यस पटक 'बदर मत घट्ने' निर्वाचन आयोगको दाबीको आधार के हो

तस्बिर स्रोत, RSS
पछिल्लो स्थानीय तह निर्वाचनमा बदर मतको सङ्ख्या धेरै देखिएपछि आइतवार हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा पनि त्यही अवस्था दोहोरिन सक्ने कतिपयको चिन्ता छ।
नेपालमा भएका पछिल्ला निर्वाचनहरूमा बदर भएका मत सङ्ख्या 'धेरै' भएको विज्ञहरू मान्छन्।
त्यसका लागि कैयौँले ठूलो धनराशि खर्चेर गरिने मतदाता शिक्षा औपचारिकता सीमित हुनु र प्रभावकारी नबन्नु मुख्य कारक रहेको बताउने गरेका छन्।
तर निर्वाचन आयोगका एक आयुक्तले चाहिँ यसपालि स्थानीय तहको जस्तो धेरै मत बदर नहुने दाबी गरे।
उनका भनाइमा आयोगले “यसपालि प्रभावकारी मतदाता शिक्षा कार्यक्रम” सञ्चालन गरेको छ।

तस्बिर स्रोत, rss
बदर मत
निर्वाचन आयोगले प्रकाशित गरेका विवरण अनुसार पाँच वर्षअघि भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ औसतमा पाँच प्रतिशत हाराहारीमा मत बदर भएको थियो।
यसै वर्ष भएको स्थानीय तह निर्वाचनमा औसतमा पन्ध्र प्रतिशत मत बदर हुन पुग्यो।
त्यसमा पनि ग्रामीण क्षेत्रका तुलनामा सहरी क्षेत्रमा धेरै मत बदर भएको पाइएको आयोगले जनाएको थियो।
औसतमा ग्रामीण र सहरी इलाका छुट्ट्याएर विश्लेषण गर्दा न्यूनतम १४ देखि २४ प्रतिशतसम्म मत बदर भएको पाइएको आयोगको विवरणले देखाउँछन्।
स्थानीय तहको निर्वाचन लगत्तै पूर्व निर्वाचन आयुक्तहरूले समेत “मतदाता शिक्षा प्रभावकारी नहुँदा” बदर मत सङ्ख्या बढेको हुनसक्ने बताएका थिए।

तस्बिर स्रोत, rss
यसपालिको तयारी
निर्वाचन आयुक्त सगुन शमशेर जबराले यसपालिको निर्वाचनमा भने स्थानीय तहको जस्तो मत बदर नहुने दाबी गरे।
उनले भने, “प्रतिनिधिसभाको निर्वाचन नै फरक हुँदै छ। पहिले अनुमान गरेर मतपत्र छाप्नुपरेको थियो। त्यसमा कति उम्मेदवार उठेनन्, मतपत्र ठूलो भयो।”
“यसपालि जति जनाको मनोनयन भएको छ, उम्मेदवार र दलहरू छन् त्यतिकै सङ्ख्यामा चुनाव चिह्न रहेका चार वटा मतपत्र हुन्छन्।”
त्यसले गर्दा स्थानीय तहको जस्तो मानिसहरू अलमलिनु पर्ने अवस्था नरहेको उनको भनाइ छ।
त्यसका अतिरिक्त यो पटक स्थानीय तहलाई निर्देशन दिएर स्वास्थ्य स्वयंसेविकाहरू खटाएर मतदाता शिक्षा दिइएकाले पनि बदर मत कम हुने राणाले विश्वास छ।
विभिन्न माध्यमबाट प्रचारप्रसार पनि भइरहेको बताउँदै उनले भने, “स्थानीय तहको भन्दा धेरै कम मत बदर हुन्छ। जानीजानी गरे फरक कुरा हो। नजानेर गरिएको चाहिँ एक प्रतिशत भन्दा कम हुन्छ।”
राणाले मतदाता शिक्षामा कमजोरी भएर मत बदर भएको भन्ने कुरालाई अस्वीकार गरे।
उनले भने, “दुर्गम क्षेत्रमा भन्दा सहरी क्षेत्रमा मत बदर हुनुमा जानाजान गर्ने पनि छन् कि भन्ने लाग्छ।”
उनी कतिपयले स्वस्तिक छाप लगाइसकेपछि हतार हतार मतपत्र पट्याउँदा त्यसको मसी अर्कोपट्टि पनि लाग्ने हुँदा मत बदर हुने बताउँछन्।
त्यस्ता कुरामा ध्यान दिएमा बदर मत घट्ने राणाको भनाइ छ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पनि शुक्रवार साँझ एउटा भिडिओ सन्देश जारी गर्दै बदर नहुने गरी मतदान गर्न मतदातालाई आह्वान गरेका छन्।
उनले भनेका छन्, “मतपत्रमा मतदान अधिकृतको दस्तखत भए/नभएको यकिन गर्नुहोस् र मतदान गर्दा पनि बदर नहुने गरी मतदान गर्नुहोस्।”








