बाघ गणना २०२५: क्यामेराले कैद गर्ने पाटेबाघका आनीबानी, सङ्ख्या र मार्ग

- Author, ईश्वर जोशी
- Role, नारायणगढ
नेपाल सरकारले बाघको वर्तमान अवस्था पत्ता लगाउन पुषको १ गतेदेखि बाघ गणना गर्ने घोषणा गरेको छ।
प्रत्येक ४ वर्षमा बाघ गणना गर्ने गरिएको अधिकारीहरूले बताएका छन्।
बाघ गणना पुषको १ गते चितवन पर्साबाट सुरु हुने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका इकोलोजिस्ट हरिभद्र आचार्यले बताए।
चितवन पर्सामा सुरु भएको ५ दिनपछि बाँके बर्दियामा सुरु हुने उनले बताए।
कुन कुन क्षेत्रमा कसरी बाघ गणना हुँदै छ ?
बाघ गणना नेपालको बाघ पाइने स्थान निकुञ्ज र बन क्षेत्रमा गरिने बताइएको छ।
खास गरेर बाघ गणना चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, लालझाडी र बाघ पाइने बन क्षेत्रमा पनि गरिने इकोलोजिस्ट आचार्यले बताए।
बाघको गणना विगतका वर्षहरूमा जस्तै अहिले पनि क्यामेरा ट्र्यापिङ अर्थात् क्यामेराको पासो राखेर गरिने छ।
इकोलोजिष्ट आचार्यका अनुसार चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई ३ वटा ब्लक, बाँके बर्दियालाई ४ वटा ब्लक र शुक्लाफाँटा तथा लालझाडीलाई १ ब्लकमा विभाजन गरेर बाघ गणना गरिने छ।
उनका अनुसार: उक्त ब्लकहरूमा २ किलोमिटर लम्बाइ २ किलोमिटर चौडाइको ग्रिड बनाएर क्यामेराको माध्यमबाट बाघ गणना गरिने छ।
बाघ हिँडडुल गर्ने क्षेत्रको पहिचान गरी बाटोको दायाँ बायाँ अटोमेटिक क्यामेरा जडान गरेर गरिने छ।
उक्त क्यामेराको अगाडिबाट बाघ हिँडेमा क्यामेराले फोटो खिच्छ। त्यही फोटोको आधारमा बाघ गणना गरिन्छ।
क्यामराले खिचेको बाघको पाटा हेरिन्छ एउटा बाघको पाटा अर्को बाघ सँग मेल खाँदैन त्यही आधारमा बाघको गणना गरिन्छ।
कति जनशक्ति र क्यामेरा प्रयोग हुन्छ

बाघ गणना तीन महिनासम्म चल्ने छ।
बाघ गणनाको लागि १ ब्लकमा करिब २ सयदेखि २ सय ५० वटासम्म क्यामेरा प्रयोग हुने उनले बताए।
१ ब्लकमा ३ हप्तासम्म क्यामेरा राखेर बाघको गणना हुने छ।
बाघ गणनाको लागि करिब १ हजार १ सय क्यामेरा प्रयोग हुने छन्।
चितवन पर्सा क्षेत्रको काम सकिएपछि सोही क्यामेराबाट शुक्लाफाँटा लालझाडीमा बाघ गणना सुरु हुने बताइएको छ।
बाघ गणनाको लागि करिब २ सय ५० जना प्राविधिक र कर्मचारीहरू खटिने छन्। बाघ गणनाको लागि चितवन राष्ट्रिय निकुञ्ज राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक कर्मचारी र स्थानीय स्वयम् सेवकहरू खटिने चितवन राष्ट्रिय निकुञ्जका सहायक वार्डेन अविनाश थापाले बताए।
"उनीहरूलाई २ दिन तालिम प्रदान गरे पछि कार्यक्षेत्रमा पठाइने छ," उनले भने।
कति खर्च लाग्छ
बाघ गणनाको नेपाल सरकार र दाताहरूको सहयोगमा हुँदै आएको छ।
बाघ गणनाको लागि क्यामेरा खरिद र गणनामा काम गर्ने प्राविधिकहरू खान बस्न लगायतमा खर्च हुने गरेको छ।
यस वर्षको बाघ गणनाको लागि करिब ३ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
यो खर्च क्यामेरा खरिद बाहेकको भएको आचार्यले बताए।
बाघ गणना किन

बाघ गणनाले बाघको अवस्थाबारे जानकारी हुनुका साथै बाघको उपस्थिति कुन क्षेत्रमा बढी छ भन्ने जानकारी हुने र मानव र बाघबीचको द्वन्द्व न्यूनीकरणको रणनीति बनाउन पनि मद्दत पुग्ने अधिकारीहरूको भनाइ छ।
बाघ गणनाले विगतका वर्षबाट बाघ निकुञ्जको कुन क्षेत्रबाट कतातिर बढी गएको छ? सामुदायिक वन वा मानव बस्ती भएकोतिर बाघ उपस्थित देखिएको खण्डमा त्यस क्षेत्रमा वन श्रोत लिन जानेहरूलाई पनि सचेत गराउन सकिने भनाइ आचार्यको रहेको छ।
बाघ गणनाका साथै बाघको आहार प्रजातिको पनि अनुगमन गरिने छ।
कहाँ कति बाघ
पछिल्लो पटक सन् २०२१मा बाघ गणना भएको थियो।
गणनाको नतिजा २०२२ मा सार्वजनिक भए अनुसार अनुसार नेपालमा ३ सय ५५ वटा बाघ रहेका छन्। जसमध्ये चितवनमा १ सय २८ बर्दिया १ सय २५ बाँके २५ शुक्लाफाँटा ३६ र पर्सामा ४१ वटा बाघ रहेका छन्।
बाघ गणना ३ महिनामा सम्पन्न गर्ने लक्ष्य रहेको छ। बाघ गणना सन् २००९ देखि नियमित रूपमा हुँदै आएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








