मोरङमा लालबाबुको आत्मविश्वास बलियो कि शेखरको छवि?

    • Author, अशोक दाहाल, ‏बिक्रम निरौला
    • Role, बीबीसी न्यूज नेपाली, विराटनगर

मोरङ क्षेत्र नम्बर ६ मा दोस्रो पटक चुनावी मैदानमा आमनेसामने भएका कांग्रेसका शेखर कोइराला र एमालेका लालबाबु पण्डितको चुनावी प्रतिस्पर्धाले त्यहीँबाट उम्मेदवार बनेका अरू १३ जना उम्मेदवार ओझेलमा छन्।

फाट्टफुट्ट देखिने अरू पार्टी र स्वतन्त्र उम्मेदवारहरूको प्रचार ठूलो समूहमा हिँड्ने सत्तारुढ गठबन्धन र एमालेका उम्मेदवारहरूको प्रचार प्रसार अगाडी फितलो देखिन्छन्।

साधारण परिवारबाट उठेर चार पटक सांसद र दुई पटक मन्त्री भइसकेका लालबाबुका प्रतिस्पर्धी शेखर हालसम्म कार्यकारी पदमा नपुगेका तर मोरङको कोइराला परिवारका ‘उत्तराधिकारी’ का रूपमा प्रस्तुत गरिएका नेता हुन्।

लालबाबुको आत्मविश्वास

विसं २०४८ सालमा पहिलो पटक, २०५६ सालमा दोस्रो र २०७४ मा तेस्रो पटक यही क्षेत्रबाट निर्वाचित भएका लालबाबुको चुनावी यात्रा सफल देखिन्छ। उनी २०६४ सालको पहिलो संविधानसभामा भने समानुपातिक प्रणालीबाट सांसद निर्वाचित भएका थिए।

अघिल्लो निर्वाचनमा शेखरले भन्दा ६०० बढी मतले मात्र निर्वाचित भएका पण्डितलाई यो पटक गठबन्धनले चुनौती थपिदिएको छ।

अघिल्लो पटक उनलाई साथ दिएको माओवादी यो पटक कांग्रेससँग गठबन्धनमा छ भने एमाले विभाजनपछि बनेको एकीकृत समाजवादीले पनि स्थानीय तहमा यो क्षेत्रबाट २,००० बढी मत पाएको छ।

स्थानीय तहको चुनावी परिणाममा एमाले भन्दा कांग्रेस अगाडी देखिए पनि पण्डित आफूले चुनाव जित्नेमा आत्मविश्वासी देखिन्छन्।

“एमाले बाहेकले पनि विकास प्रेमी, सहज पहुँच भएको, सरल, खोज्दा भेटिने र समस्या पर्दा समाधानको निम्ति सधैँ तत्पर रहने जनप्रतिनिधि खोजेको हुन्,” ई-रिक्सा चढेर घरदैलो गरिरहेका पण्डितले भने।

“गठबन्धनको गाँठागुँठीले आफूलाई ठूलो अनुभव सङ्ख्यामा गर्छन्। तर एक मुखे रुद्राक्ष र बहुमुखे रुद्राक्षको महत्त्व फरक हुन्छ।”

अघिल्लो पटक चुनाव लड्दा भर्खरै मन्त्रीबाट बाहिरिएका लालबाबु कर्मचारीलाई जागिर वा विदेशी आवासीय अनुमतिमध्ये एक रोज्न बाध्य गराउने आफ्नो निर्णयका कारण चर्चामा थिए। 

तर निर्वाचित भएर मन्त्री बनेका पण्डितले दोस्रो कार्यकालमा देखाउने काम गर्न नसकेको कतिपय स्थानीयको आरोप छ। तर पण्डितले चाहिँ आफू निर्वाचित भएयता निर्वाचन क्षेत्रमा पाँच अर्ब भन्दा बढी रकमको बजेट ल्याएर ३५० भन्दा बढी ठूला साना परियोजना सञ्चालन गराएको दाबी गर्दै दर्जन बढी कामहरूको सूची फटाफट सुनाए।

उनले थपे, “मैले जनतामा गरेको काम र गर्न सक्ने क्षमता र सरकारमा रहँदा खेरी राष्ट्रियता सुशासन र विकासको निम्ति पुर्‍याएको योगदान जनताको बीचमा स्मरणीय छ।”

‍पण्डितले कोइरालालाई विरासतकै बलमा मात्रै राजनीतिमा आएको आरोप लगाउँदै आएका छन्।

शेखरको छवि

विराटनगरमा कुनै समय ठूलो राजनीतिक प्रभाव जमाएको कोइराला परिवारको एक शताब्दी पुरानो घरमा बसेर चुनावी अभियान चलाएका शेखरले आफूलाई कोइराला परिवारको उत्तराधिकारी भएको सन्देश दिने प्रयास गरेका छन्।

उनको पार्टीका नेता र कार्यकर्ताले मात्रै नभइ गठबन्धनको साझेदार माओवादीका उम्मेदवारले पनि शेखरलाई कोइराला परिवारको उत्तराधिकारीकै रूपमा चिनाउँदै आएका छन्।

“म हिजो काठमाण्डू जाँदा गिरिजाबाबुको ठाउँको मान्छे भनेर गर्वसाथ हिँड्थेँ। आज गिरिजाबाबु भौतिक रूपमा हामीसँग हुनुहुन्न। मलाई के लाग्छ भने त्यो खाली ठाउँ शेखर कोइरालाले भर्दै हुनुहुन्छ,” मोरङ क्षेत्र नम्बर ६ को बुढीगङ्गामा गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै गत साता प्रदेशसभा १ का माओवादी उम्मेदवार जीवन आचार्यले भने।

हामीले कुरा गरेका कतिपय मतदाताले पनि शेखरलाई प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘टक्कर दिन सक्ने’ र चुनावपछि ‘प्रधानमन्त्री बन्न सक्ने’ नेता भएको बताए।

आफूलाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरिएकोबारे बीबीसीले राखेको जिज्ञासामा शेखरले प्रस्ट जवाफ दिएनन्।

“त्यसरी मैले हेरेको छैन। म अहिले निर्वाचन केन्द्रित मात्रै छु,” उनले भने।

गएको स्थानीय निर्वाचन परिणामले गठबन्धनको अङ्कगणित अनुकूल देखाए पनि पार्टीको अन्तरकलहका कारण उनलाई असहयोग हुने हो की भन्ने चिन्ता कांग्रेसकै कतिपय कार्यकर्ताले व्यक्त गरे।

अघिल्लो निर्वाचनको असफलताबाट पाठ सिक्दै यो पटक चुनावी रणनीति फेरेको शेखरको दाबी छ। “घर घर पुग्न प्रयास गर्दै छु। जति सक्छु गर्छु,” उनले भने।

यो निर्वाचनमा सफल हुने आधार के छ भन्ने प्रश्नमा शेखरले एक शब्दको उत्तर दिए,“जनता।”

विकास र स्थानीय समस्या सम्बोधन गर्ने वाचा शेखरले पनि मतदाताहरूसँग गरिरहेका छन्।

“जनताको एजेण्डा विकास रहेछ। उनीहरूले सानोतिनो कुरा खोजेका रहेछन्। हामी संविधानको रक्षाको कुरा गर्छौँ। संविधान लिग बाहिर गयो भन्छौँ तर जनताले खोजेको चाहिँ सडक बनाइदेऊ, नाला बनाइदेऊ, बिजुली पुर्‍याइदेऊ, हाम्रा छोराछोरीलाई रोजगारी देऊ भन्ने छ,” उनले भने।

आफ्नो क्षेत्रका मतदाताले अङ्ग्रेजी माध्यमको पढाइ हुने विद्यालय खोजेको शेखर बताउँछन्।

तर जनतालाई मल चाहियो

इटहरी छेउबाट सुरु भएर सुनसरीको सीमा हुँदै दक्षिणतर्फ फैलिएको मोरङ ६ निर्वाचन क्षेत्रले भारतको सीमा नजिक सम्मका ठाउँ समेटेको छ। बुढीगङ्गा गाउँपालिका सबै र सुन्दर हरैँचा नगरपालिका तथा विराटनगर महानगरपालिकाका केही वडा यो निर्वाचन क्षेत्रमा पर्छन्।

सहरी र ग्रामीण इलाका दुवै समेटेको यो क्षेत्रमा उद्योगहरूसँगै ठूलो खेतीयोग्य क्षेत्र पनि पर्छ।

गत बुधवार यही क्षेत्रमा पर्ने मृगौलियाका किसान शिवनारायण माझी हिउँदे अनाजका लागि बीउ लिन धाएको तेस्रो दिन भएको थियो।

“हिजो पनि आएँ, अस्ति पनि आएँ, आज पनि आएँ तर अझै छैन भन्छ,” उनले आफ्नो समस्या सुनाए।

“किसानहरूलाई मल बीउको आवश्यकता छ तर समयमा आउँदैन, छरिसकिन्छ त्यसपछि आउँछ।”

मल तथा बीउ वितरण केन्द्रकै छेउमा भेटिएकी रोशनी कुमारी माझीले पनि उस्तै समस्या सुनाइन्।

“समयमा बिउ बिजन चाहिएको हुन्छ। समयमा भएन भने उब्जाउ हुँदैन। त्यसको लागि कति मारामार गरेर पो ल्याउनुपर्छ त,” उनले भनिन्।

भोट माग्न आउने नेताहरू सबैले किसानका समस्या समाधान गरिदिने वाचा गरेको उनले बताइन्।

गोठ गाउँ छेउमै चिया पसल चलाउने कञ्चन गुप्ताले भोट माग्न पसल छेउको चोकमा राखिएका कार्यक्रममा धेरै पार्टीका चुनावी वाचा सुनिन्। सबैले कुरा चाहिँ राम्रा गरेको उनको भनाइ छ।

“सबैले गर्छु भन्नुहुन्छ। जिते न गर्नुहुन्छ। नजिते के गर्नुहुन्छ?”

छोरीले पढेको भए पनि जागिर नपाएको दुखेसो सुनाउँदै उनी भन्छिन्, “मलाई केही चाहिएको छैन। यो बाटो राम्रो भइदेओस् छोराछोरी पढेलेखेको छ जागिर पाओस्।”

सुनसरीको सीमामा पर्ने तीनपैनीका भूपाल श्रेष्ठ चाहिँ आफ्नो क्षेत्रमा तटबन्धको समस्या रहेको बताउँछन्।

“जुनै पार्टीले जिते पनि जुनै पार्टी आए पनि तटबन्ध गर्दिनुस् भन्ने यहाँका जनताको माग छ,” उनले भने।

“बिजुलीको पनि समस्या छ। कहिले बढी भोल्टेज आउने कहिले कम आउने।”