सीके राउतको दलबाट मधेशमा मुख्यमन्त्री बनेका सतीशकुमार सिंहको पृष्ठभूमि के हो

मुख्यमन्त्रीको शपथ लिँदै सिंह
तस्बिरको क्याप्शन, जनमत पार्टीका सतीशकुमार सिंहले मधेशको मुख्यमन्त्रीका रूपमा शुक्रवार शपथ लिएका छन्
    • Author, बृजकुमार यादव
    • Role, जनकपुर

मधेश प्रदेशमा तेस्रो मुख्यमन्त्रीका रूपमा नियुक्त भएका जनमत पार्टीका सतीशकुमार सिंहले शुक्रवार पदबहाली गरेका छन्। उनको शपथग्रहण पनि शुक्रबारै भएको थियो।

मुख्यमन्त्री सिंहले १० जना मन्त्री र तीन जना राज्यमन्त्री रहेको उक्त प्रदेशको हालसम्मकै सबैभन्दा ठूलो मन्त्रिमण्डल पनि गठन गरेका छन्।

नवनियुक्त मन्त्रीहरूले पनि शुक्रवार नै पदबहाली गरेका छन्।

सिंह मुख्यमन्त्री भएसँगै जनता समाजवादी पार्टी (जसपा) नेपाल नेतृत्वको मधेश प्रदेश सरकारको निरन्तरता टुटेको छ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्री सिंह र मन्त्रीहरूलाई शुक्रवार मध्यान्ह शपथग्रहण गराएकी थिइन्।

सतीशकुमार सिंहको पृष्ठभूमि

मुख्यमन्त्री सिंह सप्तरी जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाका पूर्वअध्यक्ष हुन्।

उनी विसं २०७४ सालको स्थानीय निर्वाचनमा उक्त गाउँपालिकामा महन्थ ठाकुर नेतृत्वको तात्कालिक राष्ट्रिय जनता पार्टी (राजपा)बाट अध्यक्ष निर्वाचित भएका थिए।

दोस्रो स्थानीय तह निर्वाचनमा पनि उनी गाउँपालिका अध्यक्षको पदमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट उम्मेदवार बनेका थिए। तर दोस्रो पटक उनी निर्वाचिन हुन सकेनन्।

पछिल्लो आमनिर्वाचनमा भने उनी जनमत पार्टीबाट प्रदेशसभामा निर्वाचित भए।

उनका पिता शेखरकुमार सिंह चाहिँ लोकतान्त्रिक समाजवादी पार्टीबाट राष्ट्रियसभा सदस्य छन्।

मुख्यमन्त्री बन्ने क्रममा उनले आफ्नै दलभित्र पनि विवादको सामना गर्नुपरेको थियो।

बिहीवार बिहान उक्त दलले अचानक संसदीय दलको नेताबाट महेश यादवलाई हटाएर सिंहलाई चयन गरेको थियो। त्यसले उक्त दलभित्र विवाद रहेको कुरा बाहिर आएको थियो।

उक्त दलबाट मुख्यमन्त्री र एक जना राज्यमन्त्रीले शपथग्रहण गरेका छन्। सोही दलबाट अन्य दुई जना मन्त्री पनि नियुक्त हुने बताइएको छ।

तर उक्त दलले हालसम्म ती मन्त्रीहरूको टुङ्गो लगाइसकेको छैन।

सीके राउत स्वदेश फर्किएपछि मन्त्रीहरू टुङ्गो लाग्ने

मुख्यमन्त्री सिंहले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका छन्।

बाहिर विवाद भएको "हल्ला भए पनि" पार्टीभित्र त्यस्तो विवाद नरहेको नेता महेश यादवले बताए।

उनको भनाइमा पछिल्लो संसदीय दलको बैठकले मुख्यमन्त्री छान्ने जिम्मा पार्टी अध्यक्ष सीके राउतलाई दिएको थियो।

राउतले सिंहलाई नियुक्त गर्ने निर्णय गरेपछि उनी मुख्यमन्त्री बनेका हुन्।

नयाँ गठबन्धनले मन्त्रीहरूको भागबण्डा गरेको र त्यसमा जनमतले मुख्यमन्त्रीसहित वन तथा वातावरण मन्त्रालय र एकजना विना विभागीय मन्त्री पाउने भएको छ।

उक्त दलका अध्यक्ष सीके राउत हाल विदेश भ्रमणमा रहेकाले उनी स्वदेश फर्केपछि मात्र बाँकी रहेका मन्त्रीहरूको टुङ्गो लगाइने बताइएको छ।

अरू कुनकुन दल सरकारमा गए?

मधेश प्रदेशका मन्त्रीहरू
तस्बिरको क्याप्शन, मन्त्रीहरूले पनि शुक्रवारै शपथग्रहण गरेका छन्

मधेश सरकारमा नेकपा एमालेका चार जना मन्त्री नियुक्त भएका छन्।

त्यसमा एमालेका सरोजकुमार यादव (निवर्तमान मुख्यमन्त्री होइनन्) भौतिक पूर्वाधार विकास मन्त्री, राजकुमार लेखी शिक्षा तथा संस्कृति मन्त्री, शत्रुधनप्रसाद सिंह स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र प्रमोदकुमार जयसवाल खेलकुद तथा समाजकल्याण मन्त्री रहेका छन्।

एमालेकै केशव राय स्वास्थ्य तथा जनसङ्ख्या र शारदादेवी थापा शिक्षा तथा संस्कृति राज्यमन्त्री बनेका छन्।

नेकपा माओवादी केन्द्रबाट भरत साह अर्थ र युवराज भट्टराई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री बनेका छन्।

मन्त्रीहरू

त्यस्तै नेकपा एकीकृत समाजवादीबाट गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र बेची लुगेङ्ली उर्जा सिँचाइ तथा खानेपानी मन्त्री बनेका छन्।

एमाले, माओवादी र नेकपा एकीकृत समाजवादीबाट मन्त्री बनेकाहरू यसअघिको सरकारमा पनि मन्त्री नै रहेका थिए।

एकएक जना मात्र सदस्य रहेको भए पनि नागरिक उन्मुक्ति पार्टीबाट उर्मिला चोधरी श्रम तथा यातायात मन्त्री र नेपाल सङ्घीय समाजवादी पार्टीबाट विमला अन्सारी गृह, सञ्चार तथा कानुन मन्त्री बनेकी छिन्।

योसँगै मधेश प्रदेशमा तीन जना महिला मन्त्री र दुई जना महिला राज्यमन्त्री बनेका छन्।

विपक्षीको भनाइ के छ?

एक सय सात सदस्यीय मधेश प्रदेशसभामा मुख्यमन्त्रीका लागि कम्तीमा ५४ जनाको समर्थन चाहिन्छ।

मुख्यमन्त्रीले सिंहले ५५ जनाको हस्ताक्षरसहित शुक्रवार बिहान प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष सरकारका लागि दाबी पेस गरेका थिए।

यसअघि जनमत पार्टीले लोसपाले पनि आफ्नो सरकारलाई समर्थन गर्ने दाबी गरेको थियो।

बिहीवार नै सरकार गठनका लागि दाबी पेस गर्ने बताइए पनि गठबन्धनमा मन्त्रालयमा भागबण्डाबारे कुरा नमिलेका कारण दाबी पेस भएन।

एमाले संसदीय दलका नेतासमेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले मन्त्रालयहरूबारे शुक्रवार बिहान मात्र टुङ्गो लागेको बताए।

प्रदेशसभामा विश्वासको मत लिन असफल भएका जसपा नेपाल संसदीय दलका नेता सरोजकुमार यादवले सङ्घीय गठबन्धनअनुसार प्रदेशमा सरकार टिक्ने भएकाले अहिलेको नयाँ सरकारको भविष्य लामो नदेखेको टिप्पणी गरेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।