इरानले आफ्नो क्षेत्रमा क्षेप्यास्त्र हमला गरेको पाकिस्तानको दाबी, ‘गम्भीर परिणाम बेहोर्नुपर्ने’ चेतावनी

क्षेप्यास्त्र हमला

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, एउटा अभ्यासका क्रममा प्रयोग भएको तस्बिरमा देखिएजस्तै इरानी क्षेप्यास्त्रहरूबाट पाकिस्तान, इराक र सिरियामा हमला भएको ठानिएको छ

पाकिस्तानले आफ्नो बलोचिस्तान प्रान्तमा दुईजना बालबालिकाको ज्यान जाने गरी क्षेप्यास्त्र हमला गरेको भन्दै आक्रोश व्यक्त गर्दै इरानको निन्दा गरेको छ।

इस्लामावादस्थित विदेश मन्त्रालयले आफ्नो हवाई सीमाको ‘पूर्णतः अस्वीकार्य उल्लङ्घन’ गरिएको भन्दै त्यसको सम्भावित ‘गम्भीर परिणाम बेहोर्नुपर्ने’ चेतावनी पनि दिएको छ।

उक्त घटनापछि ती दुई छिमेकी देशबीच तनाव बढेको छ। पाकिस्तानले सुरुमा तेहरानका चार्ज डे अफेयर्सलाई विदेश मन्त्रालयमा बोलाएर विरोध जनाएको थियो।

पछि उसले तेहरानस्थित आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ भने इरानी राजदूतलाई तत्कालका लागि पाकिस्तान आउन रोक लगाइदिएको छ।

त्यसअघि इरानको सरकारी सञ्चार माध्यमले एक उग्रवादी समूह जैश अल अदलका अखडाहरूमा हमला गर्न ड्रोन र मिसाइलहरूको प्रयोग गरिएको जनाएको थियो। उक्त समूहले सीमा क्षेत्रमा रहेका इरानी सुरक्षा सैन्यमाथि हमला गरेको थियो।

तर पाकिस्तानले त्यस्तो दाबीलाई अस्वीकार गर्दै त्यस्तो कार्य “गैरकानुनी” भएको भन्दै त्यसले “गम्भीर परिणामहरू” निम्त्याउने जनाएको छ।

लभगभ अभूतपूर्व

पाकिस्तान गत केही दिनमा इरानी हमला भएको इरान र सिरियापछि तेस्रो देश बनेको छ।

पाकिस्तानमा इरानबाट क्षेप्यास्त्र हमला हुनु लगभग अभूतपूर्व घटना हो। मङ्गलवार भएको उक्त घटना पाकिस्तानको विशाल क्षेत्रफल भएको दक्षिणपश्चिमी प्रान्त बलोचिस्तानस्थित सीमा क्षेत्रको एक गाउँमा भएको थियो।

सोमबार साँझ इरानले इराकको उत्तरी सहर इरबिलमा बलिस्टिक क्षेप्यास्त्र हमला गरेपछि अमेरिकाले त्यस्को निन्दा गरेको थियो।

गाजा स्ट्रिपमा इजरेल र इरानको समर्थनप्राप्त प्यालेस्टिनी समूह हमासबीचको युद्धका कारण मध्यपूर्वभरि तनाव चर्को रहेको बेला यी इरानी हमलाहरू भएका छन्।

चिन्ताको विषय

पाकिस्तान र इरानले दशकौँदेखि जैश अल अदल लगायतका विभिन्न पृथकतावादी समूहहरूविरुद्ध लड्दै आएका छन्। झन्डै ९०० किलोमिटर लामो साझा सीमावरपर सुरक्षा व्यवस्था दुवै देशको सरकारहरूका लागि निकै अघि देखि चिन्ताको विषय बन्दै आएको छ।

तेहरानले गत महिना झन्डै एक दर्जन इरानी प्रहरीहरूको ज्यान जाने गरी सीमा क्षेत्रनजिकै भएको एक हमलाको सम्बन्ध उक्त समूहसँग रहेको बताएको छ। त्यस बेला इरानका आन्तरिक मामिलामन्त्री अहमद वाहिदीले ती आक्रमणकारीहरू पाकिस्तानबाट आफ्नो देशमा प्रवेश गरेका बताएका थिए।

अमेरिकी राष्ट्रिय गुप्तचर सेवाका निर्देशकको कार्यालयका अनुसार जैश अल अदल सिस्तान बलोचिस्तान क्षेत्रमा सक्रिय “सबैभन्दा सक्रिय र प्रभावशाली” सुन्नी उग्रवादी समूह हो।

इरानले के भन्यो?

पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच डाभोसमा भेट भएकै दिन र इरानी तथा पाकिस्तानी नौसेनाले खाडीमा सँगै सैन्य अभ्यास गरिरहेका बेला उक्त आक्रमण भएको हो।

यसैबीच इरानका विदेशमन्त्रीले पाकिस्तानी क्षेत्रमा आफूले क्षेप्यास्त्र प्रहार गरेको स्वीकारेका छन्।

डाभोसमा वल्ड इकोनोमिक फोरममा बोल्दै उनले जैश अल-अदलका अखडाहरूलाई मात्र निसाना बनाइएको बताए। उनले पाकिस्तानलाई “मित्र राष्ट्र” भनेका छन्।

यसैबीच चीनले बुधवार दुवै देशलाई निकट छिमेकी राष्ट्र भन्दै "संयम" अपनाउन र "तनाव बढाउने कार्यहरू नगर्न" आग्रह गरेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।