'अख्तियार' र विशेष अदालतमा आगजनी भए पनि भ्रष्टाचारका उजुरी र प्रमाण 'जीवितै'

अख्तियार दुरुपयोग अनुनसन्धान आयोग
    • Author, शरद केसी
    • Role, बीबीसी न्यूज नेपाली

भ्रष्टाचारविरुद्ध र सुशासनलाई पनि मुद्दा बनाएको जेन जी आन्दोलनका क्रममा भ्रष्टाचारको मुद्दा हेर्ने विशेष अदालत र अनुसन्धान गरेर मुद्दा चलाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यालयलाई पनि निसाना बनाइयो।

आगलागीले ती दुवै निकायका भौतिक संरचनामा क्षति पुगेको छ। त्यसले गर्दा पहिले जसरी नियमित काममा फर्किन केही समय लाग्ने अधिकारीहरूले जनाएका छन्।

आन्दोलनमा घुसपैठ भएको चर्चाका बीच ती दुई निकायका कार्यालयमा आगजनी गरिएपछि कतिपयले भ्रष्टाचारका प्रमाणहरू मेटाउने प्रयास भएको आशङ्का पनि गरेको पाइन्छ।

"जुन तोडफोड र आगजनी भएको छ, त्यो हेर्दा केही प्रयास भएको देखिन्छ, केन्द्रीय कार्यालयको केही कोठाहरू जलेका छन्,"आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले कार्यालयको अवस्थाबारे जानकारी दिए।

"तर फाइलहरू भएको कोठा नपरेको हुनाले प्रभाव कम परेको छ," उनले भने।

विचाराधीन मुद्दाको अवस्था के छ?

विशेष अदालतको प्राङ्गणमा न्यायको प्रतीक

तस्बिर स्रोत, BBC/SHARAD KC

उजुरी परेका र अनुसन्धानमा तानिएकाहरू आगजनीपछि जोगिने सम्भावना पनि उनी अस्वीकार गर्छन्।

अध्ययन तथा अनुसन्धानका क्रममा रहेका फाइलहरूमा खासै समस्या आएको नदेखिएको बताउँदै प्रवक्ता पौडेलले अधिकांश ठूला मुद्दा त विशेष अदालतमा दर्ता भइसकेको जानकारी दिए।

आर्थिक अपचलनका हिसाबले साना र ठूला ८८ वटा मुद्दाहरू विशेष अदालतमा विचाराधीन छन्।

अदालतका सूचना अधिकारी यज्ञराज रेग्मी भन्छन्, "अन्य पूर्वाधारमा क्षति पुगेको छ तर मिसिलहरूमा आगलागी भएको छैन। सबै सुरक्षित छन्।"

नयाँ मुद्दा दर्ता लगत्तै अघि बढाउन र विचाराधीन मुद्दाको सुनुवाइमा भने असर पर्ने बताइएको छ।

त्यहाँ सुनुवाइ हुने एउटा इजलास, पेशी प्रकाशित गर्ने र शेअर गर्ने नेटवर्किङ प्रणाली तथा सफ्टवेयरमा क्षति पुगेको सूचना अधिकारी रेग्मीले जानकारी दिए।

"कुनै मुद्दा दर्ता गर्दा सिस्टममा राख्नु पर्छ तर त्यो अहिले सम्भव छैन," रेग्मीले भने, "अनलाइन बयान र बकपत्र गराउने प्रणालीमा पनि क्षति पुगेको छ।"

आयोगमा कस्तो र कति क्षति?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आगजनी भएको एउटा भागको तस्बिर

आगलागी र तोडफोडबाट काठमाण्डू उपत्यकाबाहिर इटहरी, हेटौँडा, बुटवल र पोखरास्थित चारवटा कार्यालयहरूमा निकै ठूलो क्षति भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता पौडेलले जानकारी दिए।

उनका अनुसार बुटवल कार्यालयको एउटा खण्ड र पोखरामा पूर्ण क्षति भएको छ। कतिपय फाइलहरूमा पनि असर पुगेको छ।

आयोगका राजधानी बाहिरका अनुसन्धान फाइलहरू पनि काठमाण्डूको केन्द्रीय प्रणालीमा सङ्ग्रह गर्ने गरिएको अधिकारीहरूको भनाइ छ।

"अनलाइनमा काम गर्ने भएकाले ब्याक-अप छ, सिस्टम पुनर्स्थापित गर्न सकिने देखिएको छ," आयोगका प्रवक्ता पौडेल भन्छन्, "सुरुवाती चरणका कतिपय फाइलमा समस्या देखिएको छ।"

आयोगले घटना भएको केही दिनमै उजुरी लिन सुरु गरिसकेको छ। तर त्यसलाई अघि बढाउन आवश्यक साधन स्रोतको अभावले अवस्था असहज रहेको प्रवक्ता पौडेलको भनाइ छ।

"हिजोजस्तो कुनै उजुरी आउने बित्तिकै त्यो विषयको वजन र अवस्थाबारे तत्कालै भन्न सकिने अवस्था आज पक्कै छन्, किनकि थप विवरण माग्नु पर्ने कैयौँ निकायहरूमा पनि क्षति पुगेको छ।"

त्यसको लागि केही समय लाग्न सक्ने बताउँदै पौडेलले भने, "समग्र मुलुकको परिस्थिति त्यस्तो रहेकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि अछुतो छैन।"

दशैँपछि 'सुनुवाइ सुरु'

नेपालमा भ्रष्टाचारको बिरोध चर्को देखिन्छ

तस्बिर स्रोत, EPA

विशेष अदालतमा क्यामेरा लगायतका सामग्रीमा क्षति पुर्‍याइएकाले अनलाइन सुविधा तत्काल सम्भव नरहेको विशेष अदालतले जनाएको छ।

एउटा इजलास कक्षमा क्षति नपुगेकाले तत्कालै सुनुवाइ गर्न सकिने अवस्था छ।

त्यसैले नेटवर्किङ प्रणाली र सफ्टवेयरले काम गर्न थालेमा सुनुवाइ सुरु हुन सक्ने अदालतका सूचना अधिकारी रेग्मीको भनाइ छ।

उनका अनुसार सकेसम्म दशैँ बिदा लगत्तै नियमित काममा फर्किन सक्ने गरी अत्यावश्यक संरचना र अनलाइन प्रणाली पुनर्स्थापना गर्ने अदालतको योजना छ।

"अत्यावश्यक कुराहरू व्यवस्थापन गर्न सक्ने बित्तिकै मुद्दाको सुनुवाइ सुरु गर्न सक्छौँ," सूचना अधिकारी रेग्मीले भने, "केही उपाय लागेन भने हाललाई अनलाइन र सफ्टवेयर प्रणालीभन्दा बाहिरैबाट पनि काम सुरु गर्ने तयारी छ।"

अधिकारीहरूका अनुसार ती दुई निकायमा भएको भौतिक क्षतिका कारण भ्रष्टाचारमा मिसिल र प्रमाण नष्ट भयो कि भनेर चिन्ता गर्नुपर्ने अवस्था छैन। "प्रमाण मेटियो भनेर कोही खुसी नभए हुन्छ," एक अधिकारीले बताए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।