तमिल टाइगर्स नेता प्रभाकरन जीवित रहेको दाबी, के भन्छ श्रीलङ्काको सेना

भेलुपिल्लई प्रभाकरन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, फाइल तस्बिर

लिबरेशन टाइगर्स अफ तमिल ईलम (एलटीटीई) का नेता भेलुपिल्लई प्रभाकरन जीवित रहेको दाबी असत्य भएको श्रीलङ्काले जनाएको छ।

बीबीसी तमिलसँग कुरा गर्दै श्रीलङ्काको सेनाका प्रवक्ता ब्रिगेडियर रवि हेराथले प्रभाकरन सन् २००९ मा श्रीलङ्काको गृहयुद्धको अन्तिम चरणमा मारिएको र त्यो एकदमै स्पष्ट रहेको बताए।

प्रभाकरनको मृत्यु भएको केही समयपछि युद्धमा आफ्नो जित भएको भन्दै श्रीलङ्का सरकारले २६ वर्ष लामो गृहयुद्ध सकिएको घोषणा गरेको थियो।

"युद्धको अन्तिम दिन मे १८, २००९ मा प्रभाकरनको मृत्यु भएको थियो। उनको मृत्युपछि डीएनए परीक्षण गरिएको थियो। त्यसमा मृत्यु हुने व्यक्ति प्रभाकरन नै भएको पुष्टि भयो। यसमा कुनै विवाद छैन।"

"हामी प्रभाकरन जीवित रहेको दाबीप्रति चिन्तित छैनौँ किनभने यो गलत हो।"

ब्रिगेडियर रवि हेरथले तमिल राष्ट्रवादी नेताहरूले प्रभाकरन जीवित रहेको भन्दै गरेको दाबी खण्डन गरेका हुन्।

प्रभाकरनको भित्तेचित्र

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, श्रीलङ्काको गृहयुद्धयुद्ध २६ वर्षपछि टुङ्गिएको थियो

तमिल नेताको दाबी

तमिल नेता तथा लेखक पाझा नेदुमारनको नेतृत्वमा तमिल राष्ट्रवादीहरूको समूहले सोमवार सञ्चारमाध्यमसमक्ष प्रभाकरन जीवित रहेको बताएका थिए।

उक्त समूहले श्रीलङ्काको गृहयुद्धप्रति समर्पित स्मारक 'मुल्लिभाइक्कल मातरम्'मा सञ्चारकर्मीलाई भेटेको थियो।

उनले प्रभाकरन र उनको परिवार जीवित रहेको दाबी गरे। पाझा नेदुमारनले त्यस सम्बन्धमा एउटा वक्तव्य पनि पढेका थिए।

तमिल नेता र श्रीलङ्काका सैन्य प्रवक्ता
तस्बिरको क्याप्शन, तमिल नेता र श्रीलङ्काका सैन्य प्रवक्ता

"अन्तर्राष्ट्रिय राजनीतिक अवस्था र सिन्हली जनताको विरोध राजपक्षलाई हटाउन पर्याप्त थियो। त्यसले प्रभाकरनको उदयको लागि मञ्च तयार गरेको छ," त्यसमा भनिएको छ।

"तमिल ईलम आन्दोलनका नेता प्रभाकरन जीवित र सुरक्षित छन् भन्ने सुसमाचार घोषणा गर्न पाउँदा हामी धेरै खुसी छौँ। हामी आशा गर्छौं- यसले उनको बारेमा फैलिएको अनुमान र शङ्काको अन्त्य गर्नेछ," उनले भनेका थिए।

"प्रभाकरनले चाँडै तमिल ईलम जनताको मुक्तिको लागि आफ्नो योजना घोषणा गर्नेछन्। श्रीलङ्काका तमिल जनता र विश्वभरिका तमिलहरू एकजुट भएर उनलाई पूर्ण समर्थन गरून् भन्ने हामी चाहन्छौँ।"

red line
red line

भारतको समर्थन, चीनको विरोध

एलटीटीई बलियो हुँदा भारतको विपक्षमा भएका देशहरूले एलटीटीईलाई समर्थन नगरेको उनले बताए।

उनका भनाइमा त्यस्ता देशहरू श्रीङ्कामा आफ्नो प्रभुत्व स्थापित गर्न चाहन्थे तर प्रभाकरन भारतविरोधी कुनै पनि देशसँग सहयोग नलिने कुरामा दृढ थिए।

"चीनले श्रीलङ्कामा आफ्नो वर्चस्व स्थापित गरिरहेको छ र उसले भारतविरुद्ध प्रयोग गरिरहेको अहिले हामी देख्छौँ। चीनले हिन्द महासागरमा प्रभुत्व जमाउन सक्ने खतरा पनि छ। यसलाई रोक्नको लागि कदम चाल्नु पर्छ।"

उनले भारतको तमिलनाडु सरकार र तमिलनाडुका सबै राजनैतिक दलहरूलाई यो महत्वपूर्ण मोडमा प्रभाकरनलाई समर्थन गर्न माग पनि गरे।

श्रीलङ्का

तस्बिर स्रोत, Getty Images

प्रभाकरनको परिवारसँग सम्पर्क

नेदुमारनले वक्तव्य पढेपछि केही प्रश्नको उत्तर पनि दिएका थिए।

उनले भने, "म प्रभाकरनको परिवारसँग सम्पर्कमा छु। उनीहरूको अनुमतिपछि उनीहरूबाट प्राप्त जानकारी यहाँहरूसमक्ष राख्दैछु।"

"उनी कहाँ छन् र कहिले बाहिर निस्किन्छन् भनेर सबै जना उत्सुक छन्। उनी चाँडै देखा पर्नेछन्। उनकी श्रीमती र छोरा सकुशल छन्।"

यति धेरै वर्षपछि यो सूचना किन बाहिर ल्याइयो भनेर सोध्दा उनले परिस्थिति अहिले मात्रै त्यस्तो कुरा खुलाउन अनुकूल भएको बताए।

उनले भने, "राजपक्षलाई सत्तामा ल्याउने जनताले नै विरोध गरे र उनलाई हटाए। सिन्हली जनताले सत्य बुझ्न थालेका छन्। यो भन्दा राम्रो समय के होला?"

red line
red line

प्रभाकरनको मृत्यु भएको तमिल टाइगर्सले नै स्वीकारेको थियो

केही समययता तमिल ईलमका समर्थकहरूले प्रभाकरन जीवित रहेको र उनको बारेमा जानकारी सार्वजनिक गर्नुपर्ने बताउँदै आएका थिए।

त्यसपछि सोमवार तन्जावुरमा पत्रकार सम्मेलनको आयोजना गरियो।

प्रभाकरनबारे पुष्टि भएको समाचार नआएपछि धेरै नेता पत्रकार सम्मेलनमा गएनन्। पछि नेदुमारन र अन्यले वक्तव्य जारी गरेका हुन्।

सन् २००९ मे १८ मा श्रीलङ्काको सेनाले एलटीटीई नेता प्रभाकरनको मृत्यु भएको घोषणा गरेको थियो।

श्रीलङ्का

तस्बिर स्रोत, SRILANKA_ARMY

तस्बिरको क्याप्शन, श्रीलङ्काका सैन्य प्रवक्ता

त्यो नै श्रीलङ्काको सेना र एलटीटीईबीच लडाइँको अन्तिम चरणको अन्तिम दिन साबित भयो।

सुरुमा सेनाले एम्बुलेन्समा भाग्न खोज्दा प्रभाकरनको मृत्यु भएको बताएको थियो।

तर पछि सेनाले प्रभाकरनको शव नान्टिकडालमा समुद्री तटमा भेटिएको र उनलाई गोली लागेको बताएको थियो।

त्यस बेला तमिल टाइगर्सले प्रभाकरनको मृत्युको खण्डन गर्दै आफ्ना नेता जीवित र सुरक्षित रहेको बताएको थियो।

तर एक सातापछि टाइगर्सले वक्तव्य जारी गर्दै आफ्ना "अतुलनीय नेता" ले "वीरगति" प्राप्त गरेको जनाएको थियो।