हङ्‌कङमा बेन्चमा बसेका मेस्सीले जापानमा खेलेपछि चिनियाँ प्रशंसकहरू क्रुद्ध

आइवार हङ्‌कङमा भएको खेलमा मेस्सी बेन्चमा नै बसे

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, हङ्‌कङमा भएको खेलमा मेस्सी बेन्चमा नै बसे
    • Author, निकोलस यङ
    • Role, बीबीसी न्यूज, सिङ्गापुर

आफू घाइते भएको भन्दै हङ्‌कङमा नखेलेका लिओनेल मेस्सीले जापानमा मैत्रीपूर्ण खेल खेलेपछि चिनियाँ प्रशंसकहरू उनीसँग रिसाएका छन्। उनको व्यवहारप्रति विभिन्न शङ्का उपशङ्का उत्पन्न भएका छन्।

सरकारी पत्रिका ग्लोबल टाइम्सले मेस्सी र उनको क्लब इन्टर मायामीले "राजनीतिक उद्देश्यसहित" हङ्‌कङलाई "लज्जित पार्न" त्यसो गरेको आरोप लगाएको छ।

हङ्‌कङमा आइतवार भएको खेलमा मेस्सी चोटको कारण देखाउँदै बेन्चमा नै बसेका थिए। तर बुधवार जापानको राजधानी टोक्योमा भएको खेलमा भने उनी खेल्न मैदानमा गए। चिनियाँ प्रशंसकहरूले उनको त्यस्तो व्यवहारप्रति प्रश्न उठाएका छन्।

आइतवार भएको खेलपछि इन्टर मायामी क्लबका मालिकमध्ये एक डेभिड बेकमले सम्बोधन गर्दा हङ्‌कङ रङ्गशालामा उपस्थित ३८,००० फुटबलप्रेमीले असन्तुष्टि व्यक्त गर्दै आफ्नो पैसा फिर्ता मागेका थिए। उनीहरूले ३६ वर्षीय मेस्सी खेलेको हेर्न ६२४ अमेरिकी डलरसम्म तिरेर टिकट किनेका थिए।

गत वर्ष अस्ट्रेलिया र आर्जेन्टिनाबीच भएको मैत्रीपूर्ण खेल खेल्न मेस्सी बेजिङ जाँदा उनलाई भव्य स्वागत गरिएको थियो। उनको खेल हेर्न झन्डै ६८,००० जनाले ६८० अमेरिकी डलरसम्म तिरेका थिए।

उनी ह्वावे, चेरी, टेन्सन्ट, मङ्निउ, चिशुइ रिभर वाइन र जेएन्ड टी एक्सप्रेस लगायतका ठूला चिनियाँ ब्र्यान्डका दूत पनि हुन्।

चोटका कारणले हङ्‌कङमा नखेलेका मेस्सी तीन दिनमै जापानमा भने खेले

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, बुधवार टोक्योमा भएको खेलमा मेस्सी मैदानमा गए

'मेस्सीलाई घृणा'

हङ्‌कङका संस्कृति, खेलकुद तथा पर्यटनसचिव केभिन यङका अनुसार सरकारी अधिकारीहरूलाई मेस्सीले खेल्ने आश्वासन बारम्बार दिइएको थियो। तर खेल सुरु हुनुभन्दा १० मिनेटअघि तिघ्राको मांसपेशीको चोटका कारण उनी खेल्न नसक्ने जानकारी गराइयो।

"हामीले वहाँहरूलाई मेस्सीले खेल्न नसके पनि मैदानमा आई प्रशंसकहरूसँग अन्तरक्रिया गर्ने वा ट्रफी ग्रहण गर्ने जस्ता कुनै उपाय निकाल्न आग्रह गर्‍यौँ," यङले भने, "दुर्भाग्यवश, तपाईँहरूले देखिहाल्नु भयो त्यस्तो भएन।"

हङ्‌कङका प्रमुख कार्यकारी जन लीले पनि मैदानमा मेस्सीको अनुपस्थितिले आफू निराश भएको बताउँदै आयोजकहरूले स्पष्टीकरण दिनुपर्ने माग गरे।

सांसद रेजिना इपले रिसाउँदै "यो जानाजानी र सुनियोजित रूपमा गरिएको हेला देखेर हङ्‌कङवासीले मेस्सी, इन्टर मायामी र उनीहरू पछाडिको कालो हातलाई घृणा गरेको" बताइन्।

"मेस्सीलाई कहिल्यै हङ्‌कङ फर्कन दिनु हुँदैन। उनको झुट र आडम्बर घिनलाग्दो नै भयो," उनले भनिन्।

मेस्सीको स्पष्टीकरण

आइतवारको खेल आयोजना गरेको कम्पनी 'ट्याट्लर एशिया'ले एउटा विज्ञप्ति जारी गर्दै मेस्सीलाई चोट लागेको अवस्थामा बाहेक खेल्न अनुबन्ध गरिएको जानकारी दिएको छ।

कम्पनीले झन्डै २० लाख अमेरिकी डलर बराबरको सरकारी अनुदानका लागि आफूले दिएको आवेदन पनि फिर्ता लिएको जानकारी गरायो। मेस्सी सहभागी हुने भनिएको खेललाई ठूलो उत्सव मानिएको थियो। आयोजकहरूले सरकारसँग आर्थिक सहयोग पनि लिन खोजेका थिए।

जापानमा मैत्रीपूर्ण खेल खेलेको दिन मेस्सीले चिनियाँ सामाजिक सञ्जाल वेबोमा लेख्दै आफ्नो काछ सुन्निएको र दुखेको भन्दै दुःखमनाउ गरे।

"कुनै दिन फेरि हङ्‌कङमा हाम्रा प्रशंसक र साथीहरूका लागि उत्कृष्ट (खेल) प्रदर्शन गर्ने अवस प्राप्त हुन्छ भन्ने आशा छ," उनले लेखे।

उनको यो पोस्टमा झन्डै डेढ लाखवटा प्रतिक्रिया आए। तीमध्ये केही उनको समर्थनमा भए पनि अधिकांश उनको विरोधमा छन्।

धेरै जनाले मेस्सीप्रति आक्रोश व्यक्त गरेका छन्। केहीले उनलाई "ठग" र "फोहोर" को सङ्ज्ञा समेत दिएका छन्। अन्यले मेस्सीले जापानीहरूलाई रिझाउन खोजेको र चिनियाँहरूमार्फत् केवल पैसा कमाउन खोजेको आरोप लगाएका छन्।

"क्षमा माग्नुपरेन, बरु अब कहिल्यै चीन नआऊ। तिमीले राम्ररी फुटबल खेल्नु भनेको तिमी असल व्यक्ति व्यक्ति हौ भन्ने हैन," एक जनाले लेखेका छन्।

थप रिपोर्टिङ बीबीसी मनिटरिङबाट

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।