छानिएका ४०% नेपाली कामदार इजरेल जान 'अनिच्छुक', के कृषि क्षेत्र फेरि खुल्न लागेको हो

    • Author, विष्णु पोखरेल
    • Role, बीबीसी न्यूज नेपाली

द्विपक्षीय श्रम समझदारीअन्तर्गत गत वर्ष इजरेल जानका लागि छानिएका नेपाली कामदारमध्ये झन्डै ४० प्रतिशतले अहिले जाने "इच्छा नदेखाएको" अधिकारीहरूले बताएका छन्।

जानकारहरूका भनाइमा गत अक्टोबरदेखि जारी इजरेल-हमास द्वन्द्वका कारण "पठाउने प्रक्रिया अवरुद्ध" हुँदा कतिपय कामदारले वैकल्पिक गन्तव्य रोजिसकेका छन्।

वैदेशिक रोजगार विभागका अधिकारीले बीबीसीसँगको कुराकानीमा छानिएका केही नागरिकहरूलाई "पटकपटक सम्झौता गर्न बोलाउँदा" पनि उनीहरू नआएको जानकारी दिए।

इजरेलमा जारी पछिल्लो द्वन्द्वका कारण अवरुद्ध भएको कामदार पठाउने प्रक्रिया सुरु भइसकेको र अब चाँडै केही नेपाली कामदारहरू इजरेल जान लागेको अधिकारीहरूको भनाइ छ।

कति नेपाली कामदार इजरेल जाँदै छन्

गत अक्टोबर ७ मा हमासले इजरेली भूमिमा पसेर गरेको आक्रमणमा 'लर्न एन्ड अर्न' कार्यक्रमअन्तर्गत इजरेल गएका १० नेपाली विद्यार्थीको ज्यान भएको थियो भने एक जना अझै बेपत्ता छन्।

त्यसपछि त्यहाँ कार्यरत २५० जनाभन्दा बढी नेपाली विद्यार्थीलाई उद्धार गरेर नेपाल ल्याइएको थियो।

हमासको कब्जामा रहेको भनिएका विपिन जोशीको अवस्था भने अझै अज्ञात छ।

नेपाल सरकारले उक्त कार्यक्रमअन्तर्गत विद्यार्थीहरूलाई पठाउने कार्यलाई अहिले स्थगित गरिदिएको छ।

तर 'जीटूजी' अर्थात् सरकार-सरकारबीच भएको सम्झौताअन्तर्गत दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका रूपमा नेपालीहरूलाई पठाउने प्रक्रिया भने जारी रहेको वैदेशिक रोजगार विभागका सूचना अधिकारी कविराज उप्रेतीले बताए।

उनका अनुसार जीटूजीअन्तर्गत स्याहार क्षेत्रमा पठाइने ४२५ जना नेपाली कामदार एक वर्षअघि नै छानिएका थिए। तर अक्टोबरदेखि जारी द्वन्द्वका कारण उनीहरूलाई पठाउने प्रक्रिया अवरुद्ध हुन पुग्यो।

"अहिले इजरेलबाट सम्झौतापत्र आएकाले कामदारसँग सम्झौता गर्ने काम भइरहेको छ। केहीलाई हामीले सम्झौता गरेर पूर्व प्रस्थान प्रशिक्षण पनि दिइसकेका छौँ," उनले भने।

तर छानिएका कुल ४२५ मध्ये झन्डै ६० प्रतिशतले मात्र इजरेल जाने इच्छा देखाएका छन्।

"हालसम्म जम्मा २५२ जनाले मात्र जानका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्," उनले भने, "हामीले सबैलाई जानकारी दिएका थियौँ, तर अरू आएनन्।"

उनका अनुसार इजरेलका लागि छानिएकामध्ये कतिपय अन्य देशहरू नै गइसकेको पाइएको छ भने केहीले वैकल्पिक व्यवसाय अपनाएकाले जाने इच्छा देखाएका छैनन्।

छानिएकाहरू कहिलेसम्म जान पाउँछन्?

स्याहार क्षेत्रमा इजरेल जान सम्झौता गरेका कामदारहरूले अब चाँडै त्यता जान पाउने उप्रेतीले जानकारी दिए।

उनले भने, "सबै प्रक्रिया पूरा गरेर तथा प्रशिक्षण लिएपछि ढिलोमा अबको दुई अढाई महिनासम्ममा उहाँहरू जान सक्नुहुन्छ।"

उनका अनुसार द्वन्द्वका कारण उनीहरू छनोट भए पनि लामो समय जान पाएका थिएनन्।

तर अब नेपाली कामदारहरूसँग रोजगारदाताहरूले सम्झौता गरिसकेकाले त्यस्तो ढिलाइ नहुने अपेक्षा गरिएको उनको भनाइ छ।

कृषि क्षेत्रमा पठाउनेबारे अध्ययन हुँदै

हमासको हमलामा नेपाली विद्यार्थीहरूको पनि ज्यान गएपछि कृषि क्षेत्रमा नेपालीलाई पठाउने प्रक्रिया रोकिएको थियो। त्यो फेरि खुलाउने कि नखुलाउने भन्ने विषयमा अहिले नेपालले अध्ययन गरिरहेको श्रम अधिकारीहरूले बताएका छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले म्यानपावर कम्पनीमार्फत् कृषि क्षेत्रमा कामदार पठाउनेबारे अध्ययन गर्न एउटा पुनरवलोकन समिति समेत बनाएको छ।

उक्त समितिले अहिले छलफल र अध्ययन गरिरहेको त्यसका संयोजक समेत रहेका श्रम मन्त्रालयका सहसचिव गोविन्दप्रसाद रिजालले बताए।

उनले भने, "हामी सकेसम्म चाँडो यसबारे सबै काम पूरा गरेर प्रतिवेदन बुझाउने तयारीमा रहेका छौँ। अहिले नै छलफल टुङ्गिसकेको छैन।"

यद्यपि केही व्यवसायी र व्यक्तिहरूले "ठूलो रकम असुलेर" कृषि क्षेत्रमा कामदार पठाउने भन्दै ठगी गरेको आशयको मौखिक उजुरी वैदेशिक रोजगार विभागमा परेको जानकारी अधिकारीहरूले दिएका छन्।

त्यसपछि विभागले एउटा सूचना जारी गर्दै "त्यस्तो प्रलोभनमा नपर्न" भन्दै एउटा सूचना जारी गरेको छ।

रिजालले भने, "सरकारी माध्यमबाट जानेबाहेक अहिले इजरेल पठाइदिन्छु भनेर कसैले रकम माग्छ भने त्यो ठगी हो। त्यसमा नपर्न म सबैलाई आग्रह गर्छु। हामीले कुनै पनि कम्पनीलाई त्यसरी कामदार पठाउन दिएका छैनौँ।"

अक्टोबरपछि कति नेपाली गए इजरेल?

गत अक्टोबर ७ तदनुसार असोज २० गते इजरेलमा हमासले आक्रमण गरेको थियो।

त्यसपछि पनि नेपाली कामदारहरू इजरेल जाने क्रम रोकिएको भने छैन। त्यसरी जानेमा पहिलेदेखि नै इजरेलमा कार्यरत कामदारहरू धेरै छन्।

नेपाल आएका कामदारहरूले पुन: श्रम स्वीकृति लिएर इजरेल गएको वैदेशिक रोजगार विभागको विवरणले देखाउँछ।

विभागले सार्वजनिक गरेको विवरणअनुसार गएको असोजदेखि फागुन सम्ममा ४७१ जना नेपालीले इजरेल जानका लागि श्रम स्वीकृति वा पुन: श्रम स्वीकृति लिएका छन्।

इजरेल जान श्रम स्वीकृति लिनेमध्ये असोज महिनामा म्यानपावर कम्पनीमार्फत् २४ जनाले त्यस्तो अनुमति लिएका थिए।

त्यसपछि म्यानपावर कम्पनीमार्फत् माघ महिनामा चार जनाले तथा माघ र फागुन महिनामा एकएक जनाले व्यक्तिगत रूपमा नयाँ श्रम स्वीकृति लिएका छन्।

तीबाहेक अन्य सबै इजरेलमा पहिलेदेखि नै रहेका र नेपाल आएर फर्कनका लागि पुन: श्रम स्वीकृति लिनेहरू छन्।

इजरेलमा नेपाली

इजरेलमा गरेको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीको मृत्यु भएपछि परराष्ट्र मन्त्रालयले त्यहाँ रहेका नेपालीबारे जानकारी सार्वजनिक गरेको थियो।

त्यस बेला मन्त्रालयले दिएको जानकारीअनुसार हाल इजरेलमा ४,५०० नेपालीहरू 'केअरगिभर'को रूपमा कार्यरत छन्।

त्यस्तै २६५ जना विद्यार्थीहरू ‘लर्न एन्ड अर्न’ योजनाअन्तर्गत काम गर्दै सिक्नका लागि कृषि क्षेत्रमा गएकामा हमासको आक्रमणपछि सरकारले २५० जनाभन्दा बढीलाई उद्धार गरेर ल्याएको थियो।

यद्यपि कतिपय नेपालीहरू इजरेलमा रोजगारीको समय सकिएपछि पनि विभिन्न तरिकाबाट बसेर काम गरिरहेको त्यहाँस्थित नेपालीहरू बताएँछन्। त्यस्ता नेपालीको सङ्ख्या पनि उल्लेख्य रहेको बताइन्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।