इरान सम्झौतामा सहमत हुन्छ कि 'खराब परिणाम निम्तिन्छ' भन्ने हेर्न विश्वसँग दश दिन बाँकी रहेको ट्रम्पको भनाइ

डोनल्ड ट्रम्प

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, बोर्ड अफ पीसमा ट्रम्पले इरानसँगको कुराकानी 'निकै राम्रो' तर ऐतिहासिक रूपमा कठिन रहेको बताए
    • Author, बर्न्ड डेबसमन जुनिअर
    • Role, ह्वाइट हाउस संवाददाता
  • पढ्ने समय: ४ मिनेट

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग सम्झौता हुने वा अमेरिकाले सैन्य कदम चाल्ने भन्नेबारे "सम्भवतः आउँदो १० दिनभित्र" विश्वले थाहा पाउने बताएका छन्।

वाशिङ्टन डीसीमा आयोजित आफ्नो शान्ति बोर्डको पहिलो बैठकमा उनले इस्लामिक गणतन्त्रसँग उसको आणविक कार्यक्रमबारे भइरहेको वार्ताका सन्दर्भमा भने, "हामीले अर्थपूर्ण सम्झौता गर्नैपर्छ, नत्र परिणाम राम्रो नहुन सक्छ।"

हालैका दिनमा अमेरिकाले मध्यपूर्व क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाएको छ। यद्यपि स्विट्जरल्यान्डमा अमेरिकी र इरानी प्रतिनिधिबीच भएको छलफलमा केही प्रगति भएका विवरणहरू पनि सार्वजनिक भएका छन्।

यसैबीच, डेमोक्र्याटिक पार्टीका सांसदहरू र केही रिपब्लिकन सदस्यहरूले कङ्ग्रेसको अनुमतिबिना इरानमा हुन सक्ने सैन्य कारबाहीको विरोध गरेका छन्।

ट्रम्पले आफ्नो वक्तव्यमा विशेष दूत स्टिभ विटकफ र ज्यारड कुश्नरले इरानसँग "धेरै राम्रा बैठकहरू" गरेको पनि उल्लेख गरेका छन्। कुश्नर ट्रम्पका ज्वाइँ हुन्।

ट्रम्पले भने, "इरानसँग अर्थपूर्ण सम्झौता गर्न सजिलो छैन भन्ने वर्षौँदेखि देखिएको छ।"

त्यसको एक दिनअघि ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले इरानले अमेरिकासँग सम्झौता गर्नु "धेरै बुद्धिमानी" हुने चेतावनी दिँदै ट्रम्प अझै पनि तेहरानको आणविक कार्यक्रमबारे कूटनीतिक समाधानको आशा गरिरहेको बताएकी थिइन्।

ट्रम्पले शान्ति बोर्डको घोषणा गर्दा यसलाई गाजामा इजरेल र हमासबीच दुई वर्षदेखि जारी युद्ध अन्त्य गर्न सहयोग गर्ने र पुनर्निर्माणको निगरानी गर्ने उद्देश्यले गठन गरिएको ठानिएको थियो।

तर पछिल्लो एक महिनामा यसको उद्देश्य केवल एक द्वन्द्वसम्म सीमित नभएर व्यापक भएको देखिएको छ। करिब दुई दर्जन देशहरू समेटिएको तथा ट्रम्पको अध्यक्षता रहेको उक्त बोर्डले संयुक्त राष्ट्रसङ्घलाई पछाडि पार्ने उद्देश्य राखेको हो कि भन्ने प्रश्न धेरैले उठाएका छन्।

गत वर्षको जुनमा अमेरिकाले इरानका तीन परमाणु केन्द्रहरूमा आक्रमण गरेको थियो। यसै साता ह्वाइट हाउसले आक्रमणका नयाँ विकल्पहरूबारे छलफल गरिरहेको विवरणहरू सार्वजनिक भएका थिए।

अमेरिकी सेनाले पछिल्ला साताहरूमा उक्त क्षेत्रमा आफ्नो उपस्थितिलाई बढाउँदै गएको छ, जसमा विमानवाहक युद्धपोत यूएसएस अब्राहम लिङ्कनको परिचालन पनि समावेश छ।

तर बीबीसीको बुझाइअनुसार, ब्रिटेन सरकारले अमेरिकी सेनालाई इरानमा सम्भावित आक्रमणका लागि आफ्ना सैन्य अड्डाहरू प्रयोग गर्न अनुमति दिएको छैन।

मध्यपूर्वका अघिल्ला सैन्य कारबाहीहरूमा अमेरिकाले आरएएफ फेअरफोर्ड, ग्लोस्टरसायर र ब्रिटेनको बाह्य क्षेत्र डिएगो गार्सिआ तथा हिन्द महासागरको उपयोग गरेको थियो।

इरानले पनि आफ्ना सैन्य स्थलहरूलाई मजबुत बनाएको स्याटलाइट तस्बिरहरूले देखाएका छन्। सँगसँगै देशका सर्वोच्च नेता अयोतोल्लाह अली खामेनेईले अमेरिकी बललाई धम्की दिने सन्देशहरू सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।

उनको एउटा पोस्टमा भनिएको छ: "अमेरिकी राष्ट्रपतिले लगातार अमेरिकाले इरानतर्फ युद्धपोत पठाएको बताइरहेका छन्। युद्धपोत पक्कै पनि खतरनाक सैन्य उपकरण हो तर त्यो युद्धपोतभन्दा खतरनाक हतियार हो जसले उक्त युद्धपोतलाई समुद्रको पिँधमा पुर्‍याइदिन सक्छ।"

अमेरिकी कङ्ग्रेसका केही सदस्यहरूले इरानविरुद्ध हुन सक्ने कुनै पनि किसिमका सैन्य कारबाहीको विरोध गरेका छन्।

क्यालिफोर्नियाका डेमोक्र्याट रो खन्ना र केन्टुकीका रिपब्लिकन थोमस मेसीले आफूहरूले अर्को साता '१९७३ वार पावर एक्ट' अन्तर्गत उक्त विषयमा भोटिङ गराउन प्रयत्न गर्ने बताएका छन्।

उक्त ऐनले कङ्ग्रेसलाई सशस्त्र द्वन्द्वमा अमेरिकी सेनालाई सामेल गर्न सक्ने राष्ट्रपतिको शक्तिमा नियन्त्रण राख्ने अधिकार दिन्छ।

"इरानसँगको युद्ध विनाशकारी हुने छ। इरान ९ करोड जनसङ्ख्या भएको जटिल समाज हो र त्यहाँका हवाई सुरक्षा प्रणालीहरू र सैन्य क्षमता पर्याप्त बलिया छन्," खन्नाले सामाजिक सञ्जालमा लेखेका छन्।

उनले उक्त क्षेत्रमा रहेका हजारौँ अमेरिकी सैनिकहरू "जबाफी कारबाहीको जोखिममा" पर्न सक्ने पनि बताएका छन्।

तथापि कङ्ग्रेसका दुवै सदनबाट त्यस्तो प्रस्ताव पारित हुने सम्भावना बलियो देखिँदैन।

गएको ज्यानुअरीमा सिनेटका रिपब्लिकनहरूले भेनेजुएलामा थप सैन्य कारबाही अघि बढाउन कङ्ग्रेसको स्वीकृति आवश्यक पर्ने प्रस्तावलाई रोकिदिएका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।