रुसी सैन्य जेनरलको हत्यासँगै खल्बलियो मस्कोको शान्ति

रुसी सेनाका लेफ्टिनन्ट जेनरल इगोर किरिलोफको हत्या हुने गरी विस्फोटन भएको ठाउँमा रुसी सुरक्षाकर्मीहरू

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, रुसको परमाणु, जैविक र रासायनिक सुरक्षा फौजका प्रमुख लेफ्टिनन्ट जेनरल इगोर किरिलोफको मङ्गलवार बिहान हत्या भएको थियो
    • Author, स्टीभ रोजन्बर्ग
    • Role, बीबीसी रुस सम्पादक
  • पढ्ने समय: ४ मिनेट

आवरण र वास्तविकता: यी दुईबीच मस्कोमा निरन्तर सङ्घर्ष हुने गर्छ।

विगत तीन वर्षदेखि रुसले युक्रेनसँग युद्ध गर्दै आएको छ। तर यहाँको जनजीवन एकदमै सामान्य देखिन सक्छ। मेट्रोमा हुने यात्रुको भिडदेखि बार र क्लबमा जम्मा हुने मस्कोका युवाहरूमा युद्धका कारण खासै प्रभाव परे जस्तो देखिँदैन।

तर अकस्मात् कुनै घटना हुन्छ र त्यसले आज रुसमा केही कुरा पनि सामान्य छैन भन्ने सम्झना गराउँछ।

त्यो घटना मस्कोको हवाई प्रतिरक्षा प्रणाली नाघेर युक्रेनी ड्रोन आइपुग्नु पनि हुन सक्छ।

अथवा मङ्गलवार बिहान रुसका एक वरिष्ठ सैन्य जेनरललाई आफ्नो निवासबाहिर निस्किँदै गर्दा योजनाबद्ध ढङ्गले हत्या गरिए जस्तो अझ नाटकीय घटना पनि हुन सक्छ।

वरिष्ठ सैन्य अधिकारीको हत्याले रुसलाई कस्तो सन्देश

रुसको विकिरण, रासायनिक तथा जैविक सुरक्षा फौजका प्रमुख इगोर किरिलोफ (दायाँ)

तस्बिर स्रोत, Russian defence ministry

तस्बिरको क्याप्शन, इगोर किरिलोफ सात वर्षअघि रुसको विकिरण, रासायनिक तथा जैविक सुरक्षा फौजका प्रमुख नियुक्त भएका थिए

लेफ्टिनेन्ट जेनरल किरिलोफ र उनका एक सहयोगीको 'स्कूटर बम' विस्फोटन गराएर भएको हत्यापछि युक्रेनसँगको रुसको युद्धको वास्तविकता उसकै आँगनमा देखा पर्‍यो।

कम्तीमा घटनास्थलनजिकै रहेका रुसीहरूका लागि।

"समाचारमा पढ्दा त्यो एउटा खालको कुरा हो। टाढा भइरहेको जस्तो महसुस हुन्छ। तर आफ्नै घरको छेउमा हुँदा यो पूर्णतया अलग र डरलाग्दो हुन्छ," लीजाले मसँग भनिन्। उनी विस्फोटन भएको ठाउँबाट एउटा भवन पर बस्छिन्।

"अहिलेसम्म (युद्ध) धेरै पर भइरहेको जस्तो महसुस हुन्थ्यो। तर यहाँ कसैको मृत्यु भएको छ। तपाईँले परिणाम महसुस गर्न सक्नुहुन्छ।"

"मेरा चिन्ता धेरै बढेको छ। तपाईँले सुन्ने प्रत्येक आवाजले चिन्ता थप्छ। त्यो कुनै ड्रोन हो वा निर्माणस्थलमा भइरहेको काम हो भनेर तपाईँ अलमलमा पर्नुहुन्छ।"

मस्कोकी बासिन्दा लीजा
तस्बिरको क्याप्शन, मङ्गलवार भएको विस्फोटनपछि दक्षिणपूर्वी मस्कोका बासिन्दाहरू चिन्तित देखिएका छन्

युक्रेनसँगको युद्धलाई टाढा भइरहेको घटनाका रूपमा यहाँ हेरिने गरेको पाइन्छ।

जनसङ्ख्याको उल्लेख्य हिस्साका लागि यो उनीहरूले आफ्नो टेलिभिजन वा स्मार्टफोनमा मात्रै महसुस गर्ने एउटा लडाइँ हो। एक ढङ्गले भन्दा, यो 'भर्चूअल युद्ध' हो।

ठूलो सङ्ख्यामा मानिसहरूले ज्यान गुमाएका र चोटपटक व्यहोरेको वास्तविकतामाझ त्यो साँच्चिकै आश्चर्यजनक हो। तर मस्कोमा रुसी जेनरलको हत्या एउटा खतराको घण्टी हो। युद्ध वास्तविकता भएको र घरकै छेउमा चलिरहेको प्रमाण हो।

रुसले अब के गर्ला

तर के यसले रुसी अधिकारीहरूले सावधान गराउने सामर्थ्य राख्छ?

सम्भवतः राख्दैन। क्रेम्लिनले यूक्रेनको मामिलामा आफ्नो नीति परिवर्तन गर्ने खासै सङ्केत छैन। मस्कोले युद्धलाई अझै तीव्रता दिने सम्भावना अधिक छ।

त्यसका सङ्केतहरू हेरौँ।

किरिलोफको हत्यापछि रुसी सरकारी सञ्चारमाध्यमको राजनीतिक कार्यक्रमका प्रस्तोताले हमलालाई लिएर युक्रेनमाथि आरोप लगाउँदै "यो आक्रमणसँगै राष्ट्रपति जेलेन्स्कीले आफ्नो मृत्युदण्डमा हस्ताक्षर गरेको" बताए।

भूतपूर्व रुसी राष्ट्रपति दिमित्री मेद्भेदेबले "अनुसन्धानकर्ताहरूले रुसमा हत्याराहरू फेला पार्नुपर्ने" बताए। "हामीले किएभमा रहेका उनीहरूका संरक्षकहरूलाई नष्ट पार्न सबै थोक गर्नुपर्छ," उनले भने।

राष्ट्रपति भ्लादिमिर पुटिनबाट जेनरल र उनका सहयोगीको हत्यालाई लिएर कुनै सार्वजनिक प्रतिक्रिया आएका छैनन्।

तर क्रेम्लिनका नेताले विगतमा धेरै पटक "सुरक्षा जोखिम उत्पन्न भएको खण्डमा रुसले सधैँ प्रतिक्रिया जनाउने" बताएका छन्। उक्त घोषणाकै आधारमा पनि जबाफी कारबाहीको सम्भावना छ।

बिहीवार क्रेम्लिनका नेताले आफ्नो वार्षिक पत्रकार सम्मेलन र फोन-इन आयोजना गर्दै छन्। साधरणतया सबै टेलिभिजन च्यानलहरूले त्यसको प्रत्यक्ष प्रसारण गर्छन्।

के पुटिनले उक्त कार्यक्रमलाई किरिलोफको नाटकीय हत्याबारे प्रतिक्रिया दिन प्रयोग गर्लान्?

के उनले सिरियासँग सम्बन्धित विषयबारे पनि मुख खोल्लान्? रुसी राष्ट्रपतिले अहिलेसम्म सार्वजनिक रूपमा मध्यपूर्वमा मस्कोका मुख्य साझेदार रहेका बशर अल-असदको पतनबारे केही पनि बोलेका छैनन्।

अनि उनले रुसी नागरिकहरूलाई आफूले "विशेष सैन्य कारबाही" भन्ने गरेको युक्रेनसँगको युद्ध तीन वर्ष पुग्न लाग्दा देश कुन दिशातर्फ अग्रसर भइरहेको छ भन्नेबारे के भन्लान्?

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।