पाकिस्तानका पूर्व प्रधानमन्त्री खानलाई पक्राउ गर्ने प्रयास तत्कालका लागि स्थगित

पाकिस्तान

तस्बिर स्रोत, Reuters

पाकिस्तानका एक वरिष्ठ अधिकारीले विपक्षी नेता इमरान खानलाई पक्राउ गर्ने प्रयास सुरक्षा फौजले स्थगित गरेको जनाएका छन्।

लाहोरमा क्रिकेट प्रतियोगितामा बाधा नपुगोस् भनेर त्यसो गरिएको उनले जनाएका हुन्।

पञ्जाब प्रान्तका सूचनामन्त्री अमीर मीरले बीबीसीसँग प्रदर्शनका कारण ट्राफिकमा बाधा पुर्‍याएको र त्यसले मानिसहरूलाई रङ्गशालासम्म पुग्न रोक्ने देखेर स्थगित गरिएको बताएका छन्।

मार्च १९ मा हुने पाकिस्तानी सुपर लिगको फाइनल खेलसम्म पक्राउ गर्ने काम रोकिने उनले बताएका हुन्।

अदालतले खानलाई पक्राउ गर्न आदेश दिएयता सुरक्षा फौजले उनलाई गिरफ्तार गर्न खोजिरहेको छ।

खानका समर्थक र सुरक्षाफौजबीच उनको निवास वरपर झडपहरू भएका थिए।

यसैबीच लहोरको उच्च अदालतले बिहिवार बिहानसम्म इमरान खानलाई पक्राउ नगर्न प्रहरीलाई आदेश दिएको छ।

पाकिस्तान

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock

झडप

यसअघि खानले आफूलाई पक्राउ गर्ने प्रयासस्वरूप अधिकारीहरू कानुनबाहिर गएर काम गरिरहेको बताएका छन्।

उनले बीबीसीसँग भने, "उनीहरू सबै देशको कानुनको अधीनमा हुनुपर्छ।"

तर उनले पाकिस्तानमा "जङ्गली राज" रहेको आरोप लगाए।

मङ्गलवार अदालतको आदेशपछि पूर्वप्रधानमन्त्रीलाई पक्राउ गर्न पुगेका प्रहरीको खान समर्थकसँग उनको निवासबाहिर मुठभेड भएको थियो।

बुधवारसमेत उनलाई पक्राउ गर्न गरिएको अर्को प्रयासमा थप झडप भएका थिए।

खानले पदमा रहँदा राज्यका उपहारहरू बेचेको आरोपहरू खेपिरहेका छन् जुन मुद्दालाई उनले राजनीतिक मनसायले प्रेरित बताएका छन्।

लाइन
लाइन

पक्राउ प्रयास

पाकिस्तान

तस्बिर स्रोत, Reuters

लाहोरस्थित उनको निवास परिसरबाहिर प्रहरी बलपूर्वक अगाडि बढ्न खोज्दा त्यहाँ तनावपूर्ण अवस्था सिर्जना भएको थियो।

ढुङ्गा र इट्टा फ्याँकेका खान समर्थकहरूलाई तितरबितर पार्न प्रहरीले अश्रुग्याँस प्रहार गरेका थिए।

एक भिडिओ सन्देशमा ७० वर्षीय खानले शनिवार इश्लामावादस्थित अदालतमा उपस्थित हुने सुनिश्चितता गर्ने गरी हस्ताक्षर गर्ने प्रस्ताव गरे।

उनले अदालतमा यसअघि दुई लडाकु हमला भइसकेको भन्दै त्यहाँ सुरक्षा चासोहरू रहेको बताए।

खानले शनिवारसम्मका लागि जमानतमा रहेकाले मङ्गलवार आफूलाई पक्राउ गर्नुको "कुनै कारण नरहेको" दाबी गरे।

सरकारमाथि आरोप

गत एप्रिलमा इमरान खान प्रधानमन्त्री पदबाट हटेका थिए। फाइल तस्विर

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, गत एप्रिलमा इमरान खान प्रधानमन्त्री पदबाट हटेका थिए। फाइल तस्बिर

इमरान खानले विगतका असफल प्रयासपछि सरकार आफूलाई जेलमा राख्न दृढ रहेको समेत बताए।

"म आफ्नो रात हिरासतमा बिताउन गइरहेको कुराका लागि मानसिकरूपमा तयार छु," मङ्गलवार उनले भने।

"कति रात भन्ने थाहा छैन तर म त्यसका लागि तयार छु।"

खानले आफ्नो घरभित्र प्रहार गरिएका भन्दै अश्रुग्याँसका खोकाहरू देखाए।

उनले अधिकारीहरूले आफूलाई पक्राउ गरेर आफ्नो दललाई आउँदो निर्वाचनमा सहभागी हुन रोक्न चाहिरहेको बताए।

तर उनले भने: "म जेलमा भए वा नभए पनि उनीहरूले मेरो दललाई जित्न रोक्न सक्नेछैनन्।"

लाइन
लाइन

सरकार के भन्छ?

एकजना मन्त्रीले सरकारी कदमको चुनावसँग कुनै साइनो नरहेको र प्रहरीले उनको भ्रष्टाचारका मुद्दामा उनलाई पक्राउ गर्ने अदालतको आदेशहरू मानिरहेको बताइन्।

मरियम औरङ्गजेबले महिला र बालबालिका सहितका आफ्ना कार्यकर्तालाई ढालको रूपमा प्रयोग गरेर खानले पक्राउ छल्ने र अस्थिरता उत्पन्न गराउने काम गरेको दाबी गरिन्।

खानका समर्थकहरूले देशका अन्य सहरहरूमा समेत प्रदर्शन गरिरहेका छन्।

गत एप्रिलमा पदबाट हटेका खानले आफूपछि प्रधानमन्त्री बनेका शहबाज शरिफमाथि चर्को दबाव सिर्जना गरिरहेका छन्।