तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
वैज्ञानिकहरू किन अन्तरिक्षबाट एन्टार्क्टिकामा पाइने सानो समुद्री जीव गन्दै छन्
- Author, भिक्टोरिआ गिल
- Role, विज्ञान संवाददाता, बीबीसी न्यूज
समुद्रको पानीको रङ्गमा उत्पन्न हुने सूक्ष्म भिन्नताले आफूहरूले अन्तरिक्षबाट एन्टार्क्टिकामा पाइने साना तर निकै महत्त्वपूर्ण जीवहरूको गणना गर्न सघाउने वैज्ञानिकहरूले बताएका छन्।
यो नयाँ अनुसन्धानले 'एन्टार्क्टिक क्रिल' भनिने झन्डै दुई इन्च लामा जीवलाई लक्ष्य बनाएको छ। उक्त जीव पृथ्वीमा सर्वाधिक पाइनेमध्ये पर्छ।
यो सानो जीव ह्वेल, पेन्ग्विन, सील र समुद्री चराहरूको आहार हो।
यद्यपि वैज्ञानिकहरू माछा मार्ने काम र जलवायु परिवर्तनका कारण यी जीवमा नकारात्मक प्रभाव परेको हुन सक्ने चिन्ता व्यक्त गर्छन्। त्यसैले एन्टार्क्टिक क्रिलको निगरानी गर्नुपर्ने उनीहरूको धारणा छ।
"एन्टार्क्टिक क्रिलहरू एन्टार्क्टिक महासागरका महानायक हुन्," डब्ल्यूडब्ल्यूएफ-यूकेका प्रमुख ध्रुवीय सल्लाहकार रड डाउनीले भने।
"ती साना, नचिनिएका नायक हुन् जसका आधारमा समुद्री जीवन टिकेको छ। तर जलवायु परिवर्तन र अत्यधिक माछा मार्ने कामका कारण ती खतरामा पुगेका छन्।"
यूनिभर्सिटी अफ स्ट्र्याथ्क्लाइड, डब्ल्यूडब्ल्यूएफ र ब्रिटिश एन्टार्क्टिक सर्भे (बीएएस)का अनुसन्धानकर्ताहरू एन्टार्क्टिकामा समुद्रमा क्रिल कति सङ्ख्यामा छ भन्ने निर्क्योल गर्न भूउपग्रहको प्रयोग गर्ने नयाँ विधिहरू विकसित गर्दै छन्।
विश्लेषण गर्ने तरिका
पानीमा पौडिँदै गरेका क्रिलहरूको सङ्ख्याका आधारमा समुद्रको पानीले भिन्न मात्रामा प्रकाश सोस्छ।
यूनिभर्सिटी अफ स्ट्र्याथ्क्लाइडकी डा केट म्याक्केरी भर्खरै एन्टार्क्टिकाको भ्रमण गरेर फर्किएकी हुन्। त्यहाँ उनले अनुसन्धानका लागि पानीबाट क्रिल समातिन्।
"सुरुमा हामी समुद्रको पानी लिन्छौँ अनि त्यसमा एउटा क्रिल हालेर कति प्रकाश सोस्छ त्यो नाप्छौँ," उनले भनिन्। "त्यसपछि अर्को क्रिल हाल्छौँ र फेरि मापन गर्छौँ।"
अनुसन्धानकर्ताहरूका अनुसार क्रिलको घनत्वले समुद्रको रङ्ग कसरी परिवर्तन गराउँछ भन्ने विश्लेषणले अन्तरिक्षबाट क्रिलको कुल सङ्ख्या निर्क्योल गर्न सघाउने छ।
'ह्वेलको आहारा, स्वस्थ समुद्रको आधारशिला'
क्रिल ह्वेलजस्ता विशालकाय जीवको आहारा हो। ह्वेलहरू क्रिल खान हजारौँ किलोमिटर टाढा एन्टार्क्टिकासम्म पुग्छन्।
क्रिल स्वस्थ समुद्रको आधारशिला पनि हो। ह्वेलले क्रिल खान्छ, क्रिलले समुद्रको बरफमा पाइने सूक्ष्म वनस्पतिको भोजन गर्छ भने ती वनस्पतिहरूले पृथ्वीमा तापमान वृद्धि गराउने कार्बन डाइअक्साइड ग्यास सोस्छन्।
ह्वेलको बिस्टा समुद्री वनस्पतिहरूका लागि मल बन्छ। ती वनस्पतिहरूले पृथ्वीलाई शीतल बनाउँछन्।
वैश्विक तापमान वृद्धिसँगै समुद्रको पानी तात्दा यो चक्र बिथोलिने हो कि भन्ने अनि क्रिल जोखिममा पर्न सक्ने चिन्ता संरक्षणको क्षेत्रमा क्रियाशील वैज्ञानिकहरूमा देखिएको छ।
"हामीले तत्कालै माछा मार्ने उद्योग राम्ररी व्यस्थापित गर्नुपर्छ अनि समुद्री संरक्षण क्षेत्रहरूको सञ्जालभित्र क्रिलको वासस्थानको संरक्षण गर्नुपर्छ," डाउनीले भने।
"हामीलाई [यो परियोजनाले] यो महत्त्वपूर्ण प्रजातिको निगरानी र संरक्षण गर्न सघाउने एउटा नयाँ उपाय प्रदान गर्न सक्छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।