अरुणका उपग्रहहरूमा जीवन फेला पर्न सक्ने नयाँ अध्ययनको सङ्केत

    • Author, पल्लव घोष
    • Role, विज्ञान संवाददाता

अरुण ग्रह र यसका पाँच ठूला उपग्रहहरू यसअघि वैज्ञानिकहरूले विश्वास गरेजस्तो मृत र जीवनको कुनै उपस्थिति हुन नसक्ने प्रकृतिको नहुन पनि सक्ने देखिएको छ।

बरू तिनमा समुद्रहरू हुन सक्ने र कतिपय उपग्रहमा त जीवनलाई सम्भव तुल्याउन सक्ने परिस्थिति समेत रहेको हुन सक्ने वैज्ञानिकहरूले बताएका छन्।

उक्त ग्रह र यसका चन्द्रमाहरूका बारे हामीलाई हालसम्म थाहा भएको जानकारी झन्डै चालीस वर्षअघि नासाको 'भोएजर-२' अन्तरिक्षयानले हासिल गरेको तथ्याङ्कहरूमा आधारित छन्।

तर हाल गरिएको नयाँ तथ्य विश्लेषणले देखाएअनुसार त्यसबेला 'भोएजर'को यात्राको समयमा त्यहाँ ठूलो सौर्यआँधीको प्रभाव परेको थियो र त्यसका कारण अरुण ग्रहको प्रणाली वास्तवमा कस्तो थियो भन्नेमा अन्योलकारी विचारले प्रधानता पाएको हुन सक्छ।

'यूरेनस' भनिने अरुण ग्रह हाम्रो सौर्यमण्डलको बाहिरी क्षेत्रमा अवस्थित बरफको चक्रले घेरिएको र सुन्दर देखिने ग्रह हो। सबै ग्रहहरूमध्ये सबैभन्दा चिसो ग्रहहरूमा अरुण पनि पर्दछ।

अन्य ग्रहहरूको दाँजोमा अरुण ग्रह एकातिर ढल्केको छ, मानौँ केहीसँग ठोकिएर कोल्टे परेको जस्तो। त्यसैले यसलाई कोहीकोहीले अचम्मको ग्रहसमेत भन्छन्।

पुरानो बुझाइ

सन् १९८६ मा 'भोएजर-२' अन्तरिक्षयान अरुण ग्रह नजिकैबाट अघि बढ्दा पृथ्वीमा पठाएको सो ग्रह र यसका पाँच ठूला उपग्रहहरू देखिने अद्भुत तस्बिर नै हामीले देखेको यसको सबैभन्दा पहिलो नजिकको तस्बिर थियो।

तर वैज्ञानिकहरूलाई अझ धेरै चकित तुल्याएको त 'भोएजर-२' ले पठाएको तथ्याङ्कले थियो जसले अरुण ग्रहको प्रणाली तिनीहरूले सोचेको भन्दा पनि अनौठो भएको सङ्केत गरेको थियो।

उक्त अन्तरिक्षयानमा जडित उपकरणहरूले गरेको मापनअनुसार उक्त ग्रह र यसका चन्द्रमाहरू निष्क्रिय छन्, जुन अवस्था बाह्य सौर्यप्रणालीका अन्य उपग्रहरूभन्दा भिन्न हो। त्यस बेला प्राप्त तथ्याङ्कहरूले अरुण ग्रहको सुरक्षात्मक चुम्बकीय क्षेत्र पनि अनौठो ढङ्गले तन्किएको देखाए। त्यो केही थिचिएको जस्तो गरी सूर्यभन्दा टाढा धकेलिएको जस्तो देखिएको थियो।

कुनै पनि ग्रहको चुम्बकीय क्षेत्रले उक्त ग्रह र त्यसका चन्द्रमाहरूबाट निस्कने ग्यासहरू र अन्य पदार्थलाई आफूमा अल्झाएर राख्ने गर्दछ। त्यस्ता ग्यास र पदार्थहरू ती ग्रह तथा उपग्रहमा रहेका समुद्र वा अन्य भौगर्भिक गतिविधिका कारण उत्पन्न भएका हुन सक्छन्। 'भोएजर-२' ले त्यस्तो केही पनि फेला पारेन, जसको अर्थ यूरेनस वा अरुण ग्रह र त्यसका पाँच ठूला चन्द्रमा निष्क्रिय र जीवनको उपस्थिति हुन नसक्ने खालको रहेको भन्ने हुन्छ।

यो जानकारीलाई एकदमै ठूलो आश्चर्यका रूपमा लिइएको थियो किनकि यो सौर्यप्रणालीका अन्य ग्रह र तिनका चन्द्रमाहरूको अवस्थाभन्दा भिन्न थियो।

नयाँ दाबी

तर अब तथ्याङ्कहरूको नयाँ विश्लेषणले दशकौँ पुरानो रहस्यको समाधान प्रस्तुत गरेको बताइएको छ। नयाँ जानकारीकाअनुसार जुन समयमा 'भोएजर-२' अरुण ग्रहनजिक भएर अघि बढेको थियो, त्यो एक अनुपयुक्त समय थियो।

नयाँ अनुसन्धानबाट देखिएअनुसार अरुण ग्रहनजिकबाट 'भोएजर-२' अघि बढ्ने बेलामा नै सूर्य एकदमै चर्कोसँग चम्किरहेको थियो। त्यस बेला सिर्जना भएको शक्तिशाली सौर्यआँधीले अरुण ग्रहको चुम्बकीय क्षेत्रमा रहेका पदार्थहरू उडाएर लगेको र उक्त चुम्बकीय क्षेत्रको आकारलाई नै अस्थायी रूपमा बदलिदिएको हुनुपर्छ।

यूनिभर्सिटी कलेज लन्डनका डा. विलिअम डनका अनुसार ४० वर्षसम्म हामीले यूरेनस अर्थात् अरुण ग्रह र यस पाँच ठूला चन्द्रमाहरूका बारेमा गलत धारणामा विश्वास गरिरहेका रहेछौँ।

"यी नतिजाहरूले देखाएअनुसार यूरेनसको प्रणाली पहिले ठानिएकोभन्दा एकदमै धेरै उत्साहजनक हुनुपर्छ। चन्द्रमाहरूमा जीवनका लागि आवश्यक परिस्थितिहरू रहेका हुन सक्छन्। सतहभन्दा मुनि समुद्रहरू हुन सक्छन् र त्यस्ता समुद्रहरूमा माछाहरू समेत हुन सक्छन्।"

'उत्साह'

लिन्डा स्पिलकर यूरेनसको तथ्याङ्क प्राप्त भएको बेला 'भोएजर' कार्यक्रममा कार्यरत युवा वैज्ञानिक थिइन्। उनी 'भोएजर' अभियानहरूका लागि अझै पनि परियोजना वैज्ञानिकका रूपमा कार्यरत छिन्। 'नेचर एस्ट्रोनोमी' जर्नलमा प्रकाशित नयाँ नतिजाहरूका बारे थाहा पाउँदा आफूलाई निकै हर्ष लागेको उनी बताउँछिन्।

बीबीसी न्यूजसँग कुरा गर्दै उनले भनिन्, "यी नतिजाहरू चाखलाग्दा छन् र म यूरेनस प्रणालीमा जीवनका लागि सम्भावित अवस्थाहरू छन् भन्ने थाहा पाउँदा निकै उत्साहित छु।"

'भोएजर-२' अन्तरिक्षयान बरफिलो अरुण ग्रह र यसका चन्द्रमाहरूको नजिक भएर गएको ४० वर्ष भइसकेको छ। अमेरिकी अन्तरिक्ष प्रशासन नासाले अबको दश वर्षमा त्यहाँ गएर फेरि अवलोकन गर्न 'यूरेनस अर्बिटर' र 'प्रोब' नामक नयाँ अन्तरिक्ष अभियान थाल्ने योजना बनाएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।