मोबाइल सेवा बन्द गरेर पाकिस्तानमा मतदान

पाकिस्तानमा मतदान गर्दै एक महिला

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, धाँधलीको आरोप-प्रत्यारोपमाझ भइरहेको निर्वाचनको परिणाम विश्वसनीय हुन नसक्ने विश्लेषकहरूले बताएका छन्
    • Author, इभेट टान र फ्लोरा ड्ररी
    • Role, बीबीसी न्यूज

पाकिस्तानमा मोबाइल फोनमा कल गर्ने र इन्टरनेट चलाउने सुविधा बन्द गरेर बिहीवार मतदान भएको छ।

जेलमा रहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीले नागरिक अधिकारमाथिको नियोजित हनन भन्दै सरकारी कदमको आलोचना गरेको छ।

मतदानको दिन मोबाइल कल तथा डेटा सेवा पूर्ण रूपमा बन्द गरिएका भए पनि वाईफाईले भने काम गरिरहेको बुझिएको थियो।

आन्तरिक मामिला मन्त्रालयका एक प्रवक्ताले चुनावको पूर्वसन्ध्यामा भएका हिंसात्मक घटनाका कारणले यस्तो कदम चाल्न परेको बताएका थिए। "देशमा भर्खरै मात्र भएका आतङ्कवादी घटनाहरूले गर्दा धनजनको क्षति भएको छ। शान्ति सुरक्षा कायम राख्न र सम्भावित खतराहरूको सामना गर्न यस्ता सुरक्षा उपायहरू आवश्यक रहेका छन्," उनले भने।

मतदानका दिन भएको एक विस्फोटको घटनामा पाँच जना प्रहरी मारिएको विवरण आएका छन्। अर्को ठाउँमा भएको हमलामा एक जना सैनिक पनि मारिएका थिए।

हत्या गरिएकी पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोका छोरा बिलावल भुट्टो जरदारीले मोबाइल फोन र डेटा बन्दको विरोध गरेका छन्। चुनावमा प्रधानमन्त्रीको उम्मेदवार रहेका उनले सबै सेवा तत्काल खोल्न अग्रह गरेका थिए।

साथै उनको पाकिस्तान पिपल्स पार्टी (पीपीपी) यस विषयलाई लिएर निर्वाचन आयोग र अदालत पनि गएको थियो।

परिणामको विश्वसनीयतामा प्रश्न

धाँधलीको आरोप-प्रत्यारोपमाझ भएको निर्वाचनको परिणाम विश्वसनीय हुन नसक्ने विश्लेषकहरूले बताएका छन्।

देशभरि बढेको महँगी, फैलिएको हिंसा अनि धाँधली हुने दाबीका माझ निर्वाचन भएको हो।

पूर्व प्रधानमन्त्री एवं पूर्व क्रिकेट कप्तान इमरान खानलाई अविश्वासको मतमार्फत् सत्ताच्यूत गरिएको करिब दुई वर्ष पश्चात् चुनाव भएको हो।

चुनावमा पाकिस्तान मुस्लिम लीग (नवाज) पीएमएल-एन र पाकिस्तान पिपल्स पार्टी पीपीपी मुख्य प्रतिस्पर्धी मानिएका छन्।

को को छन् दौडमा?

नवाज शरीफ, बिलावल भुट्टो जरदारी र इमरान खान

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, नवाज शरीफ र बिलावल भुट्टो जरदारी चुनावी मैदानमा उत्रन पाएका छन् भने इमरान खान जेलमा छन्

सरकारबाट बाहिरिएपछि इमरान खानलाई भ्रष्टाचारका आरोपहरूमा जेल हालियो र उनलाई चुनाव लड्नबाट प्रतिबन्ध लगाइयो।

यसअघि तीन पटक प्रधानमन्त्री भइसकेका नवाज शरीफ मैदानमा उत्रिएका छन्।

साथै पाकिस्तान पिपल्स पार्टी पीपीपीका बिलावल भुट्टो जरदारी पनि मैदानमा छन्। उनी पूर्व प्रधानमन्त्री बेनजिर भुट्टोका छोरा हुन्।

कतिपय विश्लेषकहरूले यसलाई पाकिस्तानको हालसम्मकै सबभन्दा कम विश्वसनीय चुनाव मानेका छन्।

निर्वाचन सम्बन्धी समाचार सामग्रीमा – उम्मेदवारहरूबारेका टिप्पणी, प्रचारप्रसार एवं जनमत सर्वेक्षण – कडा नियमन गरिएको छ जुन मतदान नसकिएसम्म स्थानीय समय बेलुकी ५ बजेसम्म लागु रहनेछ।

निर्वाचन परिणाम दुई साताभित्र आइसक्नु पर्नेछ।

पाकिस्तान

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, कराँचीमा चुनावी प्रचारप्रसारको माहौल

कति छन मतदाता?

करिब १२ करोड ८० लाख मतदाता रहेका छन् भने तीमध्ये झन्डै आधा जति मतदाता ३५ वर्षभन्दा कम उमेरका छन्।

उनीहरूले ५००० उम्मेदवारहरू मध्ये आफ्नो चयन गर्नेछन्।

महिला उम्मेदवारको सङ्ख्या जम्मा ३१३ छ।

इमरान खान अध्यक्ष भएको पाकिस्तान तेहरिक-ए-इन्साफ पीटीआई पार्टीलाई भने उसको पुरानो चुनाव चिन्ह ‘क्रिकेटको ब्याट’ प्रयोग गर्नबाट प्रतिबन्ध लगाइएका कारण उम्मेदवार छान्न समेत कठिन भयो।

कुल जनसङ्ख्याको ४० प्रतिशत मानिसले पढ्न नजान्ने देशमा चुनावचिन्हले धेरै महत्त्वपूर्ण भूमिका खेल्ने ठानिन्छ।

धाँधलीका चिन्ता

पीटीआई पार्टीले उसका उम्मेदवारहरूलाई जित्नबाट रोक्न तिनलाई थुन्ने, र्‍याली गर्न नदिने एवं भूमिगत हुन बाध्य पार्ने जस्ता दाउपेच गरिएका आरोप लगाएको छ।

खानलाई १४ वर्षको जेल सजाय भएको छ।

गत साता पाँच दिनभित्र भएका बेग्लाबेग्लै फैसलामा अदालतले उनलाई तीनवटा भिन्नाभिन्नै मुद्दामा सजाय सुनाएको हो।

उनका वकिलका अनुसार खानविरुद्ध अझै १७० विभिन्न अभियोगहरू लगाइएका छन्।

पीटीआईले पाकिस्तानको शक्तिशाली सेनाले हस्तक्षेप गरेको आरोप लगाएको छ।

सेनासँग खानको सम्बन्ध विग्रिएपछि उनको राजनीति ओरालो लागेको बताइन्छ।

नवाज शरीफको पुनरागमन

तर यसपालि मतदाताहरूले नवाज शरीफलाई भने भोट हाल्न पाउनेछन्।

जबकी अघिल्लो आम निर्वाचन ताका पीएमएल-एनका नेता शरीफ भ्रष्टाचारको आरोपमा जेल सजाय खेप्दै थिए।

पूर्व प्रधानमन्त्री शरीफलाई सन् १९९९ मा पर्वेज मुशर्रफले सैन्य कू मार्फत् हटाइदिएका थिए भने उनको तेस्रो कार्यकाल चाहिँ सन् २०१७ मा पनामा पेपर्स काण्डमा अदालतले दिएको फैसलाबाट छोट्टिएको थियो।

स्वनिर्वासनमा रहेका शरीफ हालै मात्र पाकिस्तान फर्किएका हुन्।

उनीमाथि लागेका आजन्म सार्वजनिक पद धारण गर्न नपाइने फैसलाका साथै उनका आपराधिक रेकर्ड सबै मेटिएका छन् र अब उनी चौथो कार्यकाल सम्हाल्न पाउने गरी मैदानमा उत्रिन पाएका छन्।

तर कुनै एक पार्टीले बहुमत पाउला कि नपाउला भन्ने प्रस्ट छैन।

त्यहाँको न्याशनल असेम्बलीको ३३६ सिटमध्ये कम्तीमा १६९ सिट जित्नेले बहुमत पाउँछ।

आर्थिक सङ्कटमा जनता

पाकिस्तान

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, आर्थिक सङ्कटको मुद्दा मतदाताहरूको मनमा सबभन्दा माथि हुने ठानिन्छ

हाल पाकिस्तानमा जारी आर्थिक सङ्कटका कारण करोडौँ मानिस पिल्सिएका छन्।

त्यसमाथि सन् २०२२ मा आएको विनाशकारी बाढीले मानिसहरू अप्ठेरोमा छन्।

महँगी अचाक्ली बढिरहेको छ भने पैसाको अभावले मानिसहरूलाई चौतर्फी समस्या परेको छ।

अनि देशैभरि बढिरहेको हिंसा पनि चिन्ताको कारण बनेको छ।

इस्लामावादस्थित सेन्टर फर रिसर्च एन्ड सेक्युरिटी स्टडिजका अनुसार सन् २०२३ मा लगातार तेस्रो वर्ष पाकिस्तानमा हिंसा चर्कियो।

उक्त वर्ष सन् २०१७ यताकै सबैभन्दा धेरै सङ्ख्यामा सुरक्षा फौज, विद्रोही र गैरसैनिकको मृत्यु भएको उसले जनाएको छ।

खतरनाक राजनीति

राजनीतिमा समावेश हुनु नै खतरनाक बनेको छ।

मतदान केन्द्रहरू खुल्न २४ घण्टाभन्दा कम समय बाँकी रहँदा बुधवार बलोचिस्तान प्रान्तमा उम्मेदवारहरूका कार्यालय लक्षित दुई बेग्लाबेग्लै आक्रमणमा २८ जनाभन्दा धेरैको ज्यान गयो।

मतदानकै दिन थप आक्रमण हुनसक्ने सम्भावनाबारे अधिकारीहरू बेखबर छैनन्।

बिहीवार निर्वाचनको पूर्ण सुरक्षाका निम्ति इरान र अफगानिस्तानसँगका सीमानाकाहरूमार्फत् सामग्री तथा यात्रु ओसारपसार रोकिने पाकिस्तानका विदेश मन्त्रालयले जनाएको छ।

दशौँ हजार सेना अनि अर्धसैन्य फौजलाई सुरक्षाका निम्ति देशैभरका मतदान केन्द्रहरूमा खटाइएको छ।

पाकिस्तानको निर्वाचन आयोगले कुल ९०,६७५ मतदान केन्द्रमध्ये आधालाई सुरक्षा जोखिमका आधारमा ‘संवेदनशील’ वा ‘अति संवेदनशील’ भनेर वर्गीकरण गरेको छ।

विश्लेषकहरूका अनुसार धेरै मतदाता सहभागी भएमा पीटीआईलाई फाइदा पुग्नसक्छ।

देशको आर्थिक सङ्कटबाट कसरी पार पाउने अनि त्यसको दोष कसलाई थोपर्ने भन्ने विषय मतदाताहरूको मनमा सबभन्दा माथि हुने देखिन्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।