नर्वेको एउटा मौसमसम्बन्धी 'रकेट' जसले झन्डै परमाणु युद्ध निम्त्यायो

तस्बिर स्रोत, Getty Images
- Author, ग्रेग म्याक्केभिट
- Role, बीबीसी कल्चर
- पढ्ने समय: ६ मिनेट
सन् १९९५ को ज्यानुअरी २५ मा 'नोर्दन लाइट'बारे अध्ययन गर्न प्रक्षेपण गरिएको एउटा नर्वेली रकेटलाई रुसले भुलवश आफूतर्फ सोझै आइरहेको परमाणु क्षेप्यास्त्र भन्ठानेको थियो।
शीतकालीन यामको कठोर जाडोको एक दिन विश्व झन्डै एक घण्टाजति शीतयुद्धकालीन भयावह दुःस्वप्नको निकै नजिक पुग्यो। सामान्यजस्तो लाग्ने एउटा बुधवार दिउँसो उत्तरी रूसका रेडार केन्द्रहरूमा खटिएका सैन्य प्राविधिकहरूले आफ्ना स्क्रिनमा चिन्ताजनक सङ्केतहरू देखे।
नर्वेको तटनजिकैबाट एउटा रकेट प्रक्षेपण गरिएको थियो र त्यो तीव्र गतिमा आकाशतर्फ लागिरहेको थियो। त्यो कहाँ लक्षित थियो? के त्यो साँच्चिकै कुनै गम्भीर खतरा थियो?
त्रास
यो धेरैले बर्लिनको पर्खाल ढलेपछि यस्ता आणविक तनावहरू समाप्त भइसकेको ठानेका समयको कुरा हो।
आकाशको निगरानी गरिरहेका व्यक्तिहरूका निम्ति त्यसको अर्थ अत्यन्तै भयावह थियो। सोही क्षेत्रका पानीमा तैनाथ कुनै अमेरिकी पनडुब्बीबाट प्रक्षेपण गरिएको एउटै क्षेप्यास्त्रले केवल १५ मिनेटभित्र मस्कोसम्म आठवटा आणविक युद्धशीर्ष पुर्याउन सक्छ भन्ने उनीहरू जान्दथे। त्यसैले यो सूचना तुरुन्तै राष्ट्रपति बोरिस येल्त्सिनसम्म पुर्याइयो।
उनी 'आणविक ब्रीफकेस' सक्रिय गर्ने पहिलो विश्व नेता बने। उक्त ब्रीफकेसमा परमाणु बम विस्फोट गर्ने तरिका र प्रविधि समावेश हुन्छ।
दोस्रो विश्वयुद्धको अन्त्यदेखि नै परमाणु हतियार भएका देशहरूले रोकथामको नीति लिएका छन्। उक्त नीति युद्धरत राज्यले ठूलो स्तरमा परमाणु हमला गरे सम्पूर्ण विनाश निम्तिन्छ भन्ने विचारमा आधारित छ।
त्यस्तो तनावपूर्ण क्षणमा येल्त्सिन र उनका सल्लाहकारहरूले प्रत्याक्रमण गर्ने कि नगर्ने भन्ने निर्णय अत्यन्तै हतारमा लिनुपरेको थियो।
तर ती घटनाहरूको उक्त डरलाग्दो शृङ्खला अन्ततः विनाशमा टुङ्गिएन भन्ने अहिले हामी सबैलाई थाहा छ। अत्यधिक तनावका बाबजुद उक्त घटना त्यस साँझको अन्तिम समाचार कार्यक्रममा हल्काफुल्का प्रसङ्गका रूपमा प्रस्तुत भयो।
वास्तविकता

तस्बिर स्रोत, Getty Images
बीबीसी न्युजनाइटका प्रस्तोता जेरेमी प्याक्स्म्यानले भने - "बिदा हुनुअघि हामीले यो उल्लेख गर्नैपर्छ कि आज परमाणु युद्ध भएन। १३:४६ बजे मस्कोको समाचार एजेन्सी इन्टरफ्याक्सलाई उद्धृत गर्दै रुसले आफूतर्फ आउँदै गरेको एउटा क्षेप्यास्त्र नष्ट गरेको खबर आयो। संवाददाताहरूले सायद् आफूहरू आणविक युद्धको साक्षी बन्दै गरेको ठाने र तत्कालै रक्षा मन्त्रालयलाई सम्पर्क गरे। मन्त्रालयका प्रवक्ताले साहसपूर्वक भने : 'ब्रिटेनले रुसमाथि कुनै क्षेप्यास्त्र प्रहार गरेको छैन भन्नेमा म विश्वस्त छु।' पेन्टागनका प्रवक्तासमेत त्यस विषयमा अनभिज्ञ थिए, "हामीसँग केवल रिपोर्टका रिपोर्टहरू छन्।"
विश्वको मुद्राबजारमा हलचल मच्चिनुका साथै राजनीतिज्ञ, सेनाका प्रमुख तथा पत्रकारहरूले एक घण्टा सूचना सङ्कलनको भागदौडमा बिताए। सम्भावित सङ्कटबारे जानकारहरू जीएमटी १४:५२ मा मात्रै शान्त भए।
इन्टरफ्याक्सले आफ्नो रिपोर्ट सच्याउँदै रुसको प्रारम्भिक सतर्कता प्रणालीले क्षेप्यास्त्र भन्ठाने पनि उक्त रकेट नर्वेली भूभागमा अवतरण भएको जनायो।
पछि नर्वेका एक रक्षा अधिकारीले उक्त प्रक्षेपण शान्तिपूर्ण भएको पुष्टि गरे। त्यो एउटा नियमित वैज्ञानिक अनुसन्धानका क्रममा भएको थियो र त्यसले 'नोर्दन लाइट'सम्बन्धी जानकारी सङ्कलन गर्ने लक्ष्य राखेको थियो।
नियोजित रूपमा नै उक्त 'रकेट' स्पित्जबर्गन नामक दुर्गम आर्क्टिक टापुनजिकैको समुद्रमा अवतरण भयो। उक्त स्थान रुसको हवाई क्षेत्रभन्दा धेरै टाढा थियो।
उक्त रिपोर्ट गलत भएको खुलेको केही घण्टापछि नाम नखुलाइएका रुसी रक्षा स्रोतहरूले इन्टरफ्याक्ससँग उक्त प्रक्षेपण रुसी प्रारम्भिक सतर्कता रेडार प्रणालीको परीक्षणका लागि गरिएको हो कि होइन तत्काल यकिन गर्न हतारो हुने बताए।
सन् १९८७ मा पश्चिम जर्मनीका किशोर म्याथिस रस्टले सानो इन्जिन भएको विमानमार्फत् सबै सोभियत सुरक्षा प्रणालीहरू पार गर्दै ७५० किमि यात्रा गरी क्रेम्लिनसम्म उडान भरेपछि रुस आफ्नो हवाई सुरक्षा क्षमताबारे संवेदनशील बनेको थियो। शीतयुद्ध समाप्त भइसकेको भए पनि उक्त घटनाले केही रुसी अधिकारीहरू अझै पनि परमाणु खतराप्रति कति सजग थिए भन्ने दर्शायो।

तस्बिर स्रोत, Getty Images
"हाम्रो नियमित क्षेप्यास्त्र प्रक्षेपणले त्यत्रो ध्यान खिचेको देख्दा म आतङ्कित भएँ," नर्वेली वैज्ञानिक कोल्बर्न एडल्फ्सेनले भने। उनी तारन्तार भयपूर्ण फोनहरू आइरहँदा एउटा बैठकमा थिए। अझ अचम्मको कुराचाहिँ उक्त योजनाबद्ध प्रक्षेपणबारे केही हप्ताअघि नै नर्वेले मस्कोलाई जानकारी दिइसकेको थियो।
पहिलो पटक उक्त 'रकेट' त्यति उच्च बलिस्टिक मार्गमा प्रक्षेपित गरिएको र ९०८ माइलको उचाइमा पुगेका कारण रूसले त्यसरी प्रतिक्रिया जनाएको उनको ठम्याइ छ।
एडल्फ्सेनका अनुसार त्यसमा अचम्म मान्नुपर्ने कुरा थिएन। "डिसेम्बर १४ मै विदेश मन्त्रालयमार्फत् त्यसबारे सम्बन्धित सबै देशलाई सन्देश पठाइएको थियो," उनले भने।
यद्यपि उक्त चेतावनी सही ठाउँमा पुग्न सकेन। एउटा सानो सन्देश छुट्दा पनि त्यसले कति भयावह परिणाम निम्त्याउने सम्भावना हुन्छ भन्ने त्यसले सिकायो।
परमाणु युगको सुरुदेखि नै हेर्ने हो भने हामी सोच्दा पनि डर लाग्ने धेरै दुर्घटनाका निकट पुगेका छौँ।उदाहरणका निम्ति, सन् १९६२ को क्यूबाली क्षेप्यास्त्र सङ्कटलाई लिन सकिन्छ। त्यो सम्भवतः शीतयुद्धको समयमा अमेरिका र सोभियत सङ्घ पूर्ण परमाणु युद्धको सबैभन्दा नजिक पुगेको क्षण थियो।
२०२० को बीबीसी फ्यूचरको रिपोर्टअनुसार बसाइँ सरिरहेका हाँस, चन्द्रमा, कम्प्युटरका त्रुटिहरू तथा र अन्तरिक्षको मौसमजस्ता आश्चर्यजनक कारणहरूले पनि सतर्कताको स्थिति पैदा गरेको छ।
सन् १९५८ मा दुर्घटनावश एउटा जहाजले एउटा घरको बगैँचामा परमाणु बम खसाल्यो। भाग्यवश उक्त घटनामा मानिसलाई केही भएन, उक्त परिवारका कुखुराहरू मात्रै मरे।
त्यस्तै १९६६ मा दुई अमेरिकी सैन्य विमान स्पेनको दुर्गम गाउँमा दुर्घटनामा परे। तीमध्ये एकमा चारवटा परमाणु हतियार थिए।
हालै मात्र सन् २०१० मा छोटो समयका निम्ति अमेरिकी वायुसेनाले ५० क्षेप्यास्त्रहरूसँग सम्पर्क गुमाएको थियो, जसमा स्वचालित प्रक्षेपण रोक्ने वा त्यसको स्थान पत्ता लगाउने कुनै उपाय बाँकी थिएन।
खतराको क्षण
त्यो बेला येल्त्सिनले पहिलो पटक आणविक 'ब्रीफकेस' प्रयोग गरेको घोषणा गर्दा रुसमा धेरैले वास्ता गरेनन्। उनीहरूले त्यसलाई चेचेन युद्धको बढ्दो सङ्कटबाट ध्यान हटाउन गरिएको प्रयास ठाने।
उनले इन्टरफ्याक्स समाचारसंस्थासँग अर्को दिन भने - "मैले हिजो वास्तवमै पहिलो पटक मेरो 'कालो' सूटकेस प्रयोग गरेँ, जसमा सधैँ मेरो साथमा रहने बटन छ," उनले थपे, "सायद् कसैले हामीलाई जाँच्ने निर्णय गरेको हो किनकि मिडियाले सधैँ हाम्रो सेनालाई कमजोर भन्दै आएको छ।"
नर्वेली रकेटबारे 'न्यूजनाइट'को रिपोर्ट हल्काफुल्का शैलीको भए पनि घटनाको गाम्भीर्यबारे विभिन्न मत छन्।
सीआईएका एक पूर्वअधिकारीका विचारमा त्यो 'आणविक क्षेप्यास्त्र युगको सबैभन्दा खतरनाक क्षण' थियो।
सैन्य सल्लाहकार पिटर प्राइले लेखेका छन् - "आणविक शक्ति भएको कुनै पनि देशका नेताले रुसको समकक्षमा त्यति गम्भीरताका साथ 'आणविक ब्रीफकेस' खोलेका थिएनन्। त्यति बेला वास्तविक खतरा महसुस गरिएको थियो, जुन परिस्थितिमा तत्काल परमाणु हमला गर्ने निर्णय हुन सम्भव थियो।"
तथापि संयुक्त राष्ट्रसङ्घको आणविक निरस्त्रीकरण अनुसन्धानकर्ता पावल पोडभिगले भने - "ती घटनाहरूको क्रमाङ्कन गर्ने हो भने… म सम्भवतः यसलाई १० मा ३ दिने थिएँ। शीतयुद्धको समयमा अधिक गम्भीर घटनाहरू भएका थिए।" उनले परमाणु ब्रीफकेसको परिदृष्य अर्को दिन येल्त्सिनका निम्ति मञ्चन गरिएको हुन सक्ने समेत भनेका छन्।
रुसी आणविक विशेषज्ञ भ्लादिमिर ड्वोर्किनले उक्त घटनाले कुनै खतरा पैदा नगरेको बताएका छन्। उनले सन् १९९८ मा वाशिङ्टन पोस्टसँग भनेका छन् - "विशाल आक्रमणको चेतावनी आए पनि कुनै एक व्यक्तिले चाहे त्यो विवेकहीन नेता नै किन नहोस्, एउटा क्षेप्यास्त्रका निम्ति त्यस्तो निर्णय गर्दैन। त्यसलाई म केवल एउटा चेतावनी ठान्छु।"
घटनाको पाँच दिनपछि बीबीसीको रेडिओ बुलेटिनमा जनाइएअनुसार रुसले गलत बुझाइका कारण उक्त सतर्कताको स्थिति पैदा भएको र त्यो दोहोरिन नहुने बतायो। विदेश मन्त्रालयका प्रवक्ताले नर्वेलीहरूले सामान्य प्रक्रियाअनुसार काम गरेका र उनीहरूप्रति कुनै नकारात्मक भाव राखिन नहुने बताए।
विपत्ति टरेको भए पनि एउटा हानिरहित मौसमसम्बन्धी वैज्ञानिक रकेटले त्यति ठूलो भय उत्पन्न गर्न सक्नु चिन्ताजनक नै छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















