विश्वभरि विमानसेवा र ब्याङ्कहरूमा कसरी समस्या आयो, समाधान कहिले होला

मड्रिड विमानस्थलमा यात्रुहरूको घुइँचो

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, मड्रिड विमानस्थलमा यात्रुहरूको घुइँचो

विश्वभरि विभिन्न ब्याङ्क, सञ्चारमाध्यम र विमानसेवासहित ठूला संस्थाहरूमा एकैपटक आईटी प्रणालीमा समस्या उत्पन्न हुँदा तिनले प्रदान गर्ने सेवाहरू प्रभावित भएका छन्।

विभिन्न विमानसेवाले आफ्ना उडानहरू स्थगित गरेका छन् भने धेरै ठाउँमा विमान उड्ने समय प्रभावित भएको बताइएको छ।

संयुक्त राज्य अमेरिकाको अल्यास्का राज्यले आकस्मिक सेवाहरू प्रभावित भएको जनाएको छ। अस्ट्रेलियामा सूपरमार्केटहरू ठप्प भएका छन्।

विभिन्न देशमा सञ्चारमाध्यमका कम्प्युटरमा आधारित प्रणालीमा समस्या उत्पन्न हुँदा तिनको काम प्रभावित भएको छ।

यूकेमा 'स्काई न्यूज' को प्रसारण केही समयका लागि बन्द भयो।

नेपालमा भने अहिलेसम्म कुनै सेवामा पनि समस्या उत्पन्न भएको जानकारी प्राप्त भएको छैन।

समस्या कसरी उत्पन्न भयो

कम्प्युटर प्रणालीमा खराबी

तस्बिर स्रोत, ABC News

प्रभावित धेरै पक्षले माइक्रोसफ्ट पीसीको अपरेटिङ सिस्टमसँग यो समस्या सम्बन्धित रहेको बताएका छन्।

"थर्ड-पार्टी सफ्टवेअर प्ल्याट्फर्ममा भएको अप्डेटका कारण विन्डोज प्रयोग हुने साधनहरूमा प्रभाव परेको हामीलाई थाहा छ। यो समस्या चाँडै समाधान हुन्छ भन्ने हामी ठान्छौँ," माइक्रोसफ्टका एक प्रवक्ताले भने।

क्राउडस्ट्राइक कम्पनीले म्याक र लिनक्स प्रयोग भएका कम्प्युटर प्रणालीमा समस्या नदेखिको जनाएको छ।

"समस्या पत्ता लागेको छ र त्यो समाधान गर्ने प्रयास भएको छ," उक्त कम्पनीले भनेको छ।

यसअघि माइक्रोसफ्टले सामाजिक सञ्जाल 'एक्स' मा पोस्ट गर्दै प्रयोगकर्ताहरूले माइक्रोसफ्ट ३६५ का एप र सेवा प्रयोग गर्न नसकेको विषयमा छानबिन भइरहेको जनाएको थियो।

हङ्‌कङमा मुद्रा सटही गर्ने काउन्टर पनि प्रभावित भएका छन्

तस्बिर स्रोत, REUTERS

साइबर आक्रमण भएको प्रमाण छैन

अस्ट्रेलियामा यो समस्याबाट धेरै प्रभाव परेको छ। अस्ट्रेलियाको गृह मन्त्रालयका एक प्रवक्ताले एउटा साइबर सुरक्षा फर्मसँग यो सम्बन्धित भएको जनाएका थिए। अस्ट्रेलियाको साइबर सुरक्षा निगरानी गर्ने निकायले दुराशयपूर्वक साइबर आक्रमण भएको जानकारी नभएको बताएको छ।

"प्रभावित कम्पनीहरूले प्रयोग गरेको बाह्य सफ्टबेअर प्ल्याट्फर्मसँग यो समस्या सम्बन्धित रहेको र यो प्रावधिक विषय भएको सूचना हामीसँग छ," उक्त निकायले एउटा विज्ञप्तिमा भनेको छ।

क्राउडस्ट्राइक कम्पनीले यो समस्या सुरक्षासँग असम्बन्धित रहेको र साइबर आक्रमण नभएको दाबी गरेको छ।

अल्यास्काका अधिकारीहरूका अनुसार आकस्मिक सेवाको नम्बर ९११ र आकस्मिकबाहेक अन्य सेवाका कल सेन्टरहरूमा काम प्रभावित भएको छ। तर अस्ट्रेलियामा आकस्मिक सेवाको नम्बर ००० यथावत् चलेको छ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यूके र अस्ट्रेलियाका पसल र बजारमा भुक्तानी गर्ने प्रणालीले काम नगरेको लेखेका छन्।

उडान प्रभावित भएको सूचना

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, विश्वभरि १,००० वटाभन्दा बढी उडानहरू प्रभावित भएका छन्

विमानहरू प्रभावित

दिल्ली विमानस्थलमा हातले लेखेर सूचना सम्प्रेषण गरिएको छ
तस्बिरको क्याप्शन, दिल्ली विमानस्थलमा हातले लेखेर सूचना सम्प्रेषण गरिएको छ

विश्वका विभिन्न देशमा विमानसेवा, ट्याक्सी र रेलसेवा पनि प्रभावित भएका छन्। त्यसबाट धेरै मानिसको यात्राको योजना पनि प्रभावित भएको छ।

अमेरिकी विमानसेवा यूनाइटेड, डेल्टा र अमेरिकन एअरलाइन्सले विश्वभरि आफ्ना सबै उडान तत्काल रोक्न निर्देशन दिएका थिए।

अस्ट्रेलियामा भर्जिन र जेटस्टारका उडानहरूमा विलम्ब भएको छ वा स्थगित भएको छ।

बर्लिन, टोक्यो र दिल्लीस्थित विमानस्थलहरू पनि प्रभावित भएका छन्।

बीबीसी संवाददाताका अनुसार कम्प्युटर प्रणालीले काम नगरेपछि दिल्ली विमानस्थलमा हातले लेखेर सूचना सम्प्रेषण गरिएको थियो।

नेपालस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने शुक्रवार अपराह्णसम्म प्रत्यक्ष प्रभाव परेको छैन।

विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार नेपालमा अहिले अन्यत्र समस्याग्रस्त भएको देखिएको प्रणाली प्रयोग नगरिने भएकाले त्यस खालको समस्या देखा परेको छैन।

कहिलेसम्म यो समस्या हल हुन्छ?

कम्प्युुटर प्रणालीमा समस्या

अमेरिका मुख्यालय रहेको साइबर सुरक्षा फर्म 'क्राउडस्ट्राइक'ले आफ्नो सफ्टवेअर अद्यावधिक गर्नुपरेका कारण उत्पन्न भएको अवरोधप्रति क्षमा मागेको छ।

एनबीसीसँगको अन्तर्वार्तामा उक्त कम्पनीका प्रमुख जर्ज कुत्सले आफ्नो अपडेटमा देखा परेको ‘बग’ ले माइक्रोसफ्टको अपरेटिङ सिस्टमलाई प्रभावित तुल्याएको बताए।

“हामीलाई समस्या के हो थाहा छ र हामीले त्यसलाई समाधान गरिसक्यौँ,” उनले भनेका छन्।

उनले कतिपय प्रणाली पुनः सञ्चालन हुन केही समय लाग्ने भन्दै आफ्नै सबै ग्राहकको सेवा गर्नु आफूहरूको उद्देश्य भएको बताए।

एउटा अमेरिकी एन्टीभाइरस कम्पनीको अपडेटले विश्वव्यापी स्तरमा यो तहको सङ्कट निम्त्याएको कयौँ घण्टा भइसकेको छ।

कतिपयले क्राउडसट्राइकको नाम योभन्दा अघि नसुनेका पनि हुन सक्छन्, तर उक्त कम्पनीले आफ्नो भाइरस स्क्यानर फाल्कोनलाई जे गर्‍यो, त्यसले दशौँ लाख विन्डोजमा आधारित कम्प्युटरहरूमा नकारात्मक असर परेको छ।

माइक्रोसफ्टले तत्कालै यो समस्या तेस्रो पक्षका कारण निम्तिएको बताएको थियो। एपल र लिनक्स प्रयोगकर्ताहरूले कुनै पनि समस्याको सामना गर्नुपरेन।

बीबीसीकी प्रविधि सम्पादक जो क्लिनमेन भन्छिन्, “विश्व कसरी टाढैबाट ठूला कम्पनीहरूले व्यवस्थापन गर्ने उपकरणहरूमा निर्भर छ भन्ने दुःखद यथार्थ यो घटनाले पुनः सम्झाएको छ। उनीहरू विफल हुँदा हामी कति शक्तिहीन बन्छौँ भन्ने पनि स्पष्ट भएको छ।”

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।