लेबननमा निरन्तर हमला, नस्रल्लाहको 'मृत्युबाट इजरेलको बदला पूरा'

लेबननमा पछिल्लो इजरेली हमलामा कम्तीमा १५ जनाको ज्यान गएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

इजरेली सेनाले गत केही घण्टामा लेबननस्थित हिज्बुल्लाहका विभिन्न ठेगानाहरूमा हमला गरिएको बताएको छ।

इजरेल डिफेन्स फोर्सेज (आईडीएफ)ले टेलिग्राम एपमा एउटा विज्ञप्ति प्रकाशित गर्दै इजरेलतर्फ रकेट प्रहार गर्न प्रयोग गरिने ‘लन्चर'हरू लाई निसाना बनाइएको थियो।

शनिवार हिज्बुल्लाहले आफ्ना नेता हसन नस्रल्लाह इजरेली आक्रमणमा मारिएका पुष्टि गरेको थियो।

बीबीसीका सुरक्षा मामिला फ्रान्क गार्ड्नरका अनुसार नस्ररल्लाहको मृत्यु उक्त लेबननी उग्रवादी समूहविरुद्ध इजरेलले थालेको युद्धमा एउटा ठूलो घटना हो र त्यसका कारण उक्त क्षेत्र अझ फराकिलो द्वन्द्वमा धकेकिन सक्छ।

इरानका सर्वोच्च नेता आयतूल्लाह अलि खामेनेईले नस्रल्लाहको मृत्युको ‘बदला लिइने’ बताएका छन्।

हिज्बुल्लाहलाई आर्थिक र सैन्य समर्थन गर्दै आएको इरानले केही दिनको लागि सार्वजनिक शोकको घोषणा गरेका छन्। लेबनन र इराकले पनि शोकको घोषणा गरेका छन्।

'बदला'

इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले नस्रल्लाहको मृत्युलाई एउटा “ऐतिहासिक मोड” भनेका छन्।

उनले नस्रल्लाहको ज्यान लिएर इजरेलले आफ्नो “बदला पूरा गरेको” पनि बताए।

अमेरिकी राष्ट्रपति जो बाइडनले नस्रल्लाहको मृत्यु पीडितहरूका निम्ति “न्यायको घटना” भनेका छन्।

तर उनले वाशिङ्टनले द्वन्द्वलाई मत्थर पार्ने प्रयास जारी राख्ने बताए।

“अब युद्धविरामको समय भएको छ,” उनले पत्रकारहरूसँग कुरा गर्दै भने।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।