यसपालि डोनल्ड ट्रम्पलाई राष्ट्रपतिको चुनाव लड्न किन कठिन

    • Author, एन्थोनी जर्चर
    • Role, उत्तर अमेरिका संवाददाता, बीबीसी

निर्वाचनमा पराजय बेहोरेका कारण ह्वाइट हाउस छाडेका अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले एउटा विरलै देखिएको प्रयास अन्तर्गत तेस्रो पटक राष्ट्रपति चुनावको दौडमा आफू रहने घोषणा गरेका छन्।

एक घण्टा भन्दा लामो सम्बोधनमा उनले आफ्नो कार्यकालका उपलब्धिहरूको चर्चामात्रै गरेनन, राष्ट्रपति जो बाइडन पदमा बहाल पहिलो दुई वर्षको चर्को आलोचना गरे।

उनी बोलिरहँदा पहिला पनि कायम रहेका उनका कतिपय बलिया पक्ष सार्वजनिक रूपमा प्रकट भएको थियो। त्यसमा रूढीवादी कन्जरभेटिभहरूलाई आकर्षित गर्ने आप्रवासन र अपराध जस्ता मुद्दा पर्छन्।

उनको लख काट्नै नसकिने र उत्तेजक शैलीले समाचारहरूलाई उनी तिरै तान्ने गरेको छ जसले उनका प्रतिस्पर्धाहरूलाई स्वाभाविक चर्चाबाट वञ्चित गर्छ।

उनीप्रति बफादार समर्थक प्रभावशाली छन् र उनले चुनावप्रति खासै रुचि नराख्ने अमेरिकीहरूलाई पनि मतदानका लागि प्रेरित गर्न सक्छन्।

पदबाट बाहिर पुगेको चार वर्षपछि पनि उनका कैयौँ समर्थकहरू रिपब्लिकन दल भित्र बलियो अवस्थामा छन्।

तर उनको सम्बोधनले ट्रम्पका कतिपय कमजोर पक्षलाई पनि उजागर गरेको छ।

त्यसमा कोभिड महामारीको समयमा चालिएका गलत कदमको ढाकछोप गर्न र आफ्ना समर्थकहरूले अमेरिकी संसद्‌मा ६ ज्यानुअरी २०२१ मा गरिएको आक्रमणलाई निरन्तर अस्वीकार गरिएको विषय पनि पर्छ।

अघिल्लो हप्ताको चुनावमा रिपब्लिकन दलको केही कमजोर प्रदर्शनको बचाऊ गर्ने प्रयास गरेका उनले पराजित उम्मेदवारलाई गरिरहेका छन्।

अघिल्लो पटक आफू परम्परागत उम्मेदवार नभई आन्दोलन भएको उल्लेख गरेका ट्रम्प त्यही अभियानबाट ६ वर्षअघि राष्ट्रपति चुनिएका थिए। तर यसपालिका उनको व्हाइट हाउससम्म पुग्ने प्रयास थप चुनौतीपूर्ण बन्ने देखिन्छ।

१. कीर्तिमानी चुनावी अभियान

आठ वर्षअघि ट्रम्प राजनीतिक रूपमा कतै झुकाव नराख्ने व्यक्ति थिए। पदीय जिम्मेवारी सम्हालेको कुनै अनुभव नरहेका उनीमाथि मतदाताहरूले तीनका आकाङ्क्षा र अपेक्षा राखे।

उनले व्यापक प्रतिबद्धताहरू जनाए जसप्रति आलोचकहरूले विगतका त्रुटि र विफलता औँल्याएनन्।

तर अहिले अवस्था त्यस्तो छैन। चार वर्षे कार्यकालमा उल्लेख्य उपलब्धि देखिएको थियो जसमा कर कटौती र फौजदारी न्याय प्रणाली पर्छन्। तर उनका कतिपय नीतिहरू विफल पनि भए।

स्वास्थ्य सेवा सुधार सम्बन्धी डेमोक्र्याटहरूको कार्यक्रम उल्टाउन असफल उनको कार्यकाललाई रिपब्लिकनहरूले बिर्सिएका छैनन्। पूर्वाधारमा लगानीबारेका उनका वाचा कहिल्यै पुरा भएनन्।

कोरोनाभाइरस महामारीको व्यवस्थापन सम्बन्धी उनको नीतिहरूको पनि कैयौँ कोणबाट आलोचना भएका छन्।

२. ज्यानुअरी ६ को छाया

राष्ट्रपति ट्रम्पको यसअघिको कार्यकालको मात्रै समीक्षा हुनेछैन।

उनले आफ्नो कार्यकाल अन्त्य हुनै लाग्दाको आफ्नो व्यवहारको प्रतिरक्षा गर्नुका साथै ६ ज्यानुअरी २०२१ मा अमेरिकी संसद् भवनमा भएको आक्रमणमा आफ्नो भूमिकाबारे जवाफ दिनुपर्ने हुन्छ।

ट्रम्प समर्थनको सङ्केत सहितका झन्डा बोक्दै संसद्‌मा तोडफोड मच्चाएको र शान्तिपूर्ण रूपमा सत्ताको हस्तान्तरणलाई अस्थायी रूपमा रोक्न खोजेको कुरा सहजै भुल्न सकिदैँन।

त्यस दिनको घटनाले हालैको चुनावलाई प्रभावित पारेको छ र ट्रम्पको भनाई र गराइले अझै पनि मतदाताको व्यवहारलाई प्रभावित तुल्याउनसक्छ।

सन् २०२० को चुनावको परिणाम अस्वीकार गर्ने ट्रम्पको निर्णयको पक्षमा दह्रो गरी उभिएका कैयौँ रिपब्लिकन नेताहरू पराजित भएका छन्।

३. कानुनी जटिलता

ट्रम्प राष्ट्रपतीय चुनाव अभियानमा आउन व्यग्र हुनुको एउटा कारण उनले आफूमाथिका फौजदारी तथा अन्य न्यायिक अनुसन्धानको सामना गर्नु परिरहेको छ।

उनी त्यसलाई बृहत् राजनीतिक प्रतिसोधको हिस्साका रूपमा देखाउन चाहन्छन्। जनसम्पर्कका लागि त्यसले केही काम गर्नसक्ने भएपनि यसमा ट्रम्प कानुनी रूपमा तानिने निश्चित छ।

ट्रम्पले अहिले जोर्जियामा चुनावमा धाँधली गरेको सम्बन्धी एउटा जाँचमा आफ्नो प्रतिरक्षा गरिरहेका छन्।

उनले आफ्नो व्यापारसँग सम्बन्धित एउटा ठगीको घटना न्यू योर्कमा, यौन दुर्व्यवहार सम्बन्धी आरोपमा मानहानी र संसद् भवनमा भएको हमला र राष्ट्रपति पदबाट बाहिरिएपछि अति गोप्य कागजपत्रको व्यवस्थापनलाई लिएर सङ्घीय जाँचको सामना गरिरहेका छन्।

सबैभन्दा खराब अवस्थामा उनले ठूलो आर्थिक जरिवाना तिर्नुपर्ने हुनसक्छ वा उनी जेल समेत जान सक्छन्।

४. एक जना कडा प्रतिस्पर्धी

आठ वर्षअघि राष्ट्रपति पदका लागि रिपब्लिकन दलभित्र उम्मेदवारको खोजी हुँदा ट्रम्पले फ्लोरिडाका गभर्नरसँग प्रतिस्पर्धा गर्नुपरेको थियो। तर जेब बुस कागजी बाघमात्रै सीमित हुन पुगे।

त्यसबेला चर्चित थर र ठूलो चुनावी अभियान बुसका लागि पर्याप्त थिएन।

आप्रवासन र शिक्षा सम्बन्धी उनका नीतिले रिपब्लिकन समर्थकलाई आकर्षित गर्न सकेनन्। र, बुस थरले कुनै बेला पार्टीमा कायम गरेको ओज सो चुनावमा मत्थर भइसकेको थियो।

यदि ट्रम्प सन् २०२४ मा पुन मनोनीत हुन चाहन्छन् भने उनले फ्लोरिडाका गर्भनरलाई फेरि पाखा लगाउनुपर्नेछ।

तर बुस भन्दा पृथक रहेका रन डेसान्टिस हालै भारी मत सहित पुनः निर्वाचित भएका छन् र उनको पार्टीका खास समर्थकहरूसँग विचार मिल्छ।

राष्ट्रिय रूपमा परीक्षण हुन बाँकी रहेपनि उनको राजनीतिक उचाइ बढी रहेको छ।

अहिले नै उनी रिपब्लिकन दलको राष्ट्रपतीय उम्मेदवार बन्ने दौडमा हुन्छन् कि हुँदैनन् प्रस्ट छैन।

तर ट्रम्पलाई अर्को मौका दिन नचाहनेहरूका लागि उनी सहमतिको अर्को रोजाइ हुनसक्नेछन्।

५. घट्दो लोकप्रियता

ट्रम्पको घोषणा अघि एउटा कन्जरभेटिभ समूहले सार्वजनिक गरेको सर्वेक्षणमा आयोवा र न्यूह्याम्पसियरका मतदातामाझ ट्रम्प रन डेसान्टिसभन्दा दोहोरो अङ्कले पछि रहेको पाइएको थियो।

यी राज्यहरूले रिपब्लिकन दलभित्रको मनोनयन प्रक्रियाको प्रारम्भमा नै मतदान गर्छन्।

डे सान्टीसले फ्लोरिडामा २६ र डिसेम्बरमा एक जना सिनेट सदस्यका लागि उपचुनाव हुन लागेको जोर्जियामा २० अङ्कको अग्रता लिएका छन्।

यसअघिको सर्वेक्षणभन्दा अहिले ट्रम्पको सङ्ख्या यी राज्यहरूमा अझै कमजोर छ।

न्यू ह्याम्पसियरमा जम्मा ३० प्रतिशत मतदाताले उनीहरूले ट्रम्प पुन उम्मेदवारका रूपमा लडेको आफूहरूले देख्न चाहेको बताएका छन्।

फ्लोरिडामा त्यो सङ्ख्या बढेर जम्मा ३३ प्रतिशत मात्रै रहेको छ।

६. बुढ्यौली उमेर

यदी ट्र्म्प यसपटक राष्ट्रपति चुनिए भने सपथग्रहण गर्दा उनी ७८ वर्षका हुनेछन्।

त्यही उमेरमा जो बाइडन ह्वाइट हाउसमा प्रवेश गरेका थिए।

अमेरिकी इतिहासमै ट्रम्प दोस्रो वृद्ध राष्ट्रपति बन्नेछन्। सम्भवत आफू भन्दा कम उमेरका प्रतिस्पर्धीसँगको भिडेर चुनावी अभियान पार लगाउन उनका लागि कठिन हुनसक्छ।

विगतमा ट्रम्पको सहनशीलता उल्लेख्यनीय देखिएको थियो तर सबै व्यक्तिको आफ्नै सिमितता हुन्छ।