हुन्।
"सगरमाथाको परिवर्तनशील उचाइले पृथ्वीको सतहको गतिशील चरित्र उजागर गर्छ," उनले भने।
“अरुण नदीका कारण हुने क्षय र पृथ्वीको 'म्यान्टल'बाट उत्पन्न उर्ध्वगामी चापको अन्तरक्रियाबाट सगरमाथा अग्लिएको छ।"
अन्योल
यूनिभर्सिटी अफ एडिन्बराका प्राध्यापक ह्यू सिन्क्लेअर उक्त अध्ययनमा संलग्न थिएनन्। उनी यूसीएलका वैज्ञानिकहरूले पहिचान गरेको प्रक्रिया विश्वसनीय रहेको ठान्छन्।
तर उनका अनुसार नदीको पीँध खिइने र गहिरो बन्ने अनि परिणामस्वरूप छेउछाउका हिमालहरूमा हुने उत्थानको वास्तविक परिमाण र कालखण्डबारे निकै अन्योल छ।
“प्रथमतः एउटा नदीले अर्को नदी वा ताललाई आफूमा समाविष्ट गरेको अवस्थामा त्यति विशाल जलाधार क्षेत्रमा नदीले गर्ने क्षयको अनुमान गर्नु सजिलो छैन," उनले भने।
यो अस्पष्टतालाई अनुसन्धानकर्ताहरूले आफ्नो शोधपत्रमा स्वीकार गरेका छन्।
दोस्रो अस्पष्टताबारे प्रा सिन्क्लेअरले भने, "स्थानीय तहमा सघन क्षय हुँदा उक्त ठाउँबाट हिमालहरू अग्लिने ठाउँसम्मको दूरी पत्ता लगाउन निकै कठिन हुन्छ।"
“यी फरक मतहरूलाई ध्यान दिँदा पनि सगरमाथाको असामान्य उचाइवृद्धि केही हदसम्म नदीसँग सम्बन्धित रहेको सम्भावना रोचक विषय हो।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








