कुख्यात सिरियाली जेलबाट रिहा भएका यी रहस्यमय बन्दी को हुन्?

एउटा टोलीले सिरियाको सैदनाय जेलमा रहेको गोप्य कक्षको अस्तित्वबारे अनुसन्धान गरिरहेको छ

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, एउटा टोलीले सिरियाको सैदनाय जेलमा रहेको गोप्य कक्षको अस्तित्वबारे अनुसन्धान गरिरहेको छ
    • Author, हुसाम अशल
    • Role, अम्मान, बीबीसी न्यूज अरेबिक

सिरियामा बशर-अल असदको सत्ता ढलेपछि जोर्डनका बशिर अल-बाटाइनाले ३८ वर्षदेखि सिरियामा हराइरहेका आफ्ना छोरा ओसामा फर्कने व्यग्रतापूर्वक अपेक्षा गरिरहेका थिए।

अल-बाटाइना ८३ वर्षका भए र उनी उत्तरी जोर्डनमा रहेको इर्बिड सहरमा बस्छन्। उनले सन् १९८६ मा ओसामाले आफ्नो माध्यमिक विद्यालयको अन्तिम वर्षको कक्षा सुरु हुनु अघि गर्मीयामको बिदाको क्रममा एक हप्ता सिरियाको यात्रा गर्न अनुमति मागेको बताउँछन्। तर त्यसपछि उनी फर्किएर घर आएनन्।

त्यसको ३ दशक भन्दा धेरै समय बितेपछि अल-बटाइना र उनको परिवारले आफूले प्रार्थना गरिरहे अनुसारकै खबर पाए।

दमास्कस नजिकैको सैदनाय जेलबाट बाहिरिरहेका एक जनाको भिडिओ क्लिपमा उनले 'म इब्रिडको हुँ' भनिरहेका देखिएको थियो।

त्यसपछि जोर्डनको विदेश मन्त्रालयले ओसामा नामका एक व्यक्ति फेला परेको र उनी जोर्डनमा आइपुगेको तर उनले आफ्नो स्मरण क्षमता गुमाएको घोषणा गर्‍यो।

त्यस लगत्तै अधिकारीहरूले रिहा भएका बन्दी र अल-बाटाइना परिवारबीच इर्बिडमा नै एउटा भेटघाट कार्यक्रमको आयोजना गरे।

"उनले लामो समय मेरो हात समाते र त्यसलाई म्वाइँ खान थाले," अल-बाटाइनाले बीबीसीलाई भने।

जोर्डन र सिरियाबीचको सीमा क्षेत्र

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, जोर्डन र सिरियाबीच ३६० किलोमिटर लामो सीमा रहको छ

ओसामा हेर्दा 'अस्थिपञ्जर' जस्तो देखिएको भन्दै उनले 'आफ्नो स्मरण क्षमता गुमाएको र उनलाई देख्दा मुटु छिया छिया हुने' अल-बटाइनाले बताए। "उनका सबै थोक परिवर्तन भएका थिए।"

ओसामाकी बहिनीले उनले कसरी आफ्नी आमालाई नामले बोलाए र कसरी पुरानो पारिवारिक तस्बिरमा आफूलाई चिन्न सके भन्नेबारे बीबीसीलाई बताइन्।

तर त्यसपछि एउटा अनेपक्षित मोड देखा पर्‍यो।

नाटकीय मोड

ती व्यक्तिलाई जोर्डनको राजधानी अम्मानको एउटा अस्पतालमा सारियो र उनको आनुवंशिक (डीएनए) जाँच गरियो। त्यसले उनको र अल-बटाइना परिवारबीच कुनै पनि आनुवंशिक सम्बन्ध नरहेको देखायो।

सामाजिक सञ्जालमा एक अर्कासँग बाझिने कैयौँ दाबीहरू सार्वजनिक भएसँगै ती व्यक्तिको पहिचानबारेको अनिश्चिततालाई लिएर प्रश्नहरू उठ्न थाल्यो।

एक जना व्यक्तिले फेसबुकमा ती व्यक्ति टार्टुस शहरका एक जना सिरियाली पुरुष रहेको र आफूहरूसँगै जेलमा बसेको बताए।

अर्की महिलाले ती व्यक्ति टार्टुसको ग्रामीण क्षेत्रको एउटा गाउँका मानिस भएको भन्दै उनलाई सन् '१९८६ मा सिरियाली गुप्तचरले बेइरुतबाट बन्धक बनाएको' बताइन्।

बशर अल-असदको सत्ता ढलेपछि लिइएको सैदनाया जेलस्थित एउटा गोप्य कक्षको तस्बिर

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, बशर अल-असदको सत्ता ढलेपछि लिइएको सैदनाया जेलस्थित एउटा गोप्य कक्षको तस्बिर

क्याटालिना साडेले ती व्यक्ति आफ्ना आफन्त हबिब साडे जस्तो देखिएको भन्दै उनलाई लेबनानको राजधानीबाट अपहरण गरी सिरियाको जेलमा पुर्‍याइएको आफूलाई लागेको बताइन्।

उनका अनुसार उनको परिवारले अढाई वर्षअघि आफ्ना हजुरबुबाका भाइ सिरियाको कुख्यात सैदनाया जेलमा रहेको खबर पायो।

उक्त परिवारले डीएनए जाँचबाट ती बन्दी आफ्ना हराइरहेका आफन्त रहेको प्रमाणित गर्न चाहेको छ।

"हामी बेपत्ता रहेका ती व्यक्ति रहेको जोर्डनमा परीक्षणहरू बुझाउनेछौँ। मेरा हजुरबुबा रहेको काफ्रुन साडे गाउँबाट नमुना सङ्कलन गरेर लगिनेछ," उनले बीबीसीलाई भनिन्।

आफ्ना भाइ फेला परेको खण्डमा मेरा हजुरबुबाले ढुक्क महसुस गर्नुहुनेछ।

जोर्डनका पूर्व श्रम मन्त्री नेडाल अल-बटाइना ती बन्दीलाई जोर्डन ल्याइएदेखि उनीसँगै रहेका थिए। उनले आफूलाई पनि कयौँले टेलिफोन गरेर ती व्यक्ति आफ्ना आफन्त रहेको बताएको जनाएका छन्।

नेडालले कसैलाई ती व्यक्ति आफन्त हुन् भन्ने लागेको खण्डमा डीएनए जाँच गराउन र त्यसको परिणाम पठाउन सम्बन्धित परिवारलाई भनेका छन्।

यसैबीच जोर्डनमा नै कासीम बास्तावी र उनको परिवारले रिहा भएका व्यक्ति आफ्ना आफन्त अहमद भएको ठानिरहेको छ।

बास्तावीले अहमद प्यालेस्टीनी लडाकू रहेको र उनलाई लेबनानबाट बन्धक बनाएर सिरियामा ल्याइएको बीबीसीलाई बताए।

सन् १९९५ मा एक जना रिहा भएका बन्दीले उक्त परिवारसँग भेट गरेर अहमद सैदनाय जेलमा रहेको जानकारी दिएका थिए। उक्त परिवारले जेलमा उनीसँग सम्पर्क गर्ने प्रयास गरेको थियो तर उनीहरूलाई सिरियाली सुरक्षा फौजले धम्की दिएका थिए।

बास्तावी परिवारले ती व्यक्ति आफ्ना हराइरहेका व्यक्ति भए नभएको यकिन गर्न डीएनए जाँच गराउने योजना बनाइरहेको छ।

'हामी भगवानको कृपा कुरिरहेका छौँ"

अनुवंशिक जाँचले रिहा भएका बन्दी आफ्ना आफन्त नभएको देखाएपछि अल-बाटाइना परिवारमा एक किसिमको निराशा छाएको छ।

"हामी केही गर्न सक्दैनौँ र हामी ईश्वरको कृपा कुरिरहेका छौँ," ओसामाका भाइ मोहम्मद अल-बाटाइनाले बीबीसीलाई भने।

उनीहरूका पिताले आफ्ना छोराबारे सूचना प्राप्त गर्न हरसम्भव प्रयास गरेका थिए। शोकका कारण आमाको आँखाको शक्ति गुमेको थियो। परिवारका अनुसार केही वर्षअघि उनको मृत्यु भयो।

"उनी गिरफ्तार भएयता हामीले खोजी कार्य कहिल्यै रोकेका छैनौँ। हामीले सिरियामा रहेका मानिसहरूसँग उनले भोगको नियति र उनी जीवित रहे या नरहेकोबारे पत्ता लगाउन सम्पर्क गर्ने प्रयास गरी राखेका छौ," मोहम्मद अल-बटाइनाले थपे।

उनले सैदनाया जेलमा एसिडमा डुबाएर शवहरू नष्ट गरिएको भन्ने सञ्चारमाध्यममा आएका विवरणहरूले आफूलाई पिरोलेको बताए।

तर उनको परिवारले आशा नमार्ने र हराइराखेका आफ्ना अफन्तको खोजी जारी राख्ने योजना बनाएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।