युद्धविराम घोषणाका बाबजुद सिरियामा साम्प्रदायिक झडपका घटना, ९०० जनाभन्दा धेरै मारिएका विवरण

तस्बिर स्रोत, Reuters
- Author, जोन डोनिसन
- Role, बीबीसी न्यूज दमास्कस
- Author, जारास्लभ लुकिभ र एमी वाल्कर
- Role, बीबीसी न्यूज
सिरियाका राष्ट्रपतिले "तत्काल युद्धविराम"को घोषणा गरे पनि दक्षिणी सिरियामा निरन्तर साम्प्रदायिक झडप भइरहेका विवरणहरू आएका छन्।
ड्रूज लडाकुहरूले शनिवार बेडोइन बन्दुकधारीहरूलाई सुवेदा सहरबाट धपाएको तर अन्य प्रान्तमा सङ्घर्ष जारी रहेका विवरणहरू आएका हुन्। बीबीसीद्वारा त्यसको पुष्टि गरिएको छैन।
अन्तरिम राष्ट्रपति अहमद अल शाराले यो साताको सुरुमा तैनाथ गरेका सरकारी फौजले ड्रूजमाथि हमला गरेको आरोप लागेको थियो। सबै पक्षले एक अर्कामाथि हिंसाको आरोप लगाएका छन्।
अमेरिकी विदेश मन्त्री मार्को रुबिओले शनिवार सामाजिक सञ्जाल एक्समा एउटा पोस्ट गर्दै "निर्दोष मानिसहरूको बलात्कार र हत्या" रोक्न माग गरेका छन्।
उनले दमास्कसका अधिकारीहरूलाई आफ्ना सुरक्षा बलहरूको परिचालन गरेर आईएसआईएस (स्लामिक स्टेट) र अन्य हिंस्रक जिहादीहरूलाई उक्त क्षेत्रमा छिर्न र नरसंहार गर्नबाट रोक्न आग्रह गरेका छन्। "यदि आईएसआईएस वा इरानी नियन्त्रणबाट मुक्त एकीकृत, समावेशी र शान्त सिरिया प्राप्त हुने सम्भावनालाई जोगाउन चाहन्छन् भने उनीहरूले यो कदम चाल्नुपर्छ," उनले भनेका छन्।
"त्यसका साथै उनीहरूले आफ्नै समूह सहितका हिंसामा दोषी जो कोहीलाई जबाफदेही बनाउन र न्यायको कठघरामा उभ्याउन पर्छ।"
शनिवार साँझ सिरियाको आन्तरिक मामिला मन्त्रालयले आफ्नो बलले सहरमा हस्तक्षेप गरेपछि सुवेदामा झडपहरू रोकिएको जनाएको थियो।
समाचार संस्था रोएटर्सले सुवेदा प्रान्तका अन्य भागमा सङ्घर्ष जारी रहेको जनाएको छ।
यो साताको सुरुमा ड्रूज पक्षलाई समर्थन गर्ने घोषणा गरेको इजरेलले त्यहाँ हस्तक्षेप गर्दै सरकारी बल र राजधानी दमास्कसस्थित रक्षा मन्त्रालयमा हमला गरेको थियो।
सुवेदाको सङ्घर्ष रोक्न सुरक्षा बल तैनाथ गरिएसँगै शाराले गत शनिवार युद्धविरामको घोषणा गरेका थिए। त्यसमा इजरेली सैन्य आक्रमण रोकिनु पर्ने विषय पनि सामेल थियो। ड्रूज नागरिकहरूको सुरक्षा सुनिश्चित हुनु पर्ने सर्तमा इजरेलले पनि अमेरिकाको मध्यस्थतामा भएको सम्झौताअनुसार उक्त घोषणालाई स्वीकार गरेको थियो।
सरकारी सैनिकहरूले अरु मानिसहरूलाई लडाइँमा सामेल हुनबाट रोक्न ठाउँठाउँमा जाँच चौकीहरू बनाएका छन्। तर शनिवार दिनको सुरुआतमा सुवेदा सहर भित्रबाटै गोलाबारीका विवरणहरू आएका थिए।
समाचार संस्था एएफपीका एकजना संवाददाताले उनीहरूले हतियारधारी मानिसहरूले पसलहरूमा लुटपाट गरेको तथा आगो लगाएको देखेको बताएका छन्।
कारण

तस्बिर स्रोत, AFP
शनिवार नै इजरेली विदेशमन्त्रीले अल्पसङ्ख्यक तथा सबै सिरियालीहरूको सुरक्षाका निम्ति राष्ट्रपतिद्वारा जनाइएको प्रतिबद्धताप्रति सन्देह व्यक्त गरेका थिए।
सुवेदाको ड्रूज समुदायले शिया इस्लाममा आधारित भिन्दै र फरक मतमा विश्वास राख्छ र दमास्कसको हालको सरकारप्रति अविश्वास राख्छ। उक्त समुदाय सिरियासँगै छिमेकी इजरेल र लेबननमा पनि सानो सङ्ख्यामा छ।
सामाजिक सञ्जालको एउटा पोस्टमा इजरेली विदेश मन्त्री गिडिअन सारले सिरियामा अल्पसङ्ख्यक समुदायको हिस्सा हुनु "निकै खरतनाक" रहेको र "पछिल्लो ६ महिनामा त्यो पटकपटक प्रमाणित भएको" बताएका छन्।
इजरेलमा बसिरहेकाहरूसँग तिनको सम्बन्ध भएका कारण इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले ड्रूज समुदायलाई क्षति हुनबाट जोगाउने प्रतिबद्धता जनाएका छन्।
सुवेदामा ड्रूज र बेडोइन समुहबीच लामो समयदेखि चल्दै आएको तनाव गत आइतवार राजधानी दमास्कस जाने राजमार्गबाट एक ड्रूज व्यापारीको अपहरण भएसँगै घातक साम्प्रदायिक झडपमा बदलिएको थियो।
यूकेस्थित अब्जर्भेटरी अफ ह्यूमन राइट्स (एसओएचआर) का अनुसार उक्त घटनायता ९४० जना मारिएका छन्।
सिरियाका निम्ति अमेरिकी विशेष दूत टम बाराकले गत शुक्रवार इजरेल र सिरियाबीच युद्धविरामको घोषणा गरेका थिए।
"हामी ड्रूज, बेडोइन तथा सुन्नीहरूलाई हतियार बिसाउन र अन्य अल्पसङ्ख्यकहरूसँग सहकार्य गर्दै नयाँ र एकीकृत सिरियाको निर्माण गर्न तथा आफ्ना छिमेकीहरूसँगै शान्ति र समृद्धिका साथ रहन आह्वान गर्छौँ," उनले भनेका थिए।
सिरियामा रहेकी बीबीसीकी मध्यपूर्व संवाददाता लिना सिन्जावले ड्रूजमाथिको हिंसा देशैभर फैलिइरहेको बताएकी छन्।
चिन्ता

तस्बिर स्रोत, Reuters
यो साताको आरम्भमा संयुक्त राष्ट्रसङ्घका मानवाधिकार प्रमुख फोल्कर टुर्कले आफ्नो कार्यालयले सुवेदामा भएका झडपका क्रममा गैरन्यायिक हत्यासहित मानवाधिकार उल्लङ्घनका घटना फैलिरहेका सङ्केतहरू सहितको विश्वसनीय विवरणहरू प्राप्त गरेको बताएका थिए।
त्यस्तो आरोप लाग्नेमा सुरक्षा बलहरू र अन्तरिम सरकारसम्बद्ध व्यक्तिहरू तथा स्थानीय ड्रूज र बेडोइनका हतियारधारी तत्त्वहरू सामेल रहेक टुर्कको वक्तव्यमा भनिएको छ।
"यो रक्तपात र हिंसा रोकिनै पर्छ," उनले चेतावनी दिँदै भनेका छन्, "त्यसका जिम्मेवारहरूमाथि कारबाही हुनुपर्छ।"
शनिवार बिहानको आफ्नो वक्तव्यमा सिरियाका अन्तरिम राष्ट्रपतिले आफ्नो सरकार "देशका सम्पूर्ण अल्पसङ्ख्यक सम्प्रदायको सुरक्षाका निम्ति प्रतिबद्ध रहेको र हिंसाका निम्ति जिम्मेवार रहेका हरेक पक्षलाई जवाफदेही बनाउने प्रक्रियामा लागेको" बताएका छन्।
"जवाफदेहिताबाट कोही पनि भाग्न पाउँदैनन्," उनले भनेका छन्।
ज्याक बर्गसको अतिरिक्त रिपोर्टिङ
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








