शान्ति योजनाबारे आइतवार जेलेन्स्की र ट्रम्पबीच छलफल हुँदै, परिवर्तित शान्ति योजनामा के मस्को सहमत होला

जेलेन्स्की र ट्रम्प

तस्बिर स्रोत, EPA/Shutterstock

तस्बिरको क्याप्शन, यसअघि जेलेन्स्की र ट्रम्पबीच अक्टोबरमा भेट भएको थियो
    • Author, सिन सेडोन
  • पढ्ने समय: ४ मिनेट

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार फ्लोरिडामा आफ्ना अमेरिकी समकक्षी डोनल्ड ट्रम्पलाई भेट्ने बताएका छन्। रुसको पूर्ण आकारको युद्ध अन्त्य गर्नेबारे वार्ता जारी रहँदा उनीहरूबीच भेट हुन लागेको हो।

जेलेन्स्कीका अनुसार उनी अमेरिकाको मध्यस्थताको शान्ति योजना र अमेरिकी सुरक्षा सुनिश्चितताका लागि छुट्टाछुट्टै प्रस्तावहरूमा ध्यान केन्द्रित गर्न चाहन्छन्। तर एक वरिष्ठ रुसी अधिकारीले पछिल्लो योजना रुसले अमेरिकासँग छलफल गरिरहेको भन्दा "निकै फरक" रहेको बताएका छन्।

रुसले युक्रेनको पूर्वी डोनबास क्षेत्रबाट सेना फिर्ता गरेमा युक्रेनले पनि त्यसै गर्ने भन्ने जेलेन्स्कीको प्रस्तावमा क्रेम्लिनले कुनै टिप्पणी गरेको छैन।

फेब्रुअरीमा भएको पहिलो ह्वाइट हाउस बैठक चर्काचर्कीमा परिणत भएयता जेलेन्स्कीले यस वर्ष ट्रम्पलाई कैयौँपटक भेटेका छन्। अक्टोबरमा ह्वाइट हाउसमा भएको उनीहरूको पछिल्लो भेट निकै सौहार्दपूर्ण थियो।

शनिबार राति भएका पछिल्ला रुसी हवाई हमलामा किएभ क्षेत्रमा कम्तीमा एक व्यक्ति घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्। राजधानीमा पनि विस्फोटनका आवाज सुनिएको थियो।

किएभका मेअर भिटाली क्लिट्स्कोले युक्रेनको वायु सेनाले उक्त आक्रमणलाई विफल पार्दै गरेको बताउँदै सहरका बासिन्दाहरूलाई आश्रय लिन आग्रह गरेका थिए।

युद्धयताको अवस्था

अग्रमोर्चामा लडाइँ जारी रहँदै गर्दा क्रिसमसको भोजन गर्दै गरेका युक्रेनी सैनिकहरू

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, अग्रमोर्चामा लडाइँ जारी रहँदै गर्दा क्रिसमसको भोजन गर्दै गरेका युक्रेनी सैनिकहरू

रुसले सन् २०२२ को फेब्रुअरीबाट युक्रेनमा पूर्ण आकारको आक्रमण सुरु गरेको थियो।

मस्कोले हाल डोनेट्स्क क्षेत्रको झण्डै ७५ प्रतिशत र छिमेकी लुहान्स्कको लगभग ९९ प्रतिशत क्षेत्र नियन्त्रण गर्छ। यी क्षेत्रलाई एकत्रित रूपमा डोनबास भनेर चिनिन्छ।

युक्रेनले शान्ति सम्झौताको एउटा हिस्साका रूपमा अमेरिकाबाट सुरक्षा सुनिश्चितता प्राप्त गर्न खोजेको छ।

जेलेन्स्कीले रुसले बल प्रयोग गरेर कब्जा गर्न असफल भएका डोनबासका क्षेत्रहरूका लागि एक निःशस्त्रीकृत "खुला आर्थिक क्षेत्र"को रूपमा सम्भावित विकल्प रहेको बताएका छन्।

शुक्रवार पत्रकारहरूसँग बोल्दै जेलेन्स्कीले २० बुँदे योजना ९० प्रतिशत पूरा भएको बताए: "हाम्रो काम सबै कुरा शतप्रतिशत तयार छ भनी सुनिश्चित गर्नु हो।"

उनले सामाजिक सञ्जालमा लेखेका छन्: "हामी एक दिन पनि खेर फालिरहेका छैनौँ। हामीले निकट भविष्यमा राष्ट्रपति ट्रम्पसँग सबैभन्दा माथिल्लो तहका बैठक गर्ने सहमति जनाएका छौँ। नयाँ वर्षअघि धेरै कुरा निर्णय गर्न सकिन्छ।"

ट्रम्प के भन्छन्?

तर शुक्रवार 'पोलिटिको'सँगको अन्तर्वार्तामा ट्रम्पले उनका युक्रेनी समकक्षीले आफूले "त्यसलाई अनुमोदन नगरेसम्म" केही नपाउने बताएका थिए।

"मलाई लाग्छ कि यो उहाँसँग राम्रो हुनेछ। मलाई लाग्छ यो [भ्लादिमिर] पुटिनसँग राम्रो हुनेछ," ट्रम्पले भने।

उनले आफूले रुसी राष्ट्रपतिसँग "चाँडै" कुरा गर्ने अपेक्षा गरेको समेत बताए।

ट्रम्पले 'पोलिटिको'लाई इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले आउँदा दिनमा भेट्न लागेको समेत बताए।

क्रेम्लिनका दूत किरिल दिमित्रीभ गत सप्ताहन्तमा फ्लोरिडामा भएको बैठकबाट फर्किएका थिए। त्यसपछि पुटिनका वरिष्ठ सहयोगीहरूले अमेरिकी अधिकारीहरूसँग फोनमा थप वार्ता गरेका छन्।

रुसी उपविदेशमन्त्री सर्गेई रियाबकोभ पछिल्लो घटनाक्रमको बारेमा सकारात्मक थिए। तर उनले युक्रेनले अमेरिकी योजनामा ​​"गडबड गर्ने किसिमको" वार्ता गर्ने प्रयास गरेको आरोप लगाए।

"मलाई लाग्छ सन् २०२५ को डिसेम्बर २५ हामी सबैका स्मृतिमा एउटा कोसेढुङ्गाको रूपमा रहनेछ जतिबेला हामी साँच्चै समाधानको नजिक पुग्यौँ। तर हामी अन्तिम धक्का दिन र सम्झौतामा पुग्न सक्छौँ कि सक्दैनौँ भन्ने कुरा हाम्रो काम र अर्को पक्षको राजनीतिक इच्छाशक्तिमा निर्भर गर्छ," उनले शुक्रवार रुसी सरकारी टेलिभिजनलाई भने।

जेलेन्स्कीको फ्लोरिडा भ्रमणको विवरण बाहिर आएको केही समयपछि उत्तरपूर्वमा रहेको युक्रेनको दोस्रो ठूलो सहर खार्किभका मेयरले रुसी हवाई आक्रमणमा दुई जनाको मृत्यु भएको र कैयौँ घाइते भएको बताएका छन्।

रुस सहमत होला?

पछिल्लो रुसी हवाई हमलाको मारमा किएभको एक घर

तस्बिर स्रोत, Ukraine's state emergencies service DSNS

तस्बिरको क्याप्शन, पछिल्लो रुसी हवाई हमलाको मारमा किएभको एक घर

अद्यावधिक गरिएको पछिल्लो अमेरिकी शान्ति योजनाका धेरै बुँदाहरूमा र त्यसमा पनि विशेष गरी भौगोलिक विषयका प्रस्तावहरूमा रुस सहमत हुने सम्भावना कम छ।

रुसी विदेश मन्त्रालयका प्रवक्ताले "देशहरूको समूह, मुख्यतः पश्चिमी युरोपेली" ले हासिल गरिएका कूटनीतिक प्रगतिलाई गलत दिशामा मोड्न खोजेको आरोप लगाए।

पुटिनले युक्रेनी सेनाहरू सबै डोनबासबाट फिर्ता हुनुपर्ने अन्यथा रुसले यसलाई कब्जा गर्ने भन्दै बारम्बार चेतावनी दिएका छन्। उनले युद्ध अन्त्य गर्ने विषयमा नगल्ने बताएका छन्।

जेलेन्स्कीले यसै साता उक्त योजनाको पछिल्लो संस्करणको रूपरेखा प्रस्तुत गरेका थिए। त्यो नोभेम्बरमा बाहिर आएको मूल २८ बुँदे मस्यौदाको परिष्कृत स्वरूप थियो।

पछिल्ला प्रस्तावहरू अमेरिका र युरोपलाई नेटोको धारा ५ को ढाँचामा गरिएको सुरक्षा ग्यारेन्टी प्रदान गर्न प्रतिबद्ध छ। त्यसले रुसले नयाँ आक्रमण सुरु गरेमा सहयोगीहरूलाई सैन्य सहयोग प्रदान गर्न प्रतिबद्ध पारेको छ।

यस सम्झौताले युक्रेनी सेनालाई ८ लाखमा राख्ने परिकल्पना गरेको छ जसलाई क्रेम्लिनले कटौती गर्न माग गरेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।