पाकिस्तानको निर्वाचनमा ‘व्यापक धाँधली’ भएको आरोप, सरकार बनाउने कसरतमा को-को?

चुनावमा धाँधली भएको भन्दै धार्मिक दलका कार्यकर्ताले पनि प्रदर्शन गरेका छन्

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, चुनावमा धाँधली भएको भन्दै धार्मिक दलका कार्यकर्ताले पनि प्रदर्शन गरेका छन्

पाकिस्तानमा बिहीवार भएको आम निर्वाचनमा व्यापक धाँधली भएको भन्दै त्यसको नतिजालाई चुनौति दिन त्यहाँका अदालतहरूमा व्यापक उजुरीहरू परेका छन्।

हाल जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको पाकिस्तान तहरीक-ए-इन्साफ पार्टी (पीटीआई)ले समर्थन गरेका उम्मेदवारहरूले मतदानमा धाँधली भएको आरोप लगाएका छन्।

चुनावी नतिजा र त्यसपछिको राजनीतिक परिस्थितिलाई लिएर उक्त दलले शान्तिपूर्ण प्रदर्शनको आह्वानसमेत गरेको छ।

इमरान खानको दलले पाकिस्तानको निर्वाचन आयोग र अन्य सरकारी भवनबाहिर शान्तिपूर्ण विरोध प्रदर्शनको आह्वान गरेको हो।

जेलमा रहेका खानलाई निर्वाचनमा प्रतिस्पर्धा गर्न रोक लगाइएको थियो। उनको दलको समर्थन पाएका धेरै स्वतन्त्र उम्मेदवारहरूले चुनाव जितेका छन्।

चुनाव जितेको दाबी

पाकिस्तान

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, जेलमा रहेका इमरान खानको दलले चुनाव जितेको दाबी गरेको छ। उनका प्रतिद्वन्द्वी नवाज शरिफको दलले पनि आफूले चुनाव जितेको दाबी गरेको छ

जेलबाटै खानले आफ्नो दलले चुनाव जितेको घोषणा गरेका छन् भने उनका प्रतिद्वन्द्वी नवाज शरिफले पनि जितको दाबी गरेका छन्।

हालसम्मको चुनावी नतिजाले खानको दलले समर्थन गरेका उम्मेदवारले धेरै स्थानमा जितेको देखाएको छ।

चुनावमा धाँधली भएको भन्ने खानको दलको आरोपलाई पाकिस्तानी अधिकारीहरूले भने अस्वीकार गरेका छन्।

पीटीआईले मात्र नभइ पाकिस्तानका कतिपय धार्मिक दलहरूले पनि चुनावमा धाँधली भएको आरोप लगाउँदै विरोध प्रदर्शनको आह्वान गरेका छन्।

जमात-ए-इस्लामीले कराची सहरका विभिन्न ८ स्थानमा प्रदर्शन गर्ने जनाएको छ। उसले जनमतको अपमान गर्न नदिने जनाएको छ।

जमीयत उलेमा-ए-इस्लाम ले पनि चुनावमा धाँधलीको आरोप लगाएको छ। यो समूहले सिन्ध प्रान्तका २८ स्थानमा प्रदर्शनको आह्वान गर्दै राष्ट्रिय राजमार्गमा चक्काजामको गर्ने जनाएको छ।

चुनावी नतिजा

खान समर्थक

तस्बिर स्रोत, EPA

पाकिस्तानको निर्वाचन आयोगले न्याशनल असेम्ब्लीका कुल २६५ सीटमध्ये २५७ सीटको नतिजा घोषणा गरेको छ।

उसले बलुचिस्तानका सात क्षेत्रको नतिजा भने सार्वजनिक गर्न बाँकी छ।

हालसम्मको नतिजा अनुसार खानको दल समर्थित उम्मेदवारहरू ९३ सीटमा विजयी भएका छन्।

नवाज शरिफको दल मुस्लिम लिग-एनले ७४ सीटमा चुनाव जितेको छ भने बिलावल भुट्टो जरदारीको दल पाकिस्तान पिपुल्स पार्टीले ५४ सीटमा विजय हासिल गरेको छ।

एमक्यूएमले १७ सीटमा चुनाव जितेको छ भने पाकिस्तान मुस्लिम लिग र जमीयत उलेमा-ए-इस्लामले तीन-तीन सीटमा विजय हासिल गरेका छन्।

सरकार बनाउने कसरतमा दलहरू

नवाज शरिफ

तस्बिर स्रोत, Getty Images

इमरान खानको दल पीटीआईले जितको दाबी गरिरहेका बेला नवाज शरिफको दलसहित अन्य दलहरू मिलेर सरकार गठनको प्रयासलाई तीव्र पारेको खबर आएको छ।

त्यसै क्रममा पछिल्लो पटक एमक्यूएम पार्टीका प्रतिनिधिमण्डलले पूर्व प्रधानमन्त्री नवाज शरिफसँग भेट गरेको बीबीसी उर्दूले जनाएको छ।

शरिफको दल पाकिस्तान मुस्लिम लिग-एनका प्रवक्ता तथा पूर्वमन्त्री मरियम औरङ्गजेबले एमक्यूएम नेताहरूले नवाज शरिफलाई भेटेको जनाएका छन्।

इमरान खानको दलका अध्यक्ष गौहर अलि खानले आफ्नो दलसँग बहुमत भएका कारण देशका सबै संस्थाले त्यसलाई स्वीकार्नु पर्ने बताएका छन्।

शरिफको दलका प्रवक्ताले पनि आफ्नो सरकार बनाउनका लागि उनको दलले भुट्टोको पार्टीसँग कुराकानी गर्ने बताएका छन्।

उनले जियो न्यूजसँग त्यसका लागि सुरुवाती चरणको कुराकानी भएको बताएका थिए। उनले इमरान खानको दलसँग सत्ता साझेदारीको सम्भावना भने नरहेको बताएका छन्।

त्यसअघि बिलावल भुट्टोले चाहिँ सरकार बनाउने विषयमा कुनै पनि दलसँग कुराकानी नभएको बताएका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।