अमेरिकामा प्रतिबन्धबाट जोगिन टिकटकको अदालतसँग गुहार

तस्बिर स्रोत, Getty Images
टिकटकले संयुक्त राज्य अमेरिकामा आफूमाथि प्रतिबन्ध लगाउन सक्ने कानुन रोक्न मुद्दा दायर गरेको छ।
नयाँ कानुनअन्तर्गत चिनियाँ कम्पनी 'बाइटड्यान्स'ले नौ महिनाभित्र उक्त लोकप्रिय सामाजिक सञ्जालको स्वामित्व बिक्री गरिसक्नुपर्ने छ। अन्यथा अमेरिकामा टिकटक प्रतिबन्धित हुने छ।
टिकटक सञ्चालन गर्ने कम्पनीले अदालतमा दिएको निवेदनमा उक्त कानुनले आफू र अमेरिकामा रहेका आफ्ना १७ करोड प्रयोगकर्ताको 'वाक्स्वतन्त्रताको अधिकारमाथि आक्रमण गरेको" तर्क गरेको छ।
"शङ्काका आधारमा" मात्र उक्त कानुन बनाइएको भन्दै त्यसलाई रोकिदिन टिकटकले अदालत गुहारेको हो।
सिनेटबाट पारित विधेयकलाई केही साताअघि राष्ट्रपति जो बाइडनले प्रमाणीकरण गरेका थिए। उनले राष्ट्रिय सुरक्षाका लागि उक्त कानुन आवश्यक भएको बताएका थिए।
यो एप सञ्चालन गर्ने कम्पनीले अमेरिकी टिकटक प्रयोगकर्ताको डेटा चिनियाँ सरकारलाई उपलब्ध गराउन सक्ने हुनाले यसलाई प्रोपागान्डा फैलाउन पनि प्रयोग गर्न सकिने केही अमेरिकीहरूको आशङ्का छ। यस्तै आशङ्काबीचको लामो विवादपछि अमेरिकामा टिकटक प्रतिबन्ध लगाउने कानुन बनेको हो।
तर टिकटकले चिनियाँ सरकारसँग कुनै सम्बन्ध नरहेको बताएको छ। बाइट्ड्यान्सले टिकटक बेच्ने कुनै योजना नभएको स्पष्ट पारेको छ।
चीन सरकारले अमेरिकाको नयाँ कानुनलाई विदेशी कम्पनीमाथिको "बुलिइङ" भन्दै यसको विरोध गर्ने सङ्केत गरेको छ।
अमेरिकी कानुनमा के छ

तस्बिर स्रोत, Reuters
पत्रकारहरूसँगको एक अन्तर्क्रियामा अमेरिकी राष्ट्रपति कार्यालयकी प्रेस सेक्रटरी करिन जन-पीअरले नयाँ अमेरिकी कानुन "प्रतिबन्ध नभई बिक्री"का लागि रहेको बताएकी थिइन्।
उनले यसबारे थप जानकारीका लागि न्याय मन्त्रालयसँग कुरा गर्न भनेकी थिइन्। तर न्याय मन्त्रालयले कुनै टिप्पणी गर्न अस्वीकार गरेको छ।
यस कानुनअनुसार मोबाइल फोनका एप स्टोरहरूले बाइट्ड्यान्सले टिकटक नबेचेसम्म सन् २०२५ को ज्यानुअरीदेखि अमेरिकामा रहेका प्रयोगकर्तालाई टिकटक एप देखाउन पाउने छैनन्।
यस विषयमा वार्तामा कुनै प्रगति भए राष्ट्रपति बाइडनले यस म्यादलाई ९० दिनसम्म थप सक्ने छन्।
टिकटकको भनाइ

तस्बिर स्रोत, EPA
तर डीसी सर्किट कोर्ट अफ अपील्समा मङ्गलवारै दायर गरिएको एक मुद्दामा टिकटकले बिक्री गर्नुपर्ने भनी गरिएको व्यवस्था "व्यापारिक, प्राविधिक र कानुनी हिसाबले असम्भव, अझ ऐनले तोकेबमोजिमको २७० दिनको समयमा पूर्ण असम्भव" रहेको दाबी गरेको छ।
यस कानुनले अन्य सबैका लागि एक थरी नियमको व्यवस्था गरे पनि टिकटकका लागि भने छुट्टै व्यवस्था गरेको भन्दै उसले आपत्ति जनाएको छ।
पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पलगायतले टिकटकमाथि प्रतिबन्ध लगाउन खोज्दा अमेरिकी अदालतले रोकेको पनि टिकटकले उल्लेख गरेको छ।
राष्ट्रपति बाइडनले समेत टिकटक खाता खोल्ने निर्णय गरेबाट टिकटकमा सुरक्षा जोखिम रहेको दाबी कमजोर भएको उसको भनाइ छ।
विगतमा अमेरिकामा रेडिओ र टेलिभिजन प्रसारणका लागि विदेशी लगानीमा रोक लागेको थियो। तर टिकटकले आफ्नो व्यवसाय त्यसभन्दा फरक रहेको दाबी गरेको छ।
डेटा सुरक्षाबारे अमेरिकी चासो सम्बोधन गर्न आफूले दुई अर्ब डलरभन्दा बढी रकम खर्च गरेको टिकटकको भनाइ छ।
मुद्दा कति बलियो
अमेरिका र चीनबीचको व्यापारले राष्ट्रिय सुरक्षामा पार्ने प्रभाव अनुगमनका लागि कङ्ग्रेसबाट अख्तियारप्राप्त एक समितिका प्रमुख ज्याकब हेल्बर्गका अनुसार टिकटकको लगानीलाई वाशिङ्टनमा "छलयुक्त मार्केटिङ प्रयास"का रूपमा हेरिएको छ।
टिकटकले अहिले दायर गरेको मुद्दा पनि "गम्भीर नभएको" र यो "राष्ट्रिय सुरक्षाबारे विद्यमान चासोलाई सम्बोधन गर्न" विफल रहेको उनले बताए।
तर 'अमेरिकन सिभल लिबर्टिज यूनियन'का वरिष्ठ अधिवक्ता एस्ली गोर्स्कीका अनुसार अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी चासोका सन्दर्भमा टिकटकले यस मुद्दामा विश्वासयोग्य तर्क प्रस्तुत गरेको छ।
उनले भनिन्, "राष्ट्रिय सुरक्षामा रहेको अति गम्भीर तथा जरुरी जोखिम रोकथामका लागि बाहेक सरकारले यस्तो पूर्ण प्रतिबन्ध लगाउन सक्दैन।"
तर यस कानुनले लागु गर्न खोजेको विशिष्ट प्रतिबन्ध, यस्तो प्रतिबन्ध आवश्यक पर्ने स्तरको जोखिमको सार्वजनिक प्रमाण नभएको उनको भनाइ छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








