बढ्दो डिजिटल हिंसाबाट महिलाहरू सुरक्षित रहने केही उपाय

स्मार्टफोनसँग जोडिएको चार्जिङ केबलले बेरिएका दुई हात

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, महिलाहरूका लागि डिजिटल हिंसाको चुनौती बढ्दो छ

डिजिटल हिंसा दुर्व्यवहारको सबैभन्दा छिटो बढिरहेको स्वरूपमध्ये एक हो र यसले महिलाहरूलाई इन्टरनेटको प्रयोग गर्नबाट निरुत्साहित गरिरहेको छ।

'ट्रोलिङ' र 'स्टकिङ'देखि लिएर 'डीपफेक' र 'डक्सिङ'सम्म लाखौँ महिला र बालिकाहरू बर्सेनि उत्पीडनको सामना गर्छन्।

हाल विश्वभर इन्टरनेट प्रयोग गर्ने झन्डै छ अर्ब मानिसहरू छन्। डिजिटल प्रविधिका लागि राष्ट्रसङ्घीय विशेष निकायका रूपमा रहेको इन्टर्न्याश्नल टेलिकम्यूनिकेशन यूनियनका अनुसार यस वर्ष महिलाभन्दा २८ करोड बढी पुरुषहरू इन्टरनेट प्रयोगरत (अनलाइन) छन्।

संयुक्त राष्ट्रसङ्घका अनुसार महिला, बालिका र लिङ्ग खुलाउन नचाहने व्यक्तिहरू तारोमा पर्ने र उनीहरूले लिङ्गका कारणले गर्दा बढी गम्भीर र स्थायी परिणामहरू भोग्ने सम्भावना बढी हुने गर्छ।

यूएन विमिनका अनुसार विश्वभर हुने अध्ययनहरूमा ५८ प्रतिशत महिला र बालिकाहरू अनलाइन हिंसाको निसानामा पर्ने देखिएको छ।

डिजिटल हिंसाका पाँच आम स्वरूप

१. 'ट्रोलिङ'

गैरसामाजिक अनलाइन संवादको सङ्केत गर्ने चित्र

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, महिला सेलेब्रटी, अभियानकर्मी तथा पत्रकारहरू ट्रोलको निसानामा पर्ने सम्भावना बढी हुन्छ

'ट्रोलिङ' भनेको कसैलाई अपमानित गर्न, प्रतिक्रिया जगाउन वा समस्या निम्त्याउन जानाजान उत्तेजक वा आपत्तिजनक सन्देशहरू अनलाइन माध्यममा पोस्ट गर्नु हो।

घृणायुक्त अनलाइन सामग्री र मिथ्या जानकारी फैलाउन रोक्ने लक्ष्य राखेको ब्रिटिश-अमेरिकी गैरसरकारी संस्था सेन्टर फर काउन्टरिङ डिजिटल हेट (सीसीडीएच) का अनुसार दुई मुख्य प्रकारका ट्रोलहरू छन्।

  • दुर्व्यवहारलाई बढावा दिन सामाजिक सञ्जालमा ठूलो सङ्ख्यामा फलोअर भएका सार्वजनिक व्यक्तित्वहरूलाई लक्षित गरिने ट्रोल,
  • अरूलाई हुने हानिको आनन्द लिने खालका "नकारात्मक सामाजिक शक्ति" बाट प्रेरित ट्रोल।

मानिसहरूले अनलाइन ट्रोल गर्नुका कैयौँ कारणहरू हुन सक्छन् र ती एकअर्काभन्दा फरक हुन सक्छन्।

सामान्यतः ट्रोलमा दुर्व्यवहार गर्नका लागि निसानामा पारिने व्यक्तिहरूलाई निराश पारेर आनन्द लिने गरिन्छ।

त्यसैले यदि पीडितले प्रतिक्रिया दिएमा उनीहरू त्यो जारी राख्न हौसिन्छन्।

ट्रोलले पीडितमा चिन्ताको स्तर बढाउँछ र आत्मसम्मान कम गर्न सक्छ।

२. 'डक्सिङ'

'डक्सिङ'ले अरू मानिसहरूबारे निजी जानकारी अनलाइन माध्यममा सार्वजनिक गर्नुलाई जनाउँछ। त्यस्तो सामान्यतया दुर्भावनापूर्ण नियतले हुने गर्छ।

यसले वास्तविक जीवनमा पछ्याउने, धम्की दिने र शारीरिक हिंसाजस्ता परिणामहरू निम्त्याउन सक्छ।

सन् २०२१ मा 'ह्यारी पोटर'की लेखिका जेके रोलिङले आफ्नो घर बाहिर खिचिएको तस्बिर अनलाइन माध्यममा सार्वजनिक भएपछि आफू पीडित भएको बताइन्। उक्त तस्बिरमा घरको ठेगाना उल्लेख थियो।

एउटा सानो झ्यालअगाडि बसेर टाउकामा हात राखेकी एक महिला

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, संवेदनशील व्यक्तिगत जानकारी 'शेअर' गर्दा तनाव हुन सक्छ र यसले हिंसासमेत निम्त्याउन सक्छ

तर त्यसपछि प्रहरीले उनलाई निसाना गर्नेहरूविरुद्ध कुनै कारबाही गरिने बताएको थियो।

सन् २०२२ को एप्रिलयता मेटाको स्वामित्वमा रहेको फेसबुक र इन्स्टाग्रामले कसैको घरको ठेगाना सार्वजनिक अभिलेख वा समाचार विवरणमा देखा परे पनि 'शेअर' गर्न निषेध गरेको छ।

प्रयोगकर्ताहरूले अझै पनि आफ्नो ठेगाना 'शेअर' गर्न सक्ने भए तापनि अरूले यसलाई पुनः 'शेअर' गर्न सक्दैनन्।

गोपनीयतासम्बन्धी सुरक्षाका उपायलाई बलियो बनाउन र 'डक्सिङ'को जोखिम कम गर्न मेटाको निरीक्षण बोर्डबाट आएका सुझावहरूअनुसार त्यस्तो परिवर्तन गरिएको थियो।

३. 'डीपफेक'

तनावमा रहेको जस्तो देखिएकी एक महिला ल्यापटपको स्क्रीन हेर्दै

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, आफ्नो सुरक्षाका लागि कतिपय महिलाहरू 'अफलाइन' हुने गर्छन्

वास्तविक देखिन 'आर्टिफिशल इन्टेलिजन्स' (एआई) प्रयोग गरेर बनाइएका भिडिओ, तस्बिर वा अडिओ क्लिपलाई 'डीपफेक' भनिन्छ।

तिनलाई रमाइलोका लागि वा वैज्ञानिक अनुसन्धानको लागि पनि प्रयोग गर्न सकिने भए तापनि तर कहिलेकाहीँ ती राजनीतिज्ञ वा विश्व नेतासहितका मानिसहरूको नक्कली उपस्थिति देखाएर जनतालाई नियतवश भ्रमित पार्न प्रयोग गरिन्छ।

'डीपफेक'लाई सेलेब्रटीहरू वा सर्वसाधारण मानिसहरूको अश्लील भिडिओ वा तस्बिरहरू बनाउन पनि बढ्दो रूपमा प्रयोग गरिएको छ।

ब्रिटेनमा हालै प्रहरीको अग्रसरतामा गरिएको एक सर्वेक्षणले पत्ता लगाएअनुसार "चार जनामध्ये एक जनाले यौनसम्बन्धी डीपफेक सिर्जना र शेअर गर्नु कुनै गलत काम नहुने, वा त्यसमा तटस्थ महसुस गर्ने, चित्रण गरिएको व्यक्तिले सहमति नदिएको भए तापनि डीपफेक बनाउने र शेअर गर्ने" गरेको देखिन्छ।

सहमतिबिना अन्तरङ्ग तस्बिरहरू साझेदारी गर्नु वा शेअर गर्ने धम्की दिनु ब्रिटेनमा एक आपराधिक कसुर हो, जसलाई खास गरी अनलाइन सुरक्षा ऐन, सन् २०२३ अन्तर्गत सम्बोधन गरिएको छ।

त्यसले डीपफेकसहित बनाइने वा तोडमोड गरिने तस्बिरहरूलाई समेट्छ।

अस्ट्रेलिया र आयरल्यान्डजस्ता कैयौँ अन्य देशहरूमा व्यक्तिहरूलाई घनिष्ठ तस्बिर दुरुपयोगबाट जोगाउने समान प्रकृतिका कानुनहरू छन्।

४. 'ग्रूमिङ'

हूडीले अनुहार ढाकिएको पुरुष कम्प्युटर चलाउँदै

तस्बिर स्रोत, Getty Images

बालबालिका र युवाहरूलाई फकाईफुल्याई यौन दुर्व्यवहारको निसानामा पार्नु 'ग्रूमिङ' हो र यो अनलाइन माध्यममार्फत् पनि हुन सक्छ।

अपराधीहरूले बालबालिकासँग विश्वासिलो सम्बन्ध निर्माण गर्न अनलाइन प्ल्याट्फर्महरू प्रयोग गर्दै उनीहरूलाई दुर्व्यवहार गर्न सक्ने उपाय लगाउँछन्।

त्यस्ता दुर्व्यवहार अनलाइन माध्यममै हुन सक्छन् वा अपराधीले दुर्व्यवहार गर्ने उद्देश्यले बालबालिकालाई व्यक्तिगत रूपमा भेट्ने व्यवस्था गर्न सक्छन्।

अनलाइन माध्यममा हानिकारक सामग्री रेकर्ड, अपलोड वा शेअर गर्नाले समेत थप दुर्व्यवहारको अनुभव हुन सक्छ।

दुर्व्यवहार अनलाइन होस् वा अफलाइन, त्यसले बालबालिकाको समग्र हितमा दीर्घकालीन प्रभाव पार्न सक्छ। यसले गर्दा चिन्ता, स्वयंलाई हानि पुर्‍याउने, खानपानमा विकार, आत्महत्याको विचार वा आत्महत्या पनि हुन सक्छ।

५. 'साइबर बुलिइङ'

'साइबर बुलिइङ'लाई 'अनलाइन बुलिइङ' पनि भनिन्छ। त्यो कसैले सामाजिक सञ्जाल, मेसेजिङ एप, अनलाइन गेम र इन्टरनेटका अन्य ठाउँहरूमा 'बुलिइङ' मान्न सकिने व्यवहारको सामना गर्दा हुने गर्छ।

बुलिइङ अनलाइन र अफलाइन दुवै ठाउँमा एकै समयमा हुन सक्छ र कहिलेकाहीँ अनलाइन बुलिइङ गर्ने व्यक्ति पीडितलाई थाहा हुन्छ।

सामान्य रूपमै वास्तविक जीवनमा कहिल्यै नभेटेका तर अनलाइन समुदाय, अनलाइन खेल वा सामाजिक सञ्जालबाट चिनेका व्यक्तिहरूबाट पनि उत्पीडनको सामना हुने गर्छ।

दुर्व्यवहार गर्ने व्यक्ति गुमनाम पनि हुन सक्छ।

कसरी सुरक्षित रहने?

फोन आइरहेको अवस्थामा फोनको स्क्रीनमा “स्क्याम अलर्ट” लेखिएको सन्देश देखाउँदै एक व्यक्ति

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, प्रविधि कम्पनी र नियामक निकायहरूले साइबर अपराध कम गराउन आफूले पहल गरिरहेको बताएका छन्

संयुक्त राष्ट्रसङ्घका अनुसार अनलाइन दुर्व्यवहारको सिकार हुने जोखिम कम गर्न यहाँ केही सुझावहरू दिइएका छन् :

  • अनलाइन माध्यममा कुनै पनि कुरा पोस्ट गर्नु वा शेअर गर्नुअघि दुई पटक सोच्नुहोस् किनकि यो सधैँभरि अनलाइन रहन सक्छ र पछि तपाईँलाई हानि पुर्‍याउन प्रयोग गर्न सकिन्छ
  • तपाईँले अनलाइन पोस्ट गर्ने जानकारी सीमित गर्नुहोस्। खास गरी तपाईँको ठेगाना र टेलिफोन नम्बरजस्ता व्यक्तिगत विवरणहरू सार्वजनिक नगर्नुहोस्
  • आफ्ना साथीहरू र परिचितहरूलाई तपाईँबारे व्यक्तिगत जानकारी पोस्ट नगर्न सचेत गराउनुहोस्
  • तपाईँको सामाजिक सञ्जाल एपहरूको गोपनीयता सेटिङहरूबारे जान्नुहोस्, त्यसमा तपाईँको जानकारी कसले हेर्न सक्छ भन्नेदेखि लिएर सामग्रीहरू ब्लक गर्ने/लुकाउने विकल्पहरू समावेश छन्
  • तपाईँका सबै खाताहरूमा 'जिओ-लोकेशन' निष्क्रिय गर्नुहोस्
  • शङ्कास्पद वा धम्की दिने अकाउन्टहरूविरुद्ध उजुरी गर्नुहोस्

अत्यासलाग्दो जोखिम

अनलाइन र प्रविधिको सहायताले गरिने हिंसालाई प्रभावकारी रूपमा रोक्नका लागि यसको विशिष्टता र महिला तथा बालिकाहरूमा पर्ने यसको प्रभाव बुझ्नु महत्त्वपूर्ण हुने संयुक्त राष्ट्रसङ्घले जनाएको छ।

अरब क्षेत्रका देशहरूमा सन् २०२१ मा यूएन विमिनले गरेको एक अध्ययनले पत्ता लगाएअनुसार त्यस वर्ष ६० प्रतिशत महिला इन्टरनेट प्रयोगकर्ताहरू अनलाइन हिंसाको सामना गरिरहेका थिए।

एक युरोपेली अध्ययनले पत्ता लगाएअनुसार महिलाहरूले पुरुषहरूको तुलनामा अनलाइन उत्पीडनको सामना गर्ने सम्भावना २७ गुणा बढी हुन्छ।

अनि अर्को एक समीक्षाका क्रममा पत्ता लागेको तथ्यअनुसार ९२ प्रतिशत महिलाहरूले अनलाइन हिंसाले उनीहरूको हितमा नकारात्मक प्रभाव पार्ने भनेर उजुरी गरेका छन्।

संयुक्त राष्ट्रसङ्घका अनुसार राजनीतिज्ञ, पत्रकार र मानव अधिकार रक्षकजस्ता सार्वजनिक जीवनमा रहेका महिलाहरू खास रूपमा लक्षित हुन्छन्। त्यसै गरी अश्वेत महिलाहरू, लैङ्गिक अल्पसङ्ख्यकहरू र अपाङ्गता भएका महिलाहरूका लागि पनि अनलाइन दुर्व्यवहारको जोखिम अझ बढी छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।