तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
२७ वर्षपछि भाजपाले दिल्लीमा सरकार बनाउँदै, यो चुनाव किन मोदीका लागि ठूलो जित हो?
- Author, निकिता यादव, जोया मतीन, सौतिक विस्वास
- Role, बीबीसी न्यूज, दिल्ली
प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टीले भारतको राजधानी दिल्लीमा २७ वर्षपछि पहिलो पटक चुनावी जित हासिल गर्दै सरकार बनाउने भएको छ ।
भारतीय जनता पार्टी (भाजपा)ले ७० सीट रहेको दिल्ली विधानसभामा ४८ सिटमा जित हासिल गरेको छ भने हाल सत्तामा रहेको आम आदमी पार्टी (आप) २२ सीटमा समेटिएको भारतको निर्वाचन आयोगको विवरण छ।
कुल ३५ भन्दा बढी सीट जित्ने दलले सरकार बनाउन सक्छ।
"विकासको जीत, सुशासनको विजय," मोदीले सामाजिक सञ्जाल एक्समा लेख्दै आफ्नो पार्टीले दिल्लीको विकासमा "कुनै कसर नछाड्ने" बताएका छन्।
भाजपाले के गर्यो, आप कहाँ चुक्यो?
भारतीय मतदातामाझ मोदीको लोकप्रियतालाई सुदृढ बनाउन दिल्लीमा भाजपाको जीत राजनीतिक रूपमा महत्त्वपूर्ण रहेको विज्ञहरू बताउँछन्। उनको पार्टीले पछिल्लो आम चुनावमा भने स्पष्ट बहुमत गुमाएको थियो।
आपका लागि यो पराजय एउटा ठूलो झट्का हो। एउटा सानो दल भए तापनि सहरमा शिक्षा र स्वास्थ्य सुविधाहरू सुधार गर्न ध्यान केन्द्रित गरेकोमा दिल्लीमा सत्ता सम्हालेका प्रारम्भिक वर्षहरूमा आपको प्रशंसा हुने गरेको थियो।
केजरीवारको दल पञ्जाब राज्यमा पनि सत्तामा छ। तर यतिखेर आफ्नो भविष्यबारे प्रश्नहरू उठाइएको यस दलका लागि दिल्लीको आफ्नो वर्चस्व कायम राख्नु सङ्कटमाथिको विजय हुने थियो।
मध्यमवर्गमा केजरीवालको भ्रष्टाचार विरोधी अडानका कारण कुनै समय चुलिएको आपप्रतिको आकर्षण एक दशकभन्दा बढी दिल्लीको सत्तामा रहेपछि घटेको छ।
मध्यमवर्गको नेतृत्वमा भएको भ्रष्टाचारविरोधी आन्दोलनको नेतृत्व गरेका केजरीवालले गरिबको पार्टी बन्ने बाटो रोजेका थिए।
गरिब र दिल्लीमा सङ्घर्षरत मजदुर वर्गले उनलाई कहिलेबाट साथ दिन छाडे भन्ने अझै प्रस्ट भएको छैन।
भ्रष्टाचारको आरोप, प्रमुख नेताहरू जेल पर्ने क्रम र केजरीवाल स्वयंको गिरफ्तारीले आम आदमी पार्टीको अभियानलाई क्षति पुर्याउँदा देखा परेको रिक्ततालाई भाजपाले तत्काल सदुपयोग गर्यो।
विशाल स्रोत र शक्तिशाली चुनावी संयन्त्रसहितको भाजपाले राज्य र सङ्घीय सरकारहरू एउटै पार्टीले स्थिरता र सुशासनसहित चलाउने वाचा गरेको थियो।
झण्डै ३० वर्षमा भाजपाले दिल्लीमा ल्याएको पहिलो बहुमत एउटा ऐतिहासिक जीत हो। यसको परिवर्तनको सन्देशले काम गर्यो। अनि यसको राजनीतिक र आर्थिक बलले ठूलो जीत दिलायो।
हरियाणा र महाराष्ट्र राज्यहरूमा ताजा जीतले गत वर्षको आम चुनावमा पराजयपछि भाजपा तङ्ग्रिन खोजेको देखाउँछ।
दिल्लीमा पकड गुमेपछि विपक्षीहरू चिन्तामा छन् भने भाजपा उच्च मनोबलसाथ अर्को चुनावी चक्रमा प्रवेश गर्दैछ।
आपका शीर्ष नेताहरू केजरीवाल र मनिष सिसोडिया पराजित भएपछि शनिवार आपमा ठूलो निराशा छायो। बहालवाल मुख्यमन्त्री आतिशी समेत झिनो अन्तरको जित हासिल गर्न सफल भइन्।
कुल ६० प्रतिशतभन्दा भन्दा बढी योग्य मतदाताहरूले मतदान गरेको चुनावमा धेरैजसो एक्जिट पोलले भाजपाले पूर्ण बहुमत ल्याउने भविष्यवाणी गरेका थिए। तर विगतमा त्यस्ता भविष्यवाणीहरू गलत समेत साबित भएका थिए।
कस्तो थियो भाजपाको प्रचार?
भाजपाको धेरैजसो प्रचार अभियान केजरीवाल लक्षित थियो। भ्रष्टाचार विरोधी अभियानकर्मी केजरीवाल मदिरा बिक्री नीति सम्बन्धी भ्रष्टाचारको मुद्दामा सिसोदियासँगै जेल परेका थिए। उक्त नीति यतिखेर खारेज गरिएको छ।
महिनौँ जेलमा बिताएर हालसालै छुट्टाछुट्टै जमानतमा रिहा भएका उनीहरूले ती आरोपहरू अस्वीकार गर्दै आएका छन्।
केजरीवाल मोदीको पार्टीले आफू र आपविरुद्ध "राजनीतिक प्रतिशोध" लिएको आरोप लगाउँछन्। तर भाजपा त्यसलाई अस्वीकार गर्छ।
सङ्घ प्रशासित दिल्लीको शासन व्यवस्था अनौठो छ। सार्वजनिक सुव्यवस्था, प्रहरी र भूमि व्यवस्थापनजस्ता विषयमा मुख्य निर्णय लिने अधिकार सङ्घीय सरकारले नियुक्त गरेका लेफ्टिनेन्ट गभर्नरसँग हुन्छ।
राज्यसभाले शिक्षा, स्वास्थ्य र सार्वजनिक सेवाबारे निर्णय लिने अधिकार राख्छ। प्रतिस्पर्धी पार्टीले सङ्घीय सरकार र राज्य सरकार सञ्चालन गर्दा अधिकार प्रयोगको विषयमा केन्द्र र राज्य सरकारबीच टकराब देखिने गरेको छ।
अधिकार बाँडफाँटको यस्तो संरचनाका कारण पनि दिल्लीमा चुनावी नाराहरू राजनीतिक भन्दा बढी कल्याणकारी मुद्दामा केन्द्रित देखिएका थिए।
आप र भाजपा दुवैले सरकारी विद्यालयहरूमा सुधार, निःशुल्क स्वास्थ्य सेवा र महिलाहरूका लागि भत्ताको नारा अघि सारेका थिए।
गत साता मात्रै सार्वजनिक भएको भारतको बजेटमा मध्यम आय भएका मानिसहरूका लागि कर छुटको घोषणा भएको थियो।
मध्यम आय भएका मानिसहरूको उच्च जनसङ्ख्या बसोबास गर्ने दिल्ली राज्यसभा निर्वाचनमा त्यसको फाइदा आफूलाई पुग्ने भाजपाको आकलन थियो।
यद्यपि हप्तौँ लामो तिक्ततापूर्ण प्रचार अभियानमा प्रदूषणको विषय भने धेरैजसो समेटिएन। दिल्लीको पुरानो वायु प्रदूषण सङ्कटले सहरका ३ करोड बासिन्दालाई बर्सेनि सताउँछ।
भाजपाले आफूले जितेमा सहरको वायु गुणस्तर सूचकाङ्क अर्थात् एक्यूआईलाई सन् २०३० सम्ममा आधाले घटाउने वाचा गरेको थियो।
अन्य दलहरूले पनि आफ्नो घोषणापत्रमा सङ्कटलाई उल्लेख गरे तापनि यस मुद्दा छलफलमा हाबी भएन वा चुनावी अभियानमा छलफलको केन्द्रमा पर्न सकेन।
दिल्लीमा को कहिले सत्तामा थिए?
देशको राजधानीको सहर भएका कारण पनि दिल्ली राज्यसभाको निर्वाचनलाई भाजपा र आपले प्रतिष्ठाको विषय बनाएका थिए।
भारतको राजधानी सङ्घीय प्रशासित क्षेत्र हो।
मतदाताले कल्याणकारी मुद्दालाई समर्थन गरेसँगै यहाँ सन् २०१३ यता केजरीवालको आपले सरकार चलाइरहेको थियो।
भाजपाका लागि राजधानी सहरमा देखिएको निर्वाचन परिणाम चुनावी सफलतामा मात्रै सीमित छैन।
सन् १९९८ यता राजधानीमा सत्ता बाहिर रहेको भाजपाले यो निर्वाचनसँगै राजधानीमा महत्त्वपूर्ण आधार पाएको छ।
कांग्रेसले सन् १९९८ देखि २०१३ सम्म यहाँ सरकार चलाएको थियो।
तर भ्रष्टाचारको आरोपपछि यहाँका मतदाताहरूले कांग्रेसलाई पाखा लगाएर आम आदमी पार्टीलाई सरकारमा पुर्याएका थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।