यातायात मजदुरहरूले गरेका विरोधकामाझ घटित ‘गोङ्गबुँ घटना’ले उब्जाएका सुरक्षासम्बन्धी प्रश्न

तस्बिर स्रोत, Getty Images
यातायात व्यावसायी र मजदुरको आन्दोलनका नाममा सोमवार राजधानीको नयाँ बसपार्क क्षेत्रमा भएको “आगजनी, तोडफोड र लुटपाट” को घटनालाई सुरक्षा मामिलाका विज्ञहरूले “दण्डहीनताको उग्र रूप” भनेर चिन्ता व्यक्त गरेका छन्।
उनीहरूका भनाइमा उक्त घटनाले “सुरक्षा निकायमाथिको चरम राजनीतिकरणले सुरक्षाकर्मीको मनोबल व्यापक गिरेको अवस्था”लाई समेत उजागर गरेको छ।
यातायात व्यवसायी र मजदुरहरूले उक्त घटनाप्रति दु:ख व्यक्त गर्दै “त्यसको कारण नयाँ बसपार्क निर्माण, सञ्चालन तथा व्यवस्थापनमा संलग्न” कम्पनी भएको आरोप लगाएका छन्।
प्रहरीले भने आफ्नो तर्फबाट उक्त घटनाको “अनुसन्धान गरिरहेको” बताएको छ।
घटनाको कारण
यातायात मजदुरहरूले गत माघ अन्तिम सातादेखि विभिन्न माग राखेर विरोध प्रदर्शन गरिरहेका थिए।
उनीहरूको आन्दोलनलाई यातायात व्यवसायीले समेत समर्थन गरेका थिए।
मजदुरहरूले राखेका मागमा- बढाइएको ट्राफिक जरिबाना फिर्ता, निलम्बित लाइसेन्स फुकुवा र प्रदूषण जाँचमा दोहोरो शुल्क हटाउनुपर्नेलगायत थिए।
तर यातायात तथा मजदुरहरू मुख्य रूपमा काठमाण्डू उपत्यका बाहिर जाने सबै सवारीसाधनलाई नयाँ बसपार्कबाटै पठाउन काठमाण्डू महानगरपालिका र ट्राफिक प्रहरीले गरेको कडाइमा असन्तुष्ट देखिएका थिए।
यसैबीच आइतवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा ती विषयहरूमा सरोकारवालाबीच छलफल चलाउँदै जाने सहमति बनेको थियो।
त्यसबारे जानकारी दिने उद्देश्यले काठमाण्डू बसपार्कमा एउटा कार्यक्रम राखिएको र बसपार्कको व्यवस्थापन गर्ने जिम्मा पाएको कम्पनीका केही व्यक्तिहरूले उक्त कार्यक्रम “बिथोल्ने प्रयास” गरेपछि स्थिति बिग्रिएको मजदुरहरूको आरोप छ।
यद्यपि प्रहरीले उक्त विषयमा “अनुसन्धान जारी रहेको” बीबीसीलाई बताएको छ।
मजदुरहरूले आरोप लगाएको कम्पनीले भने त्यसबारे हालसम्म सार्वजनिक रूपमा आफ्नो धारणा बताएको छैन।

तस्बिर स्रोत, Getty Images
End of यो पनि हेर्नुहोस्
सोमवार बसपार्क क्षेत्रमा के भयो?
काठमाण्डू उपत्यका प्रहरी कार्यालयका अनुसार सोमवार बसपार्क क्षेत्रमा “स्थिति तनापूर्ण” बनेको थियो।
त्यहाँ प्रदर्शनमा उत्रिएकाहरूले पसलहरू तथा यातायातका साधनहरू तोडफोड गरेका थिए।
उक्त कार्यालयका प्रवक्ता हिमालयकुमार श्रेष्ठका अनुसार प्रदर्शनकारीले प्रहरीका दुईवटा सवारीसाधनमा आगो लगाइदिएका थिए भने गोङ्गबुँस्थित एउटा प्रहरी बिटमा पनि आगो लगाइदिएका थिए।
त्यस क्रममा २१ जना प्रहरीहरू घाइते भएको उनले बताए।
त्यस्तै उक्त क्षेत्रको एउटा सपिङ मलमा प्रदर्शनकारीले “लुटपाट मच्चाएको” पनि पाइएको उनले बताए।
ती घटनाहरूमा संलग्न भएको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको उनले जानकारी दिए।
यद्यपि मङ्गलवार सरकारसँग भएको यातायात मजदुरहरूको वार्तापछि पक्राउ परेकाहरूलाई छाड्ने सहमति बनेको बताइएको छ।
श्रेष्ठले भने, “उक्त घटनाबारे प्रहरीले आफ्नो तर्फबाट अनुसन्धान गरिरहेको छ। अनुसन्धानपछि मात्र हामी त्यहाँ कसरी घटना भयो भन्न सकिन्छ।”

तस्बिर स्रोत, Getty Images
आन्दोलन फिर्ता
सोमवारको उक्त घटनापछि यातायात मजदुरहरूले मङ्गलवार काठमाण्डू उपत्यकामा सार्वजनिक यातायात सेवा बन्द गराएका थिए।
तर मजदुरहरूको मागबारे मङ्गलवार उपप्रधान तथा भौतिक पूर्वाधार एवम् यातायातमन्त्री नाराणकाजी श्रेष्ठ सम्मिलित सरोकारवालाबीचको छलफलपछि उक्त विरोध कार्यक्रम फिर्ता भएको बताइएको छ।
राष्ट्रिय समाचार समितिले लेखेको छ, “मजदुर सङ्गठनका जायज माग सम्बोधन गर्ने समझदारी भएसँगै आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता भएको हो।”
उक्त छलफलमा सहभागी नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका अध्यक्ष भीम राई ज्वालाले पनि सरकारसँग सहमतिपछि आन्दोलनका कार्यक्रम फिर्ता लिइएको बताए।
विज्ञ के भन्छन्?
सुरक्षा मामिलाका जानकारहरू सोमवारका गतिविधिले इराकमा १२ जना नेपाली मारिएपछि विसं २०६१ सालमा काठमाण्डू उपत्यकामा भएको हिंसाको झल्को दिएको बताउँछन्।
उनीहरूका भनाइमा नेपालमा हुने विभिन्न आन्दोलनका क्रममा “तोडफोड तथा सवारीसाधनमा आगजनी” हुने गरे पनि “पसलहरूमा छिरेर लुटपाट” कमै हुने गर्छ।
तर सोमवार “जसरी लुटपाटसमेत भयो” त्यसले “दण्डहीनता र अराजकता उत्कर्षमा पुगेको” सङ्केत गर्ने बताउँछन् एकजना पूर्व प्रहरी नायब महानिरिक्षक हेमन्त मल्ल।
उनले भने, “त्यो घटनाले के देखाउँछ भने मानिसहरूमा राजनीतिज्ञ र समाजका हरेक क्षेत्रप्रति चरम असन्तुष्टि र आक्रोश रहेको देखाउँछ।”
“साथसाथै मानिसहरूमा दण्ड वा सजाय हुन्छ भन्ने डर पनि नभएको देखिन्छ भने चरम राजनीतिकरणले गर्दा सुरक्षाकर्मीमा मनोबल खस्केको देखिएको छ।”
उनी मानिसको जीउधनमाथि नै खेलबाड गर्नेखालका गतिविधिलाई पटकपटक “राजनीतिक संरक्षण” हुँदा त्यसले सुरक्षाकर्मीमा यस्ता घटनाको सामना गर्ने सामर्थ्य समेत कमजोर बनेको दाबी गर्छन्।
एकजना पूर्व गृहसचिव गोविन्द कुसुम सोमवारको घटना र त्यसमा सुरक्षाकर्मीको प्रतिक्रिया हेर्दा “प्रहरीको मनोबल अत्यन्त गिरेको जस्तो” देखिएको बताउँछन्।
उनले भने, “मुख्यत: शान्ति सुरक्षाको व्यवस्था मिलाउने काम सुरक्षाकर्मीको हो, मनोबल खस्किएको अवस्थामा उनीहरूले त्यस्तो काम गर्न सक्दैनन्।”
“नेपालमा सुरक्षा निकायलाई स्वायत्त रूपमा काम गर्न दिइएको छैन। कानुनमा दिइए पनि व्यवहारमा त्यस्तो प्रत्याभूति नभएकाले गर्दा सुरक्षाकर्मीहरू सुरक्षा कारबाहीमा जान हिच्किचाउँछन्।”
उनका भनाइमा सुरक्षाकर्मीले समयमा कुनै पनि घटना नियन्त्रणका लागि प्रतिक्रिया जनाउन नसक्ने अवस्था बन्दा त्यसले “हिंसा भड्किने अवस्थालाई नियन्त्रण गर्न” सहज हुँदैन।
“भोलि कुनै पनि कारणले एउटा सानो झिल्को उठ्यो भने त्यो सुक्खा मौसमको डढेलो जस्तो बन्नसक्छ, त्यसका लागि सुरक्षाकर्मीलाई तयार राख्न सरकारले मनोबल उच्च बनाउनु पर्छ।”
‘ठूलो क्षति’
सोमवारको घटनामा बसपार्क क्षेत्रमा सञ्चालित पसलहरूमा “ठूलो क्षति पुगेको” विवरणसहितका समाचारहरू आएका छन्।
विभिन्न सञ्चारमाध्यममा जनाइए अनुसार विशेषगरी त्यहाँ सञ्चालित मोबाइल फोन पसलहरूबाट सामानहरू लुटिएको थियो।
यद्यपि नेपाल प्रहरीले उक्त क्षेत्रमा भएको यकिन क्षतिको विवरण सङ्कलन भइरहेको जनाएको छ।
“निजी क्षेत्रमा कति क्षति भयो भन्नेबारे हामीले विवरण लिइरहेका छौँ,” प्रवक्ता श्रेष्ठले भने।
मजदुर नेता राईले चाहिँ सोमवार भएका भनिएका “लुटपाटका घटना”मा मजदुरहरूको संलग्नता नभएको दाबी गरे।
यद्यपि उक्त घटनाप्रति “मजदुरहरू दु:खी भएको” उनको भनाइ छ।








