विश्वभर आईटी प्रणालीमा देखा परेको समस्या शनिवारबाट विस्तारै सुधार हुँदै

शुक्रवार संसारभर पाँच हजारभन्दा धेरै उडानहरू रद्द भएका थिए।

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, शुक्रवार संसारभर पाँच हजारभन्दा धेरै उडानहरू रद्द भएका थिए

शुक्रवार विश्वभर आईटी प्रणालीमा व्यापक समस्या देखा परेपछि व्यवसाय र सेवा क्षेत्रमा भएका अवरोधमा बिस्तारै सुधार हुन थालेको बताइएको छ।

सफ्टवेअर अपडेट गर्ने क्रममा साइबर सुरक्षा कम्पनी क्राउडस्ट्राइकबाट यो समस्या सुरु भएको थियो।

उक्त कम्पनीले एक नयाँ क्षमायाचना जारी गर्दै यस विफलताको "तह र असर आफूहरूले बुझेको" जनाएको छ र समस्या अब समाधान भइसकेको उल्लेख गरेको छ।

सङ्कट सिर्जना भएको यस परिस्थिति र यस्तो अवस्था नदोहोरिने सुनिश्चितताका लागि आफूहरू खुलस्त रहने सो कम्पनीले बाचा गरेको छ।

एउटा त्रुटिपूर्ण ढङ्गले सफ्टवेयर अपडेट हुँदा माइक्रोसफ्ट विन्डोज प्रणालीहरू प्रभावित भएका थिए।

सबै सामान्य हुन 'केही समय' लाग्ने

यस प्रविधि सङ्कटबाट व्यवसाय, ब्याङ्क, अस्पताल र विमान सेवाहरू सबैभन्दा नराम्रोसँग प्रभावित भएका थिए।

क्राउडस्ट्राइकका प्रमुख कार्यकारी अधिकृत जोर्ज कर्जले अवरोधका लागि माफी मागे तापनि सबै कुरा पूर्ववत् अवस्थामा फर्केर काम गर्ने हुनका लागि "केही समय" लाग्ने स्वीकारेका छन्।

शुक्रवार संसारभर पाँच हजारभन्दा धेरै उडानहरू रद्द भएका थिए।

केही विमान सेवाहरू सामान्य अवस्थामा फर्कन थाले तापनि सञ्चालकहरूले सप्ताअन्तभर नै केही ढिलाइ र रद्द हुने काम जारी रहने बताएका छन्।

उड्डयन विमान र विमानस्थल

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock

कैयौँ व्यवसायहरूले थाँती रहेका र छुटेका मागहरू मिलाउन काम गरिरहेकाले त्यो सुल्झाउन केही दिन लाग्ने बताइएको छ।

अमेरिकाको सबैभन्दा ठूलो ब्याङ्क जेपी मोर्गन चेसले आफ्ना एटिएम मेसिनहरूमा सेवा पुरानै अवस्थामा ल्याउन काम भइराखेको जनाएको छ।

यस समस्या सबैभन्दा सुरुमा अस्ट्रेलियामा देखा परेको थियो र सम्भवत: सबैभन्दा गम्भीर मार उड्डयन क्षेत्रले व्यहोर्‍यो।

ब्रिटेन, इजरेल र जर्मनीका स्वास्थ्य सेवाहरूले समेत समस्या सामना गरेका थिए।

प्रविधिको नाजुक अन्तरसम्बन्ध

आईटी समस्या

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock

संसारभर देखा परेका भद्रगोलले विश्वको अन्तर सम्बन्धित प्रविधिको नाजुक अवस्थालाई लिएर चिन्ता बढाएको छ।

एउटा सफ्टवेरमा देखा परेकै समस्याको असर त्यति व्यापक प्रभाव निम्त्याउने तहको हुने भन्दै चिन्ता व्यक्त भएको पाइन्छ।

यतिखेर साइबर सुरक्षा क्षेत्रमा क्राउडस्ट्राइकको ठूलो मध्येको एउटा कम्पनीका रूपमा रहेको प्रभावलाई लिएर प्रश्नहरू उठाइएको छ।

त्यस क्षेत्रको अहम् भूमिका केही थोरै कम्पनीको नियन्त्रणमा रहेको भन्दै त्यसो गर्नु कति विवेकपूर्ण हुने भनेर प्रश्न उठाइएको छ।

क्राउडस्ट्राइकको सेअर शुक्रवार १२ प्रतिशतले घटेको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।